इच्छुकका कविता जनसमर र मुक्तिका कलात्मक अस्त्र

इच्छुकका कविता जनसमर र मुक्तिका कलात्मक अस्त्र

समालाेचना

सर्वहारावादी, क्रान्तिकारी कवि कृष्ण सेन ‘इच्छुका आफ्ना तीनवटा काब्यकृति शोकाञ्जली, इतिहासको यस घडीमा तथा बन्दी र चन्द्रागिरिमा मूर्त भएका छन् । इच्छुक वर्गसङ्घर्ष र वर्गयुद्धप्रति माक्र्सवादी पक्षधर र जनगणन्त्रवादी तीब्रचेतना भएका कवि हुन् । (चैतन्य ः २०६४, १४८) उनी विश्व कम्युनिस्ट आन्दोलनमा एक सच्चा कम्युनिस्ट क्रान्तिको कविका रूपमा स्थापित भएका छन् र क्रान्तिकारी साहित्य सिर्जनामा सर्वाधिक श्रम र सिप खर्चेका तथा वर्गसङ्घर्षमा दृढ रहेका हुनाले क्रान्तिकारीहरूका निम्ति प्रेरणास्रोतसमेत बनेका छन् (प्रचण्ड २०६३, १६८) यसैले नेपाली काव्यकविताको परम्परा र इतिहासमा इच्छुकको बेग्लै पहिचान रहेको छ । अग्रगामी सङ्घर्षमा होमिएका र शासकवर्गको यन्त्रणा, दमन र शासनलाई भोगेका इच्छुकको रचना–संसार वर्गसङ्घर्ष र वर्गसङ्घर्षजन्य यथार्थ हो । सहिदकवि इच्छुक क्रान्तिप्रति प्रतिबद्ध तथा जीवन र साम्यवादी सुन्दर भविष्यप्रति आस्थाशील कवि हुनु (पाण्डेय २०६४ ः ४२) का साथै नेपाली जीवनमा विकसित र समृद्ध भएको वर्गसङ्घर्ष र त्यसको तीब्रतालाई आत्मीकृत गरी कवितालाई मुक्ति सङ्घर्षसँग गाँस्ने कविका रूपमा अग्रगण्य रहेका छन् ।
इच्छुकका कविता जनयुद्ध, वर्गसङ्घर्ष तथा उच्च लक्ष्यका बीच रहेको एकात्मकताको विशिष्ट अभिव्यक्ति हुन् । उनका कविता आफ्ना समयका सशक्त लयात्मक दस्तावेज हुन् र तिनले पाठकलाई आफूतिर आकर्षित गर्दछन् । मुक्त जीवनको सतत कामना र प्राप्तिका निम्ति गरिने महत्तम सङ्घर्षसँग गाँसिई सङ्घर्षकै विशिष्ट रूप, क्रिया र त्यसलाई बुझाउने शब्द र भाव सङ्केतका माध्यमबाट सर्वहारावर्गीय चेतना र तज्जन्य सङ्घर्षलाई अभिव्यक्ति दिनु इच्छुकका रचनाको ध्येय हो । नेपाली समाजमा भएका कुरूप तŒवसँगको महान्् सङ्घर्षको यथार्थ र त्यसप्रतिको सम्बन्धमा कवि सङ्घर्षरत रहेका छन् । शोकलाई विद्रोह र युद्धमा परिवर्तित गर्ने अभियान यसमा व्यक्त भएको छ र शोकभावलाई वर्गसंवेदनामा रूपान्तरित गरिएको छ । (भण्डारी २०६०, ४६) इच्छुक असीम करुणाका भावधारा प्रवाहित गर्दागर्दै एक्कासी भावान्तर गरी विद्रोह, क्रान्तिकारी बनी उभिएका पाइन्छन् । काव्यका निम्न पङ्क्तिमा उक्त तथ्य यसरूपमा आएको छ ।
मित्र हो, यति सम्म
पराई आँसुले पग्लेर तप्केको बलेनीजस्तै
क्षणभर प्रवल संवेदनाले चरक्क बलेनीजस्तै
क्षणभर प्रवल संवेदनाले चरक्क छाती चक्यो
र म रोएँ
हरपल भाभुकताले मलाई थिचिरहनेछैन
यो रक्तिम युद्ध हो वर्गसङ्कटपूर्ण घडीमा
यो कठोर वास्तविकतालाई मैले भुल्नेछैन । (इच्छुकका रचनावली ः २०६४, ७१)
सहिदप्रतिको तीब्र आस्था र सम्मानभाव काव्यमा प्रकट भएको छ । महान््, उदात्त र भव्य जीवनप्रतिको नमेटिने राग साँच्चिकै सुन्दर रूपमा व्यक्त गरिएको छ ः
तिम्रै पथका अमीट पदचापहरू पछ््रयाउँदै
जीवनको अनन्त गहिराइमा
जतिसुकै अथाह डुबौँ
डुब्न खोजौँ हामी
तिम्रो त्यो अटल गहिराइलाई
छुन कहिल्यै सक्नेछैनौँ
जीवनको उच्च चढाइहरूमा
जतिसुकै माथि चढौँ
चढ्न खोजौँ हामी
तिम्रो त्यो अलङ्घ्य उचाइमा
पुग्न कैल्यै सक्नेछैनौँ
तिमीले जीवनलाई जीवनको विराटतामा बुझेछौ
तिमीले जीवनलाई जीवनको सम्पूर्णतामा बुझेछौ
अब जीवनको अर्थ खोतलेर
जतिसुकै जीवन बुझौँ
बुझ्न खोजौँ हामी
तिम्रो त्यो अक्षय महान्तालाई
भेट्न सक्नेछैनौँ । (इच्छक रचनावली ः २०६४, ७५–७६)
इच्छुकका आरम्भिक फुटकर कविता र शोककाव्यमा समेत वर्गबोधी प्रखरचेत सबल रूपमा आएको छ । नेपाली जीवनको अन्तरविरोध र त्यसबीच हुने प्रबल सङ्घर्षसँग कवि स्वयम् गाँसिएका छन् । जीवनलाई क्षुद्र्र हीन र कुरूप बनाउने कारक भनेका सामन्तवादी पुँजीवादी तŒवहरू हुन् र तिनले जीवनलाई विषम, कष्टकर र दुःखद् बनाएका छन् भन्ने बोध कविमा छ । वर्गशत्रुलाई कविले जीवनका साक्ष्यबाट चिनेको छ र त्यससँग जुध्नु अनिवार्य छ भन्ने कुराको हेक्का राखेको छ । जीवनका अनुभवलाई सुन्दर, अर्थयुक्त र कोमल बनाई आफ्ना काव्यकवितामा संयोजन गर्न र कलात्मक रूपमा पस्कन इच्छुक प्रभावी रहेका छन् । विचारलाई कवितामा उन्ने काम सहज छैन । विचारको महत्ता स्थापित गर्न, कवितामा विचारको प्रवाहलाई बिच्किन नदिई भर्न अनि यथार्थसँग स्वाभाविक रूपमा गाँस्न तथा पाठकका मनमा रहेको भावसँग जोड्न कविको अन्तः र बाह्य सङ्घर्षले भूमिका निर्वाह गरेको छ । यस सन्दर्भमा इच्छुक कविताको सङ्घर्षमा जागरुक भई उभिन्छन् र आफ्नो क्रान्तिकारी कवि व्यक्तित्वलाई उभ्याउँछन् । जीवनका त्रूmर नियमहरूमा बाँधिई र त्यसबाट छुट्टिने अभियानमा संलग्न भई कवि पाठकसामु उपस्थित हुन्छन् । कवि योद्धा हो र उसले सङ्घर्ष गरिरहेको छ । सामन्तवाद, साम्राज्यवाद र पुँजीवादका भित्ताहरूलाई भत्काउने वा कायर, हुतिहारा जिन्दगी बाच्ने विकल्पलाई चिन्दै र मानवद्वेषी सत्ताका विरुद्धमा अठोट, आँट र साहसलाई स्वीकार गर्दै अगाडि बढेका छन्, यहाँ कवि त्रूmर व्यवस्थाका प्रतिरोधमा ब्यँुझेका मानिसहरूसँग मानसिक र भौतिक रूपमा एकाकार भई विद्रोही चेतनाको अभिव्यक्ति दिनमा होस् वा तत्कालीन राज्यसत्ताद्वारा गरिएका दमन, आतङ्क, यन्त्रणाका विरुद्धमा होस्, कविले निश्चिन्त भएर क्रान्तिकारी उद्बोधन गरेका छन् । उत्पीडन, शोषण, अत्याचार, अन्यायका विरुद्धमा मुक्तिका निम्ति, क्रान्तिका निम्ति भएका सङ्घर्षमा उत्पीडितहरूले भोगेका अनुभव र अनुभूतिलाई सजीव रूपमा चित्रित गर्ने विशेष सामथ्र्य भएका कवि हुन् इच्छुक । थवाङलाई वर्गसङ्घर्षको केन्द्र बनाई लेखिएका यी पङ्क्तिमा सर्वहारावर्गीय अडिगता, साहसिकता र गौरवतालाई प्रस्तुत गरिएको छ ः
हुन त त्यस्ता गाउँ लेकभरि अनि मधेसभरि थुप्रै छन्
हुन त त्यस्ता गाउँ सबै भेगभरि अनि देसभरि थुप्रै छन्
तर उच्च धवलागिरि सुन्दर जलजलाको बीचमा अवस्थित
नझुक्ने हिमालजस्तै उच्चता बोकेको
अडिग पहाडजस्तै दृढता बोकेको
थवाङ, जो आज पनि उत्तरतिर टल्कने निर्मल स्फटिक हिमालजस्तै
मीठो मुस्कान मुस्काइरहेछ
थवाङ, जो आज पनि
त्यही हिमाल पल्तिर ऐतिहासिक चिङकाङसान पहाडजस्तै
गौरवको हाँसो हाँसिरहेछ
त्यो प्यारो प्यारो गाउँको नाउँ थवाङ हो । (इतिहासको यस घडीमा, ८)
क्रान्ति र क्रान्तिकारीप्रतिको अदम्य आस्थालाई युद्धको क्रमसँग र जागरणको सन्दर्भसँग गाँसेर मुक्तिको निश्चिततालाई देखाउने यी पङ्क्तिमा आएको तिमीले क्रान्तिका नायकलाई सम्बोधन गरेको छ र क्रान्तिको निरन्तरतालाई देखाएको छ ः
तिमी सिकाउँछौ र हामी सिक्छौँ
हाम्रो सिक्नु र सिकाउनुको क्रम यसरी अरू अगाडि बढ्दै जानेछ
तिमी बिउँझाउँछौँ र हामी बिउँझिन्छौँ
हाम्रो बिउँझनु र बिउँझाउनुको क्रम यसरी अझ अगाडि बढ्दै जानेछ
तिमी तयारी गर्छौ र हामी तैयार हुन्छौँ
हाम्रो सङ्घर्ष र मुक्तिका दिन यसरी अझ नजिक हुँदै जानेछ
कामरेड हामी आश्वस्त छौँ
कामरेड हामी विश्वस्त छौँ
हाम्रो क्रान्ति र विजयको दिन यसरी अझ सुनिश्चित बन्दै जानेछ । (प्रिय कामरेड, इतिहासको यस घडीमा, ८)
यसरी क्रान्तिप्रति आश्वस्त र विश्वस्त हुँदै नवीन युगको निर्माणको अन्तिम सङ्घर्षमा होमिने वीर योद्धाप्रतिका सहज आत्मीयताको भाव व्यक्त गरिएको छ । मानिसको जिन्दगी बाँच्नका निम्ति युद्ध अनिवार्य रहेको छ र त्यस युद्धमा कवि आफंँ पनि सामेल भएको छ । जनयुद्ध अघि र पछि लेखिएका इच्छुकका काव्यकवितामा शासकवर्गद्वारा गरिएका अत्याचारका विरुद्ध भएका सङ्घर्षलाई मृत्युञ्जयी शब्द र भावका माध्यमबाट अभिव्यञ्जन गरिएको छ । इच्छुकका रचनाको संसार शताब्दीयौँदेखि उत्पीडन गरी मानिसहरूलाई निरीह, दास बनाइएको संसार हो त्यस भूमिमा उठ्दै र ब्युँझदै गएको विद्र्रोह नै कविताको केन्द्रमा रहेको छ । सहिदी चेतनाबाट तातिएको र रापिएको अवस्थालाई कविताका निम्न हरफमा यस रूपमा प्रकट गरिएको छ ः
उनको मर्मभेदी शब्द र अंगालोको तातो स्पर्शले
हाम्रो मन तातिँदै गयो हामी तातिँदै गयौँ
मान्छेको हुल तातिँदै गयो, जुलुस तातिँदै गयो
गाउँ–गाउँ घर–घर र जम्मै देश नै
यसकारण तातिदै गएका छन् कि आज पनि
उनका तातो तातो रापले
बादल तातिंदै आइरहेछ
सगर तातिँदै गइरहेछ । (यो घाम पनि रापिएर तातो तातो छ, आज, इतिहासको यस घडीमा ः ११)
यहाँ प्रतिरोधी भावको व्याप्तिले मन, हुल, जुलुस, गाउँ, देश, बादल र सगरलाई स्पर्श गरेको कुरा कलात्मक रूपमा आएको छ । तत्कालीन सङ्घर्ष र सहिदीचेतबाट जीवनको अन्तः र बाह्य अवस्थामा आएको परिवर्तनको स्वर नै कवि गाउन तयार भएका छन् । उत्पीडित मानिसहरूलाई वर्गीय युद्धमा लाग्न प्रश्नात्मक शैलीमा सम्बोधन गरिएका हरफ यस किसिमका छन् ः
यतिखेर भयातुर बैरीले आफ्ना लुला हातहरूले
तिम्रा दरबिला पाखुरीहरू सापटी लिएर
हाम्रो घाँटी थिच्न चाहिरहेछ
यतिखेर रीसले चुर बैरीले आफ्ना डुँडा खुट्टाहरूले
तिम्रा बलिया खुट्टाहरूको बैशाखी टेकेर
हाम्रो शिर कुल्चिन खोजिरहेछ
तिमी जनताको ढाल बन या बैरीको अचानो बन
त्यो तिम्रो खुसी हो
तिमी मरे पनि जनताको प्रिय सहिद बन
या बाँचे पनि जनताको प्रिय सहिद बन
या बाँचे पनि बैरीलाई बोको बन
हो, तिम्रो खुसी हो । (जनताको ढाल या बैरीको अचानो, इतिहासको यस घडीमा, २१)
सामन्तवादी शासक अर्थात् राजतन्त्र मृत्योन्मुख छ र ऊ शक्तिहीन बन्दै गइरहेको छ र उसले जनताको सङ्घर्षलाई कुल्चन, दबाउन, जनताको हितलाई किचिमिची पार्न जनतालाई नै उपयोग गर्नसक्छ भन्दै कविले यहाँ वर्गबैरीविरुद्ध सङ्गठित हुन विकल्प तेस्र्याएर आह्वान गरेका छन् । इच्छुक आफ्ना कवितामा सामन्तवादी राजसत्ताद्वारा चलाइएको हैकम, त्रूmरता, दमन, भ्रम र भयको संसारलाई च्यातचुत पार्नका लागि विद्रोह र युद्धका निम्ति अगाडि बढ्नुपर्ने तथ्यलाई बोध गरेका छन् । उक्त कुरा क्रान्तिकारी कविका यी पङ्त्तिमा यसरी व्यक्त भएको छ ः
हाम्रो पछौटे जीवनमा एकलौटी हैकम चलाउँदै
यो सहर असमान विकासको चुलीमा उक्लेको छ
यसकै वैभव र विलासको सेपमुनि चेपिएर
हाम्रो जीवन नारकीय दःुखको रछ्यानमा मिल्केको छ
यसकै अट्टहासको प्रतिध्वनिमा हाम्रा आवाजहरू थुनिएका छन्
यसकै त्रूmरताको बलिवेदीमा हाम्रा गलाहरू रेटिएका छन्
यसकै स्तुति र अभिषेकमा हाम्रा गाथाहरू मेटिएका छन्
यही चेतनाबोधको आहत पीडाले रन्थनिएर
यो, काठमाडौं मेरो देशको राजधानी
आज मोफसलहरू पनि ब्युँझिदै गएका छन् । (काठमाडांै, मेरो देशको राजधानी, इतिहासको यस घडीमा, ३०)
उत्पीडित समाजमा पददलित जिन्दगी जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ (इच्छुक, २०५६ ः ३५) भन्ने कवि इच्छुक युद्धको कठोरता, भयावहता र आवेगमयतालाई प्रिय ठान्छन् र सङ्घर्षबाट भाग्ने हुतिहारा कायरहरूप्रति व्यङ्ग्य गर्छन् ः
तिमी कतै हराइरहेछौ कि त भनी खोजेँ
नयाँ दौरा र सुरुवाल लगाएर
फाटेका पुराना लुगाहरू मिल्काउँदै
स्वस्तिवाचन गर्नेहरूको लाममा
केवल लाचार छायाझैँ भएर
दर्सनभेटका लागि
तिमी कतै उभिरहेछौ कि त भनी खोजेँ
महान्् सहिदका प्रिय हातले ढालेका
काला सालिकहरूलाई सम्मानले उठाउँदै
बीच सडकमा पूmलमाला चढाएर
तिमी कतै सलामी टत्र्mयाइरहेछौ कि त भनी खोजेँ
तर कतै पनि देखिनँ । (बन्दी सुगा र उन्मुक्तिको चाहना, इतिहासको यस घडीमा, ३९)
वर्गीय प्रतिबद्धता, वर्गीय विचार र वर्गजीवनप्रतिको निष्ठाले कविलाई सुरो बनाएको छ । शासकवर्गले आतङ्कवादी, उग्रवादी र युद्ध–अपराधी घोषित गरे पनि क्रान्ति, मुक्ति, र स्वतन्त्रता र समानताका निम्ति गरिने न्यायपूर्ण युद्धको निरन्तरताको पक्षपाती रहेको देखाइएको छ । आफ्ना वर्गको पक्षमा उभिनु जरुरी छ भन्ने वर्गबोध र युद्धबोध इच्छुकले गरेका छन् ः
यतिखेर मेरा तिनै निहत्था हातहरू नै
तिम्रा बर्बरताका विरुद्ध लड्ने बन्दुकहरू बनिरहेछन्
तिमी मलाई उग्रवादी सावित गर !
यतिखेर मेरा पीडाका निरीह आवाजहरू नै
तिम्रो दृष्टताका विरुद्ध पड्कने बमहरू बनिरहेछन्
तिमी मलाई आतङ्कवादी प्रचारित गर !
म त युगयुगदेखि निरन्तर जारी
केवल तिम्रा बन्दुक र बर्बर युद्धका विरुद्ध
यतिखेर उठाउन विवश छु बन्दुक
तिमी मलाई युद्ध अपराधी घोषित गर !
म त मुक्ति र स्वतन्त्रता चाहन्छु
म त क्रान्ति र समानता चाहन्छु
म त केवल न्यायपूर्ण युद्ध चाहन्छु । (तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध, इतिहासको यस घडीमा, ५७)
इच्छुक आफ्ना कवितामा औधी सहज बोली, लय यस घडीमा, ११ भाषामा सर्वहारावर्गको चिन्ता गर्छन र युद्धयात्राको महाभियानमा लागेका महान्् पात्रका मुखबाट सगर्व सङ्घर्षमा लाग्न आह्वान गर्छन् ः
यतिबेला देशै ज्यानमाराहरूको बिर्ता भएको देखेर
जिन्दगी नै सहिदहरूका नाममा बकसपत्र लेखेर हिँडिरहेकी
म त क्रुद्ध लालभैरवी हुँ
म बिर्खु सुनार्र्नी
नयाँ जनसमरकी नयाँ जनगाथा
मेरो थप परिचय भन्नु कोही छैन । (पुर्खे सुनारकी आमा, इतिहासको यस घडीमा, ६०)
स्पार्टाकसका वंशजका रूपमा निरन्तर सङ्घर्षमा हाेिमएका बिर्खे सुनार्नी हुन्, चाहे लालबहादुर बुढा हुन्, चाहे सेतु जैसीका घरमा हत्या गरिएका युवाहरू हुन्, चाहे अनेकोटमा घरभित्रै जलाइएका महान्् संस्कृतिक र कर्मीहरू हुन् ती सबै सबै वर्गयुद्धका अमीट साक्ष्य हुन् र तिनीहरूसँगै अपराजेय निष्ठामा प्रतिबद्ध कवि पात्र सबैतिर उपस्थित भएका छन् ।
इच्छुक यसरी कुरूपता र सुरूपता, दृष्टता र भद्रता, दासता र स्वाधीनताको लडाइँमा उभिएका छन्. र जनयुद्धको महान्् यात्रामा महान्् गाथा लेख्ने प्रतिबद्धता जनाएका छन् । कवितामा इच्छुकले जनसमरका अमरयोद्धाप्रति नतमस्तक हुँदै योद्धाहरूको महान्् र उच्च उत्सर्गको गान गरेका छन् । प्रियजनहरूको यादमा आँसु बगाउनुभन्दा आँसुलाई आगो र सुस्केरालाई धुवाँमा परिवर्तित गरी जनसमरको महायात्रा अर्थात् मुक्तियुद्धको महान्् रागलाई क्रान्तिरागमा रूपान्तरित गरी लेखिएका इच्छुकका कवितामा युद्धको राग छ र त्यसप्रतिको जादुगरी सम्मोह छ । बौद्धिक राग र जीवन रागको अद्वितीय मेलबाट केवितामा नयाँ सौन्दर्य र नवीन कलात्मकता पैदा भएको छ । जेलभित्रको जीवन र बाहिरको सङ्घर्ष तथा युद्धभूमिमा जन्मेका अनुभूतिको कलात्मक अङ्कन त छँदै छ, त्यसका साथै मुक्त र निर्बन्ध समाज निर्माणको भावनाले कवितालाई बढी सार्थक, मूल्यवान् र सोन्दर्ययुक्त बनाएका छन् । उच्च कथन, उच्च विचार, उच्च आदर्ससँगै सङ्घर्ष र जनयुद्धमा महत्तम त्याग, समर्पणका बीचबाट प्रतिबिम्बित भएका तरल अनुभूति साँच्चिकै विशिष्ट छन् । युद्धको कवितात्मक वर्णन गर्दा होस्, युद्धभूमिमा मुिक्तका निम्ति जीवन दिने वीरयोद्धाको अडानमा होस् कही नाटकीयता कही आख्यानात्मकता र कहीँ आत्मकथनात्मकतालाई अँगालिएको छ र इच्छुक वर्गीय युद्ध र मुक्तिका निम्ति निरन्तर लाग्ने दृढ कामना व्यक्त गर्दछन् । उनको कविताभूमि सहज छ र जनयुद्धको तीब्र अनुभव र अनुभूतिलाई बिम्बीकरण गर्नमा इच्छुक सफल रहेका छन् । सहज र सघन भाब बिम्बका कारण इच्छुकका कविता अन्य कविहरूका तुलनामा विशिष्ट बनेका छन् । आफ्नो समयको उन्नत र उच्च सङ्घर्ष जनयुद्ध तथा सामन्तवादी साम्राज्यवादी तथा पँुजीवादी शोषणका विरुद्ध विद्रोह र युद्धचेतद्वारा संंश्लिष्ट भई मुक्तिका निम्ति इच्छुक आफ्ना कवितामा दरिलोसँग उपस्थित भएका छन् । उनले नेपाली कवितालाई वर्गयुद्ध र मुक्तिको अदम्य बलियो कलात्मक अस्त्रका रूपमा स्थापित गरेका छन् ।

सन्दर्भसामाग्री
१.इच्छुक, कृष्ण सेन, (२०५६), इतिहासको यस घडीमा, अखिल नेपाल जनसांस्कृतिक सङ्घ ।
२.इच्छुक, कष्ण सेन, (२०६४), इच्छुक रचनावली, काठमाडौं, प्रगतिशील अध्ययन केन्द्र ।
३.चैतन्य, (२०६४), क्रान्ति र सौन्दर्य, काठमाडांै, प्रगतिशील अध्ययन केन्द्र ।
४.प्रचण्ड, (२०६३), राजतन्त्र एक वर्षभित्रै समाप्त हुन्छ, काठमाडौं, अशोक सुवेदी ।
५.पाण्डेय, डा. ताराकान्त, (२०६४), कविता र क्रान्तिमा आस्था ः उदात्त महाख्यानको प्रस्तुति ।
६.प्रतिबिम्बन, (१ ः १), अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ।
७.भण्डारी, डा. जगदीशचन्द्र, (२०६०), पृथक सृजन ः पृथक् निरूपण, काठमाडौंं, मुन्नी भण्डारी ।
८. –––, –––, (२०६४), सौन्दर्यको भूमिका, काठमाडौं, अखिल नेपाल लेखक सङ्घ ।
(माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्यबाट)