ईश्वरीप्रसाद गैरे
२२ असोज, घोराही ।
हिजो दाङ घोराहीमा सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा प्रगतिवादी साहित्यकार हिरामणि दुःखीको दोस्रो कथासङ्ग्रह ‘हेडक्वाटर’ पुस्तकको एक कार्यक्रमका बिच समीक्षा गरिएको छ ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उक्त संस्थाका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि खनालले पुस्तकबारे चर्चा गर्दै ‘कथाकार दुःखीले हेडक्वाटर कथासङ्ग्रह कम्युनिस्ट राजनीतिमा आएको विचलनलाई कथावस्तु बनाएर लेख्नुभएको रहेछ’ भन्नुहुँदै उहाँले उक्त हेडक्वाटरलाई लेखकले जनताको बिचमा राख्नुभएको छ, यसले चेतना फैलाउन सकोस् भन्नुभयो । उहाँले आफू सच्चिएर अगाडि बढ्न पुस्तकले प्रेरणा दिने पनि बताउनुभयो । आन्दोलनले जरा नटेक्दै मुर निमोठ्ने प्रवृत्तिले उपलब्धि हासिल हुन नसकेको खनालको भनाइ थियो ।


पुस्तकको समीक्षा डा. टीकाराम उदासी र खगेश्वर भण्डारीले गर्नुभएको थियो । समीक्षकहरूले कथा सङ्ग्रहमा समेटिएका १५ वटा कथा मध्ये ८ वटा कथा जनयुद्धकालीन घटनाक्रमहरूमा केन्द्रित रहेको र अन्य कथा नेपालको वर्तमान राजनीति र शासनप्रणालीले ल्याएको विकृतिको अवस्था, कम्युनिस्ट नेता र कार्यकर्ताहरूमा आएको वैचारिक, सांस्कृतिक विचलन एवम् वर्गप्रतिको गद्दारीका बारेमा लेखिएको बताउनुभयो । उहाँहरूले जनयुद्धका हेडक्वाटरमा आएको परिवर्तन र त्यसका वरपर बस्नेहरूको बदलिएको दैनिकीमा कथा केन्द्रित छन् भन्नुभयो । समीक्षकका अनुसार शान्ति प्रक्रियापछि फेरिएको वर्ग, बदलिएका विचारहरूलाई कथामा उठाइएको छ । जनयुद्धका समयमा जनवादी विवाह गराइदिने नेताहरूले अहिले करोडौं खर्च गरी आफ्ना सन्तानको विवाह महंगा पार्टीप्यालेसमा गराएका कुरालाई बिम्बिकरण गरेर कथामा समेटिएको समीक्षकहरूको भनाइ छ ।
समीक्षाका क्रममा खगेश्वर भण्डारीले लेखकको व्यक्तित्व र कृतित्वका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो भने डा.उदासीले कथासङ्ग्रह हेडक्वाटरमा रहेका प्रत्यक कथाको चिरफर गर्नुभएको थियो ।
पुस्तकका लेखक साहित्यकार हिरामणि दुःखीले उक्त पुस्तक लेख्नुको कारणबारे प्रष्ट्याउँदै आपूm वैचारिक रूपमा समाजवादी यथार्थवादलाई आत्मसात गर्ने भएकाले आफ्ना सिर्जनाहरू त्यही आधारमा लेख्ने गरेको बताउनुभयो । उहाँले उक्त पुस्तक हेडक्वाटरमा विशेषतः जनयुद्धकालीन घटना, वर्तमान सत्ता राजनीति र कम्युनिस्ट नेता कार्यकताहरूको वैचारिक सांस्कृतिक विचलनका विषयमा केन्द्रित रहेर कथा लेखिएको बताउनुभयो । कथाकार दुःखीले कथाहरू वास्तविक जीवनका घटनामा आधारित रहेको बताउँदै साहित्य समाजको प्रतिबिम्ब हुने र त्यसलाई आलोचनात्मक चेतका साथ अग्रगामी रूपान्तरणको पक्षमा लेखिनुपर्ने भन्नुहुँदै आपूmले सकेसम्म त्यसैअनुसार लेख्ने गरेको बताउनुभयो । उहाँले साहित्य केवल मनोरञ्जनका निम्ति लेखिनुपर्छ भन्नेहरूले साहित्यमा प्रयुक्त हुने विचारको विरोध गर्छन् परन्तु साहित्य विचारबाट पृथक नहुने बताउनुभयो ।
‘कम्युनिस्टहरूमा जब्बर सामन्तवाद रहेकोले उनीहरू रूपान्तरण हुन नसक्दा नेपालको कम्युनिस्ट आन्दोलनले सफलता हासिल गर्न नसकको हो’ लेखक दुःखीको भनाइ थियो । उहाँले कम्युनिस्ट नेताहरूमा ‘आफूबाहेक अरूलाई नदेख्ने, समूहले गरेको काम मैले गरें भन्ने प्रवृत्ति छ’ भन्नुभयो । दुःखीले कार्यकर्ताहरूमा आलोचनात्मक चेत नहुँदा नेता विग्रने गरेको बताउँदै ‘स्वार्थ पूरा भए नेता जति खराब हुँदा पनि महान् ठान्ने र पूरा नभए आलोचना गर्ने’ गरेको बताउनुभयो ।
‘जनवादी विवाह गरेकाले पनि जातीय र वर्गीय असमानताका कारण देखाई बहुविवाह, सम्बन्ध विच्छेद गरिरहेका छन् । तिनका महंगा सवारी साधन, गरगहना, आलिशान महलको स्रोत छैन । तिनै विकृति विसंगतिमा कथा केन्द्रित छन् । असली कम्युनिस्ट बन्न नसक्नुका कारण र एकै घरका तीन÷चार जनासम्मले रगत बगाउँदाका पीडा कथामा समेटिएको छ ।’ कथाकार हिरामणि दुःखीले भन्नुभयो ।
उक्त कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सहसंयोजक नारायण योगी, नेपाली लेखक सङ्घका अध्यक्ष डा. हिमलाल पन्थीलगायतले कथाकार हिरामणि दुःखीप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । पुस्तकालयका कोषाध्यक्ष नुमानन्द आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन साहित्यकार पद्मप्रसाद शर्माले गर्नुभएको थियो ।






























