आफ्नो सच्चा स्वत्व र स्वाभिमानलाई एकातिर पन्छाइदेऊ, ठूलाबडासामु घूँडा टेकिदेऊ, आफ्नो आत्मालाई बेचिदेऊ र बदलामा पैसा, पद र ऐस आराम प्राप्त गर– आफूलाई कम्युनिस्ट भन्ने कसैकसैले यसलाई आफ्नो उद्देश्य र मूल मन्त्र बनाएको पाइन्छ । सिद्धान्त र जनमुक्ति लक्ष्यप्रति निष्ठा तथा समर्पण, सत्यको पक्षमा लाग्नेदृढताप्रति प्रतिक्रियावादको सामु नलत्रने भावना, क्रान्तिको हितलाई सर्बोपरी मान्नु, कम्युनिस्ट नैतिकताको परिचलान– सच्चा कम्युनिस्टमा हुनुपर्ने उपर्युक्तगुणहरु तर उनीहरुका लागि यसले कुनै अर्थ र महत्व राख्दैन । खासगरेर मौकाको फाइदा उठाउनु र व्यक्तिगत लाभ हासिल गर्न आन्दोलनमा पसेकाहरुमा आन्दोलनका “सुखका साथीहरु”मा माथि उल्लेखित गुणहरुको एकदमै अभाव रहेको पाइन्छ ।
अहिले कम्युनिस्ट आन्दोलनमा एकथरि यस्ता छन्, जो कुनै पद, प्रतिष्ठा, वा आर्थिकलाभ प्राप्त गर्ने आशा र उद्देश्यले होइन, बरु पार्टी, क्रान्ति र कम्युनिस्ट आदर्शप्रति निष्ठावान रहेर र कम्युनिस्ट हैसियतले देश र जनताको हितमा केही गरुँ भन्ने भावनाबाट प्रेरित रहेर आफ्नो योग्यता र क्षमता अनुसार कार्यरत रहेका छन् । लामो समयसम्म, निरन्तर रुपले आफ्नो सम्पूर्ण जीवन जनमुक्ति, मुलुकको स्वाधीनता र साम्यवादको उदात्त आदर्शको पक्षमा बिताएका कमरेडहरु निश्चय नै सम्मानयोग्य र दृष्टान्तयोग्य छन् । त्यस्ता कमरेडहरुको त्यागमय र निस्वार्थ काम र संघर्षले गर्दा नै आम जनतामा ‘कम्युनिस्ट नाम’ प्रिय बन्न र मुलुकमा कम्युनिस्टप्रति आम आकर्षण रहन गएको हो । त्यस्ता कमरेडहरु, त्यस्ता त्यागी, विनम्र, लगनशील तथा संघर्षशील कार्यकर्ताहरु वास्तवमा नेपाली कम्युनिस्ट आन्दोलनका बहुमूल्य सम्पत्ति हुन् । यसको ठीक विपरीत अर्काे थरि यस्ता छन्, जो पद र प्रतिष्ठाका लागि, आर्थिक लाभ प्राप्तिको लागि, व्यक्तिगत वा पारिवारिक फाइदाका लागि कम्युनिस्टको नाउँबाट क्रियाशील रहन्छन्, तर उनीहरुको क्रियाशीलता श्रमजीवी जनता, क्रान्ति र मुलुकको हितबाट प्रेरित रहेको नभई संकीर्ण निहीत स्वार्थबाट प्रेरित रहेको हुन्छ । तीमध्ये कोही बहादुर र लड्न तत्पर छन्, तर देशी तथा विदेशी शत्रुहरुको विरुद्ध होइन, मुलुक र जनताको लागि होइन, बरु “पेटको लागि”, पदको लागि, व्यक्तिगत हितका लागि जोडतोडले संघर्ष गर्छन् ।
सत्ता प्राप्त गरेर वा सत्तानिकट रहेर पैसा कमाउ र पैसाको मद्दतबाट सत्ता प्राप्त गर– यो नै तिनीहरुको मार्गनिर्देशक सिद्धान्त रहेको हुन्छ । यस खालका केही तत्वहरु पहिले पनि रहेका थिए, हाल यता आएर तिनको संख्यामा बृद्धि भएको पाइन्छ ।
भ्रष्ट उद्देश्यका लागि भ्रष्ट उपायको प्रयोग गर्ने पुँजीवादी प्रवृत्तिले कतिपय कम्युनिस्ट नेता भनाउँदाहरुलाई पनि गाँजेको छ । कम्युनिस्ट राजनीतिमा सहभागी बनेर आफूलाई राजनीतिक अधपतनको खाल्डोमा पारेर नव धनाढ्य बनेका केही दृष्टान्तहरु हाम्रा सामु छन् । राजनीतिमा लागेर धनी बन्न सकेकोमा ठूलो सफलता ठान्नेहरुको दृष्टिमा, त्यसो नगर्ने वा गर्न नचाहनेहरुको राजनीतिक जीवन स्वभाविक रुपमा एउटा असफलता देखिन जान्छ । कम्युनिस्ट आन्दोलनका पंक्तिहरुमा एउटा कस्तो स्थिति देखिएको छ भने सिद्धान्तनिष्ठ, इमान्दार, निस्वार्थी, तथा समर्पित कमरेडहरुलाई अलगावको स्थितिमा पार्न खोजिन्छ र तिनलाई हरतरहबाट ओझेलमा पार्न प्रयास गरिन्छ, र त्यसभित्र अवसरवादी, लोकाचारी, चापलुसी, षड्यन्त्रकारी, आदिको चकचकी रहेको पाइन्छ ।
राजनीतिलाई व्यक्तिगत स्वार्थ पूर्तिको साधन बनाउनेहरु खुब प्रचारमा रहने गरेका हुन्छन् । त्यस स्थितिमा, राम्रा, इमान्दार र समर्पित तत्वहरु पाखामा पर्नु स्वाभाविक हुनजान्छ । कम्युनिस्ट आन्दोलनमाथि ठूलो आपत्ति आइपरेको र दुःखको बादल छाएको बेलामा त्यसको अस्मिता र गौरवलाई जोगाउन जोखिम उठाउने र संघर्ष र त्याग गर्ने दुःखका साथीहरुलाई पछि ओझेलमा पारिने गरिएको छ । त्यस्ता कमरेडहरुलाई जालझेल र षड्यन्त्रद्वारा पन्छाउन प्रयास गरिन्छ । जसरी विद्यमान सामाजिक व्यवस्था अन्तर्गत दुराचारी चलिरहेको छ र समाजमा त्यस्ताहरुकै आदर सम्मान गर्ने गरिएको छ, त्यसरी नै, कम्युनिस्ट आन्दोलनभित्र त्यसको प्रतिबिम्ब र प्रभावस्वरुप, उपर्युक्त स्थितिको पकड रहेको छ । हाल त्यसभित्र पनि, सिद्धान्तनिष्ठताको साटो सिद्धान्तहीनता तथा अवसरवादिताको, इमान्दारीको साटो बेइमानीको, खरोपन तथा खुल्लापनको साटो दोधारेपन र रहस्यात्मकताको, निष्कपटताको साटो पाखण्डीपनको, गुणको साटो चापलुसीको, सत्यको साटो पाखण्डीपनको, गुणको साटो चापलुसीको, सत्यको सोटो असत्य तथा अर्ध–सत्यहरुको चकचकी रहेको पाइन्छ, जुन कुरा सच्चा कम्युनिस्ट संगठनको लागि एउटा विजातीय चीज हो ।
कम्युनिस्ट आन्दोलनको उपर्युक्त वातावरणमा, सिद्धान्तनिष्ठ, समर्पित तथा इमान्दार कमरेडहरुले त्यसभित्रका उपर्युक्त खराबीहरुको सामु आत्मसमर्पण नगरिकन त्यसको विरुद्ध दृढताका साथ संघर्ष गर्नु आवश्यक छ ।
(‘मेरो जीवनको सेरोफेरो’ पुस्तकबाट)































