तिमल्सिनाका दुइ कविता

तिमल्सिनाका दुइ कविता

कविता

लुसिफरका लवस्तरा कुरा !

कोही अमेरिका समर्थक हवस
हामीलाई केही फरक परेन
अझ युथ काउन्सिलको सदस्य रैछ भने
सुनमा सुगन्ध भैहाल्यो
अमेरिकन पिआर नै हो भने
अझ गजब भयो
स्पेशल एजेन्ट हो भने त
गजबै गजब
मात्र यत्ति हो –
नेपाली मन हुनु भएन ।
युरोपियन युनियनको सदस्य होस
या फ्रि तिब्बत आन्दोलनको सदस्य होस
भारतीय भतुवा होस
या चीनियाँ चम्चा होस
हामीलाई केही फरक परेन
मात्र यत्ति हो नेपाली चेतना हुनु भएन
देशभक्त वेदना हुनु भएन ।
चाहे दरवारको द्वारपाल होस
चाहे सेनाको सुराकी होस
चाहे दलाई लामाको तलुवाचाट होस
चाहे पाकिस्तानको भाट होस
हामीलाई केही फरक परेन
मात्र यत्ति हो
टाउकामा नेपाली मगज हुनु भएन
नसामा नेपाली रगत हुनु भएन ।
भ्रष्ट भुसको थैलो होस
या बाहिरै भित्रै मैलो होस
कालो होस या कैलो होस
पछिल्लो होस या पैलो होस
जो भए पनि हामीलाई केही फरक परेन
मात्र यत्ति हो-
न्यायप्रेमीलाई जुटाउने हुनु भएन
देशको शिर माथि उठाउने हुनु भएन
हामीभन्दा जान्ने हुनु भएन
गणतन्त्र सङ्घीयता मान्ने हुनु भएन ।
“बुढाहरू ठाउँ खाली गर “
यो केवल भन्ने कुरा न हो
हाम्रो कुरा मिलेपछि
थला परेको थाङ्ने होस
या अरुलाई उठाइमाने होस
जो भए पनि केही फरक परेन
गाई छाप होस या घण्टी छाप होस
जुन छाप भए पनि हुन्छ
जति लोभ पाप भए पनि हुन्छ
मात्र दिलमा नेपाल हुनु भएन
मधेश पहाड र हिमाल हुनु भएन ।

भिन्नता

उसका भन्दा हाम्रा कविता
कमसल भएको हुनाले
लाख बढी लाइक नआएका होइनन्
उसका कविता गहन
र हाम्रा कविता छिपछिपे भएका हुनाले
हजार बढी शेयर नभएका होइनन् ।
उसको कविताका पाठक बढी भैदिएर
या उसले अतिरिक्त अब्बल कविता लेखेको भएर
उपरोक्त कुनै कारणले पनि होइन
उसको कविताले बजार पिटेको ।
बरु के हो भने
ऊ कुनै अदृश्य शक्तिको प्यादा भएको हुनाले
त्यस शक्तिले उसलाई बोकेको हुनाले
उसको प्रमोशनका लागि
दशौं हजार साइबर फोर्स
हर हालतमा तयार राखिएकाले
अदृश्य शक्तिद्वारा सङ्गठित
अदृश्य शक्तिद्वारा परिचालित
र अदृश्य शक्तिद्वारा पालित/पोषित
ती साइवर शक्तिले
केवल यही काम मात्र गर्ने भएकाले
उसले खोके पनि या पादे पनि
उसले छिउँ गरे पनि या खोके पनि
लाइकको वर्षा चलाउने
र “फलानो फलानो” मात्र भट्याउने
अनगिन्ति लुसिफर किड्सहरू भएकाले
उसको कविताले बजार पिटेको हो ।
र जहिलेसम्म
लुसिफर किड्सहरू सक्रिय रहन्छन
उसका हरेक अश्लिल शब्द समेत
युग हल्लाउने कविता बनिरहने छन ।
प्रिय कवि !
यो मौसम लुसिफरहरूको मौसम हो
यो मौसममा तिम्रो कविता पढिएन भनेर
अलिकति पनि चिन्ता नलेऊ !
असल कविता लेख्ने भए
त्यो नाथे लुसिफर नै हुने थिएन
र कविता बुझ्ने तागत भैदिएको भए
लुसिफर किड्सहरूले
लाइकको अति वृष्टि गर्ने नै थिएनन् ।