नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारको गठनले मात्र देशको राजनीतिक गतिरोध अन्त्य हुने ठहर गरेको छ । पार्टीले जेनजी बिद्रोह पछि उत्पन्न राजनीतिक अवस्थाको निकास सुशिला कार्की नेतृत्वको सरकारले आयोजना गरेको संसदीय निर्वाचनबाट हुनै नसक्ने बताएको छ । पार्टीको सातौ पुर्ण बैठक २०८२ पौष १९ गते बर्दघाट–१४ चौपत्तामा जिल्ला सेक्रेटरी रवि पाण्डेयको अध्यक्षतामा भएको पार्टीले जानकारी गराएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो पार्टीको आम कार्यक्रम नयाँ जनवाद र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो भन्दै आगामी फागुन २१ गते गरिने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले लिने कार्यनीतिले रणनीतिलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास लिएको छ । पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबीच राजनैतिक सम्मेलनद्वारा संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाका अनुसार देशमा संसदीय ब्यवस्था र उक्त ब्यवस्थालाई रक्षा गर्ने संसदीय पार्टीहरु दुबै असफल भई जनताको आधारभूत समस्याप्रति उदासीन बनेको, भ्रष्टाचार, बेरोजगारी, सीमा समस्या र राष्ट्रिय सार्वभौमिकता प्रति गम्भीर चुनौतीहरू बढ्दो अवस्थामा रहेको पार्टीको निष्कर्ष छ । यस्तो परिस्थितिमा चलिरहेको चुनावी प्रक्रियाको कुनै औचित्य नभएकोले सशक्त बहिष्कार गर्ने पार्टीले जनाएको छ ।
पार्टीले संविधान, संसद र सम्पूर्ण राज्य संयन्त्रले सामाजिक न्याय, समानता र वैज्ञानिक समाजवादतर्फको मार्ग अवरुद्ध गरेको भन्दै चुनावलाई “नयाँ दलाललाई स्थापित गर्ने बहाना” को रुपमा चित्रण गरेको छ । पार्टीका युवा नेता समेत रहेका जिल्ला सेक्रेटरी पाण्डेयले भने “चुनावले जनताका वास्तविक समस्याको समाधान गर्दैन, यसले केवल असफल नेतृत्वलाई पुनःस्थापित गर्छ । हामी नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी कार्यक्रमसहित अघि बढ्छौ ।”
बैठकले निर्वाचन बहिष्कार र भष्ट्राचार बिरोधी अभियानलाई जोडेर कार्यक्रमहरु निर्माण गरेको पाण्डेयले जानकारी गराए । जस अनुसार पौष अन्तिम साता प्रचारात्मक कार्यक्रम देखि चुनाव अगाडी सम्ममा क्रियात्मक कार्यक्रम समाबेश गरेको उनले बताए । पार्टीको बैठकले जिल्ला समिति सदस्यमा लालु गिरीलाई थप गर्नुका साथै केही थपघट, संगठन विस्तार ,शुद्धीकरण र सुदृढीकरणका कामको रुपमा सदस्यता अध्यावधिक, पालिका समितिका बैठक तथा प्रशिक्षण कार्यक्रम , जवस,मोर्चा र संयुक्त मोर्चाको बैठक तथा प्रशिक्षण निर्वाचन बहिष्कारका लागि सहकार्य र भष्ट्राचार बिरोधी कार्यक्रमहरुका योजना निर्माण गरेको पार्टीले जनाएको छ ।
साथै बैठकले बर्दघाट–१२ भटौलियाको कजरिया टायल्समा उद्योग ब्यवस्थापनको लापरवाही र कमजोरीका कारण दुई जना मजदुरले ज्यान गुमाउनु परेको प्रति खेद ब्यक्त गर्दै श्रमिकको सुरक्षामा ध्यान दिन र मृतकका परिवारलाई न्याय दिन सरोकारवाला सबैसंग माग गर्ने निर्णय गरेको पार्टीले जनाएको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारको घोषणा गरेका ६ दल, बहिष्कारको पक्षमा रहेका जेनजी अगुवा, अन्य ब्यक्ति तथा समुह र नो भोट अभियानबीच समेत सहकार्य गर्ने योजना बनाएको जनाइएको छ ।






























