काठमाडौं, ८ मंसिर । विश्व महिला सम्मेलनअन्तर्गतको सैद्धान्तिक सेमिनार काठमाडौंमा हुने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंको कपनमा कार्यक्रम गर्न लागिएको जानकारी गराइएको हो ।
महिला मुक्तिको कठोर शत्रु नाफाको अतृप्त लोभ, दोहोरो शोषण, जातिवाद, लैङ्गिक विभेद, उत्तरआधुनिकतावाद, अवसरवाद र कम्युनिस्ट विरोधी भावना रहेको उल्लेख छ । यसका लागि महिला आन्दोलनका सैद्धान्तिक आधारहरूको व्यापक छलफल र विकास अपरिहार्य रहेको बताइएको छ ।

‘अब साम्राज्यवादविरुद्ध र महिलाको वास्तविक मुक्तिको सङ्घर्षमा आफ्नो भूमिका गहिरोसँग बुझ्ने र निर्वाह गर्ने समय आएको छ । यो सैद्धान्तिक सेमिनारले त्यसका लागि हामीलाई आवश्यक आधारहरू प्रदान गर्नेछ । त्यसका साथै यसले महिलालाई शोषण र उत्पीडनबाट मुक्त गर्ने हाम्रो सङ्घर्षका सैद्धान्तिक आधार र भविष्यका दृष्टिकोणहरूबारे छलफल गर्न अझ महत्त्वपूर्ण सहयोग गर्नेछ,’– विज्ञप्तिमा भनिएको छ ।
विश्वका चार महादेशका २०भन्दा बढी देशका महिलाहरू काठमाडौंमा आयोजित विश्व महिला सम्मेलनको सैद्धान्तिक सेमिनारमा सहभागी हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा विश्वभरका देशहरुबाट उत्पीडित महिलाहरुको उपस्थिति रहने जानकारी दिइयो । सेमिनारमा साम्राज्यवाद, पर्यावरणीय संकट र आणविक प्रतिष्पर्धाको विषयमा गहन छलफल हुने जानकारी गराइएको छ । गोष्ठीले संसारभरका उत्पीडित महिलाहरुको अधिकार स्थापित गर्न र साम्राज्यवाद विरोधी धारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा संसारभरका महिलाहरु जुन देशका भए पनि महिलाहरुको समस्या साझा समस्याको रुपमा रहेको, महिलाहरुलाई पुँजीवाद तथा साम्राज्यवादले एक वस्तुसरह बनाएको धारणा राखिएको थियो । पत्रकार सम्मेलनमा विभिन्न देशका महिला कोओर्डिनेटरहरु ,संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो । गोष्ठी सफल पार्न सहयोग गर्न आयोजकले सबैसँग अनुरोध गरेको छ ।
































