जेन–जी विद्रोह र अमेरिकी ‘सफ्ट पावर’

जेन–जी विद्रोह र अमेरिकी ‘सफ्ट पावर’

दोस्रो विश्वयुद्ध पछि अमेरिकी साम्राज्यवादले आफ्ना दलालहरुमार्फत् थर्ड वल्र्ड अर्थात् ग्लोबल साउथमा आफ्नो प्रभुत्व कायम गर्ने र आफ्नो साम्राज्यवादी मिसन पूरा गराउन अमेरिकी साम्राज्यवादले ‘सफ्ट पावर’ नीतिको विकास ग¥यो । अमेरिकी सामाजिक वैज्ञानिक जोशेफ नेएले ‘हार्ड पावर’, ‘सफ्ट पावर’ र ‘स्मार्ट पावर’को अवधारणा अगाडि सारेका हुन् । उनको विश्लेषणमा हार्ड पावर (मिलिटरी पावर)भन्दा सफ्ट पावर (डिप्लोमेसी, एनजिओ)को परिचालनबाट प्रभुत्व स्थापित गर्न सकिन्छ, जुन हार्ड पावरको तुलनामा हरेक हिसाबले सुरक्षित र मितव्ययी हुने उनले विश्लेषण गरे । सोही अनुसार उनीहरुले आफ्ना गैरसरकारी संघ संस्थाहरु, डिप्लोमेटिक मिसन, धर्म तथा संस्कृतिको माध्यमबाट संसारभर आफ्नो प्रभुत्व स्थापित गर्ने तथा कायम गर्ने नीति लिए । सोही अनुसार नेपालमा क्रिश्चियन मेशिनरी, विभिन्न कुटनीतिक माध्यम, आइएनजिओमार्फत् नेपालमा आफ्नो प्रभुत्व स्थापित गर्ने र आफ्नो मिसन अनुसार नेपाल र नेपालीलाई प्रयोग र परिचालन रणनीति अनुसार काम गर्दै आएको छ ।
पछिल्लो समय जेन–जी विद्रोहमा अमेरिकाको सफ्ट पावरहरुको संलग्नता देखिएपछि नेपालमा अमेरिकाले कसरी जेन–जी विद्रोहलाई हाइज्याक ग¥यो र आफ्नो पक्षमा परिणामलाई स्थापित गर्न सफल भयो भन्ने विषयमा विभिन्न कोणबाट अध्ययन र विश्लेषण भइरहेको छ ।
अमेरिकी दूताबासको युथकाउन्सील, बारबरा फाउन्डेसन, एशिया फाउन्डेसन, समता फाउन्डेसन लगायतका संघ संस्थाहरुमा लामो समय काम गरेका व्यक्तिहरु मन्त्रि भएपछि अमेरिकी सफ्ट पावरको विषयमा अझ बढी नेपाली समाजको ध्यान गएको छ । जेन–जी विद्रोहपछि बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा जेन–जीको तर्फबाट प्रस्तावित तीनजना युवाहरुको नाम अमेरिकी दूतावासको युवा परिषद्सँग जोडिएपछि अमेरिकी दूताबासले सञ्चालन गर्ने ‘युवा परिषद्’को अहिले व्यापक रुपमा चर्चा, विरोध र भण्डाफोर समेत भइरहेको छ । प्रस्तावित तीन युवाहरु सिरहाका बब्लु गुप्ता (२०२२), रौतहटका रामजी राम (२०२३) र हुम्लाकी टासी ल्हाजोम (२०२४)को ब्याचका अमेरिकी युथ काउन्सीलका सदस्य रहेका तथ्यहरु सामाजिक सञ्जालमा आइरहेका छन् । अमेरिकी दूताबासको युथ काउन्सिलको वेवसाइटमा लेखिएको छ, ‘संयुक्त राज्य दूतावास युवा परिषद् अमेरिकी दूतावासको सार्वजनिक मामिला शाखाको एक व्यावसायिक संलग्नता पहल हो । यो विभिन्न तालिम कार्यक्रमहरू, सेवा परियोजनाहरू, र नेटवर्किङ कार्यक्रमहरूमार्फत नागरिक र सामुदायिक संलग्नतालाई बढावा दिएर युवा नेताहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो ।… जब युवा नेपाली नेताहरू सफल हुन्छन्, नेपाल फस्टाउँछ — र, हाम्रो साझेदारी अझ बलियो हुन्छ ।’
यो युवा परिषद् २०११ मा स्थापना गरिएको हो । त्यसयता विभिन्न क्षेत्रका प्रभावशाली युवाहरुलाई छनौट गरेर उनीहरुलाई प्रशिक्षित तुल्याउने र विभिन्न परियोजनामा परिचालन गर्ने गरिएको पाइएको छ । यसको वेवसाइटमा २०११ देखि हालसम्म ६५० युवाहरुलाई नेतृत्व विकास तालिम दिएको उल्लेख गरिएको छ । तर, अन्य स्रोतहरुले भने यस्ता युवाहरुको संख्या हजारौको संख्यामा रहेको दावी गरेका छन् । सातवटै प्रदेशका विभिन्न जिल्लाका युवाहरुलाई प्रत्येक वर्ष छनौट गरेर उनीहरुलाई नेपालको राजनीति, प्रशासनिक, सामाजिक, खेलकूद, सूचना प्रविधि, नागरिक समाज, कला साहित्य, संगीत, उद्योग, व्यवसाय लगायतका क्षेत्रमा नेतृत्वको रुपमा स्थापित गराउने काम गर्ने गरेको देखिन्छ । अमेरिकाले उनीहरुलाई नेपालमा आफ्नो ‘सफ्ट पावर’को रुपमा प्रयोग र परिचालन गर्ने गरेको छ ।
काठमाडौं, भैरहवा, धनगढी, पोखरा, विराटनगर, इलाम र सुर्खेतमा अमेरिकी दूतावासले युवाहरुलाई तालिम दिने स्थान रहेका छन् । उनीहरुले त्यस क्षेत्रका स्कूल र क्याम्पसका प्रतिभाशाली विद्यार्थीहरुलाई भर्ना गर्ने गर्दछन् ।
नेपाली युवाहरुका विभिन्न उमेर समूहलाई लक्षित गरी उनीहरुले विभिन्न १२ वटा कार्यक्रमहरु डिजाइन गरेका छन् । १– सामुदायिक समाधान कार्यक्रम । २६ देखि ३९ वर्ष उमेरका युवाहरूलाई लक्षित, २– सामुदायिक संलग्नता आदानप्रदान कार्यक्रम । २०–२७ वर्ष उमेरका सामुदायिक नेताहरूको लागि तयार पारिएको । ३– खेलकुद आगन्तुक कार्यक्रम । गहन खेलकुद सांस्कृतिक आदान प्रदान गर्ने कार्यक्रम । ४–ग्लोबल मिडिया मेकर्स । यो एक कलाकार विकास आदानप्रदान कार्यक्रम । ५– ग्लोबल स्पोट्र्स मेन्टरशिप प्रोग्रामः यो २०१२ मा अमेरिकी विदेश विभागद्वारा सुरु गरिएको एक अन्तर्राष्ट्रिय नेतृत्व विकास कार्यक्रम । ६– संयुक्त राज्य अमेरिकामा अध्ययन । ७– अमेरिकी दूतावास युवा परिषद् ः अमेरिकी दूतावासले अमेरिकी दूतावास युवा परिषद्मा सेवा गर्न प्रत्येक वर्ष ५०–५५ युवा नेताहरूलाई भर्ना गर्छ । २० देखि ३० वर्ष उमेरका युवा नेताहरूलाई संलग्न गराउँछन्, प्रत्येक वर्ष डिसेम्बरमा भर्ना सुरु हुन्छ । ८– मोडेल संयुक्त राष्ट्र संघ ः युवाहरूको वार्ता, सार्वजनिक भाषण, अनुसन्धान सीपहरूलाई बढावा दिने लक्ष्य । ९– नीति तथा शासनमा युवा कार्यक्रम १०– अंग्रेजी पहुँच माइक्रोस्कोलरशिप कार्यक्रम । नेपालमा यो ५ स्थानमा हुन्छ, जसमा प्रत्येक स्थानमा ४० विद्यार्थी र ४ शिक्षकहरू समावेश हुन्छन् । स्थानहरू– उदयपुर, गाईघाट, सानोठिमी, भक्तपुर; पार्वतीपुर, चितवन; बेसीसहर, लमगुङ; हेम्जा, कास्की । ११– अंग्रेजी भाषा फेलो । अमेरिकी शिक्षकहरूले विश्वविद्यालय क्याम्पस र आयोजक संस्थाहरूमा एक शैक्षिक वर्षको लागि पढाउँछन् । १२– अंग्रेजी भाषा विशेषज्ञ । यी कार्यक्रममार्फत् प्रशिक्षित युवाहरुलाई जेन–जी विद्रोहमा व्यापक रुपमा परिचालन गरिएको र नेतृत्वमा स्थापित गरिएको देखिएको छ । नेपालका बेरोजगार युवाहरुको ‘ब्रेन वास’ गरेर आफ्नो मिसन पूरा गर्ने सफ्ट पावरको रुपमा प्रयोग गरेको पाइएको छ । अमेरिकी साम्राज्यवादको यो तरिकालाई यहाँका सच्चा देशभक्त, वामपन्थी, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुले सूक्ष्म रुपमा अध्ययन, अनुसन्धान, विचार विश्लेषण गरेर आफ्नो प्रतिरोधी रणनीतिहरुको विकास गर्न जरुरी छ ।