प्रस्तावित चारजना जेन–जी मन्त्रीहरुमध्ये तीनजना अमेरिकी दूताबासको ‘युथ काउन्सील’का सदस्य

प्रस्तावित चारजना जेन–जी मन्त्रीहरुमध्ये तीनजना अमेरिकी दूताबासको ‘युथ काउन्सील’का सदस्य

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जेड पुस्ताका चार जनालाई मन्त्री बनाउने तयारीमा छिन्। उनले प्रस्ताव गरेका चार जनामध्ये तीन जना अमेरिकी दूतावासको ‘युवा परिषद्’को सदस्य भएको पाइएको छ । जसमध्ये २०२४ की सदस्य तासी लाजोम दलाई लामाकी प्रतिनिधि समेत भएको दावी गरिएको छ । राप्रपाका नेता नेता ज्ञानेन्द्र शाहीले हुम्लामा जन्मेकी उनका आमाबाबु निर्वासित तिब्बती शरणार्थी भएको दावी गरेका छन् । जेन–जीहरुले पनि उनलाई स्वीकार्न नसकिने बताएका छन् । जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहनेको बताएकी छिन् । जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् ।

कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि पटकपटक छलफल पनि गरेका थिए । सम्भावित व्यक्तिका विषयमा समेत छलफल गरेका थिए । छलफलमा टासीको नाम प्रस्ताव भएको थिएन । उनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनाउने तयारी गरिएको छ। सबै विदेशी गैरसरकारी संस्थाहरू यसै मन्त्रालय अन्तर्गत सञ्चालित छन्। एउटा मिडियामा दिएको अन्तर्वार्तामा उनले सेप्टेम्बर ८ र ९ मा भएको विरोध प्रदर्शनमा पनि सक्रिय रूपमा भाग लिएको बताएकी छिन् ।

त्यस्तै नेवाः सम्पदा बचाउ अभियन्ता गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाइँदैछ। श्रेष्ठले हनुमान ढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरी लगायतका सम्पदा स्थलहरूको संरक्षणमा भूमिका खेलेका थिए । २०१५ को भूकम्पपछिको पुनर्निर्माणको क्रममा, उनी रानीपोखरी र पशुपति क्षेत्रमा कंक्रिट खन्याउने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोग र खुला मञ्चको व्यावसायीकरणको विरुद्धमा बोल्दै आएका थिए ।

त्यस्तै सिरहाका बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइँदैछ। उनी २०२२ को अमेरिकी दूतावास युवा परिषद्का सदस्य हुन्। उनी दूतावासको सहयोगमा ‘१०० समूह’ नामक संस्था चलाउँदै आएका थिए। उनी अहिले मधेशका युवाहरूलाई सक्रिय रूपमा संगठित गरिरहेका छन्। गुप्ताले कोभिड अवधिमा निःशुल्क खाना अभियान सुरु गरेका थिए र कपडा बैंक स्थापना गरेका थिए। हाल उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० जना विद्यार्थीलाई पढाइरहेको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै, रौतहटका डा.रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइँदैछ। उनी २०२३ को लागि अमेरिकी दूतावास युवा परिषद्का सदस्य हुन्। रामजी रौतहट जिल्लाको चमार समुदायबाट डाक्टर बन्ने पहिलो व्यक्ति हुन्।

कार्की मन्त्रिपरिषद्मा प्रायः सबै अमेरिकी आइएनजिओ र युथ काउन्सीलका उत्पादनहरु सदस्य रहेको पाइएको छ । भदौं २३ र २४ गतेको प्रदर्शनमा टिओवी (टिब्बेतियन ओरिजिन ब्लड) लेखिएका काला ज्याकेटहरु लगाइएका युवाहरु बुलेट बाइकमा देखिएका थिए । र, टिओवी लेखिका झण्डाहरुसहित ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाएका थिए ।

जेन–जी आन्दोलनलगत्तै प्रधानमन्त्री बनेकी कार्कीलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामा, उनको निर्वासित सरकार प्रमुख र सभामुखले समेत बधाई तथा शुभकामना दिए । नेपालको इतिहासमा कुनै पनि यसअघिका प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना नदिने दलाई लामा र उनको सरकारले शुशिला कार्की नेतृत्वको सरकारलाई किन बधाई दिएको विषयलाई कुटनीतिक रुपमा अर्थपूर्ण र संवेदनशील रुपमा हेरिएको छ । जेन–जी आन्दोलनमा एकाएक नेताको रुपमा देखापरेका सुदन गुरुङ र उनको एनजिओ ‘हामी नेपाल’ पनि फ्रि तिब्बत मूभमेन्टसँग जोडिएको पाइएपछि समग्र जेन–जी विद्रोह नेपालको छिमेकी मुलुक चीनका विरुद्ध ‘प्लटिङ’ गरिएको हो कि भन्ने गम्भीर टिप्पणीहरु भइरहेका छन् ।

चीनसँगको सम्बन्धमा नेपालले ‘एक चीन नीति तथा सिद्धान्त’प्रति आफ्नो प्रतिबद्धता जनाउँदै आएको छ र नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाउँदै आएको छ । तर जेन जी विद्रोहसँगै सिर्जित भूराजनीतिक भूमरीले नेपाललाई चीनविरोधी द्वन्द्वको अखडामा परिणत गराउने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतामामाथि गम्भीर खतरा उत्पन्न गराएको भन्दै राजनीतिक र कुटनीतिकवृत्तमा यी घटनाक्रमको व्यापक विरोध र भण्डाफोर भइरहेको छ ।