काठमाडौं, १४ पुस । जेनजीहरुको एउटा समूहले निर्वाचन कार्यालयमै प्रवेश गरेर निर्वाचन बहिस्कारको नारा लगाएको छ । मिराज ढुंगाना नेतृत्वको उक्त समूहले निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेको छ र प्रधानमन्त्री सुशिला कार्कीको राजिनामा माग गरेको छ । उक्त समूहले पहिले निकास अनि निर्वाचनको माग गरेको छ ।
निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूचीको बुझाउने प्रक्रिया चलिरहँदा जेन–जीहरुले निर्वाचन बहिस्कारको नारा लगाएका हुन् । उनीहरुले निर्वाचन प्रक्रिया बन्द गर्न र प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
‘निर्वाचन धोका हो, नालायक सरकार मुर्दावाद, निर्वाचन प्रक्रिया बन्द गर, भ्रष्टलाई कारबाही गर, सुशीला कार्की राजीनामा दे, प्रहरी दमन मुर्दावाद, हत्यारालाई कारबाही गर, जेन–जीको माग पूरा गर’ लगायतका नाराबाजी गरेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हामी निर्वाचन मान्दैनौं । जेन–जीले निर्वाचनलाई बहिस्कार गर्छ । जेन–जीका माग पूरा नगरेर, हत्याराहरु, भ्रष्टलाई कारबाही नगरेर चुनाव मानिँदैन । हामी चुनाव हुन दिँदैनौं,’– प्रदर्शनमा सहभागी एक जेन–जीले भने ।





























