सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

कृष्णराज पौडेल

कम्युनिस्ट पार्टीले आफ्नो काम कार्वाही सही प्रकारले अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्ताको विश्व दृष्टिकोण निर्माणको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । यो चराचर जगतलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने विषयमा दुईवटा परस्पर विरोधी दृष्टिकोणहरु रही आएका छन् । एउटा हो पुँजीवादी विश्व दृष्टिकोण र अर्को हो समाजवादी विश्व दृष्टिकोण ।

पुँजीवादी विश्व दृष्टिकोणले समाजका हरेक मानिसहरुलाई व्यक्तिगत तथा पारिवारिक हितको निम्ति काम गर्न सिकाउँछ । पुँजीवादी व्यवस्था नाफामा टिकेको व्यवस्था हो । हरेक कामबाट नाफा कमाउनु पुँजीवादी व्यवस्थाको विशेषता नै हो । तर विकसित पुँजीवादले समाजवादको लागि आर्थिक आधार खडा गरेको हुन्छ । विकसित पुँजीवादमा सामाजिक वर्गहरु स्पष्ट रुपले दुई खेमामा विभक्त भएका हुन्छन् । एकातिर पुँजीपतिवर्ग र अर्कोतिर मजदुरवर्ग । पुँजीपतिवर्गले ठूला ठूला उद्योग, कलकारखाना खोलेर छरिएर रहेको मजदुरवर्गको श्रमशक्तिलाई एक ठाउँमा ल्याएको हुन्छ । कलकारखानामा सँगैसँगै काम गर्दै जाँदा मजदुरवर्ग सचेत र संगठित हुँदै जान्छन् र उनीहरुले आफूमाथि भएको शोषणलाई बुझ्दछन् । यसरीसचेततापूर्वक मजदुर वर्ग क्रमशः सर्वहारावर्गमा परिणत हुँदै जान्छ र पुँजीपतिवर्ग क्रमशः पुँजीपति बन्दै जान्छ । उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्व कायम गरेर मजदुरहरु माथि शोषण गर्दै जाँदा जम्मा हुने अतिरिक्त नाफाले ठूलो पैमानाका उद्योग कलकारखाना स्थापना हुँदै जान्छन् र बजारमा अत्यधिक माल थुप्रिँदै जान्छ । अधिक उत्पादनले अधिक माल तयार गरेपछि त्यसका लागि ठूलो बजार क्षेत्र आवश्यक पर्छ र माल बेच्नका लागि अविकसित देशहरुमा आफ्नो बजार कायम गर्दै जाँदा पुँजीवाद पुँजीवादले साम्राज्यवादको रुप लिन्छ ।
पुँजीवादी अर्थ व्यवस्थामा मजदुरवर्गले आफ्नो श्रमको मूल्य पाएको हुँदैन । उत्पादनका लागि भूमि, पुँजी र श्रमशक्ति गरी तीनवटा साधन आवश्यक पर्दछन् । भूमि र पुँजी पुँजीपतिवर्गको आप्mनो लगानीको र श्रमशक्ति उसले मजदुरवर्गबाट प्राप्त गर्नु पर्छ । पुँजीपति वर्गले अतिरिक्त मूल्य मजदुरवर्गको श्रमको शोषण गरेर प्राप्त गर्दछ । पुँजीपतिवर्गले उद्योगमा लगाएको भूमि र पुँजीको साथै मजदुर वर्गलाई दिइने ज्याला – श्रमको ज्याला जोडेर उत्पादित वस्तुको मूल्य निर्धारण गर्दछ । त्यो वास्तु उत्पादनमा लागेको लागत मूल्यमाथि मुनाफा जोडेर उत्पादित वस्तुको मूल्य कायम हुन्छ र पुँजीपतिसँग क्रमशः अत्यधिक नाफा जम्मा हुँदै जान्छ । यसरी प्राप्त भएको नाफालाई फेरि पुँजीमा परिणत गर्दछ र उत्पादनका साधनहरु थप्दै बढाउँदै जान्छ । यसरी पुँजीपतिवर्ग क्रमशः ठूलो पुँजीपतिवर्गमा परिणत हुँदै जान्छ । तर मजदुरहरु सधै मजदुर नै बनिरहन्छन् । उनीहरुले बाँच्नको लागि ज्याला पाउँछन् । काम गरे वापत पाउने ज्यालाले खान लाउन त पुग्ला तर पुँजीको रुपमा लगानी गर्ने हैसियत कहिलै बन्दैन ।

जबसम्म मजदुरवर्गले पुँजीपतिले मलाई काम दिएको छ र मैले खान लाउन र छोराछोरी पालन पाएको छु भनेर ढुक्क रहन्छ तवसम्म उसले आफूमाथि भैरहेको श्रमको शोषणलाई देख्दैन । यसको ठीक विपरीत मजदुरवर्गले आफ्नो सीप, दक्षता र श्रमबाट पुँजीपतिलाई नाफा भएको हो भन्ने कुरा थाहा पाउँछ अनि ऊ सचेत सर्वहारावर्गमा बदलिन्छ र विद्रोहको तयारीमा लाग्दछ । कारखानामा काम गर्ने मजदुरहरुलाई संगठित गरेर मजदुर आन्दोलन उठाउनको लागि तत्परता देखाउँछ । तर मजदुरवर्गले जवसम्म आफ्नो श्रमको मूल्यबाट पुँजीपतिवर्गले मात्र नाफा कमाएर पुँजी बढाउँदै लगेको र आफू जन्मभर मजदुर भएर श्रम बेचेर पनि आर्थिक उत्पीडनमा परेको महशुस नगर्दासम्म विद्रोहको मानसिकता बनाउन सक्दैन । मजदुर विद्रोहका २ वटा पक्षहरु छन् । एउटा अर्थवादी (टे«ड युनियनवादी) विद्रोह र अर्को सर्वहारावादी विद्रोह । मजदुरवर्गले तलव, कामको घण्टा, ओभरटाइम भत्ता, औषधि, छोराछोरीका लागि शिक्षा दीक्षासम्म मात्र आफ्नो विद्रोह सीमित राख्यो भने त्यो विद्रोह टे«ड युनियनवादी विद्रोह हुन जान्छ । त्यसको ठाउँमा राज्य व्यवस्थाको पुँजीवादी शोषण, उत्पीडन, पुँजीपति वर्गको हितको पक्षमा बनाइएका नियम कानुन आदि समग्र राज्य व्यवस्थाका विरुद्ध विद्रोह गरेर पुँजीपतिवर्गको राज्य सत्ता उल्टाएर मेहनतकस, मजदुरवर्ग सर्वहारावर्गको राज्यसत्ता वैज्ञानिक समाजवादका निम्ति विद्रोहको तयारी गर्दछ । तव राज्यसत्तामा आमूल परिवर्तनभै सर्वहारावर्गको राज्यसत्ता कायम हुन्छ । जब कार्लमाक्र्सले १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गरे । अतिरिक्त मूल्यको सिद्धान्त पत्ता लगाए तव पुँजीपतिवर्गद्वारा थिचिएको, मिचिएको, उत्पीडनमा परेको वर्ग मजदुर वर्गले विद्रोहको झण्डा उठायो र पुँजीवादी राज्यसत्ता खतम गरेर आफ्नो राज्यव्यवस्था समाजवादी राज्यव्यवस्था स्थापना ग¥यो ।

यो त भयो विकसित पुँजीवादी व्यवस्थामा हुने विद्रोहको स्वरुप । अहिले हाम्रो देश सामन्ती, दलाल तथा नोकरशाही वर्गले राज्यसत्ता कब्जा गरेको देश हो । यहाँको अर्थ व्यवस्था र शासकीय स्वरुप धेरै नै पिछडिएको अवस्थामा छ । दलाल अर्थतन्त्रले औद्योगिक उत्पादन र कृषि उत्पादनलाई एक साथ समाप्त पारेको देशलाई दैनिक उपभोग्य वस्तु लगायत सम्पूर्ण वस्तुमा परनिर्भर बनाएको छ । नेपालमा पाइने कच्चा पदार्थमा आधारित उद्योग कलकारखाना कौडीको मूल्यमा बेचेर खाने काम भएको छ । भ्रष्टाचार यति मौलाएको छ कि सरकार, सेना, प्रहरी, अड्डा अदालत प्रशासन, मालपोत, नापी, नगर गाउँपालिकाहरु ठेक्कापट्टा यातायात आदिमा सर्वत्र कमिशन, घुस, अनियमितता, ढिलासुस्तीले जनता आक्रान्त छन् । यी सवै संस्थागत र नीतिगत भ्रष्टाचारले देश उठुनै नसक्ने गरी थिलोथिलो भएको छ । विश्वविद्यालयदेखि उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु खाली हुँदै गइरहेका छन् । विद्यार्थी र युवाहरु, विदेशमा अध्ययन र रोजगारीको निम्ति ठूलो संख्यामा बाहिरिरहेका छन् । यो सबै किन भइरहेको छ ? यस्तो हुनुको मूलकारण निम्न पुँजीवादी सोंचाई, चिन्तन र व्यवहार नै हो ।

पुँजीवादको विकास नभएको, पिछडिएको उत्पादन प्रणाली र कमजोर अर्थतन्त्र भएका देशहरुमा समाजका हरेक नागरिकहरुको चिन्तन प्रणाली निम्न पुँजीवादी प्रकारको हुन्छ । छरिएको र व्यक्तिगत जीवन पद्धतिले गर्दा अभावै अभावमा जिउनु परेको अवस्था, धनसम्पत्ति हुनेले सुखसँग बाँचेको, खाए लाएको देखेपछि धनसम्पत्ति जम्मा गरे पनि सुख समृद्धि र आनन्दको जीवन जीउन सकिन्छ भन्ने मान्यताले मानिसलाई लोभी, छट्टु र आफ्नो परिवारको लागि मात्र धनसम्पत्ति कमाउनुपर्छ भन्ने मान्यता र स्थापित गरेको हुन्छ त्यो नै निम्न पुँजीवादी चिन्तन हो । सिंगो राष्ट्र र समाजको अर्थतन्त्रको विकास नभएसम्म मेरो छुट्टै विकास हुन सक्दैन, समाजको विकास सँगसँगै मेरो पनि विकास हुने हो भन्ने सोंचाई विकसित भएको हुँदैन । यसैले गर्दा कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म काम गर्दा पनि सर्वहारा विश्व दृष्टिकोणको विकास हुन सकेन । कम्युिनस्ट आन्दोलनमा २०,३०, ४०, ५०,६० वर्षसम्म काम गर्दा पनि पार्टीका नेता तथा कार्यकर्ताहरुमा सर्वहारा विश्व दृष्टिकोण निर्माण हुन सकेन । फलस्वरुप कम्युनिस्ट पार्टी कमजोर हुँदै विसर्जनको दिशातर्फ उन्मुख हुँदै गएको अनुभूति हुन्छ ।

नेपाल परम्परागत र पिछडिएको कृषि प्रणाली भएको देश हो । यहाँ ओद्यौगिक विकास भएको छैन । विदेशी मित्र राष्ट्रहरुले बनाइदिएका उद्योगहरु पनि बहुदलीय शासन प्रणााली शुरु भएदेखि नेपाली कांग्रेसको सरकारले निजीकरण,उदारीकरण, खुला बजार अर्थतन्त्रजस्ता साम्राज्यवादी आर्थिक नीति लागू गर्दै जाँदा निजीकरण गरेर समाप्त पा¥यो । पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत त्यही साम्राज्यवादी आर्थिक नीति लागू गर्दै गए । नेपालमा बहुदलीय शासन पुनस्र्थापना भएको पनि पैंतिस वर्ष पूरा भैसक्यो । यो पैंतिस वर्षको अवधिमा नयाँ उद्योग खुलेन र पहिलेदेखि चल्दै आएका उद्योगहरु जस्तै भृकुटी कागज कारखाना ,लुम्बिनी चिनी कारखाना ,विरगञ्ज चिनी कारखाना ,हरिसिद्धि इट्टा टायल कारखाना ,बाँसबारी छाला जुत्ता कारखाना ,हेटौंडा कपडा उद्योग जस्ता छिमेकी देश चीनले बनाईदिएका उद्योगहरु समेत निजीकरण भए । अहिले युवा श्रमशक्ति समेत बेचेर देशलाई पुरै परिनिर्भर बनाए । नेपाली कांग्रेस त सामन्त दलाल तथा नोकरशाही पुँजी पति वर्गको पार्टी हो । नेपाली कांग्रेसले सामन्त दलाल तथा नोकरशाही पुँजीपति वर्गको काम गर्नु स्वभाविक हो । तर कम्युनिष्ट पार्टीको झण्डा र व्यार्नर मुनि आश्रय लिएर देशको अर्थतन्त्र सामन्त दलाल तथा नोकरशाही पुँजीपतिलाई सुम्पनु देश र जनताकालागि भयानक ठूलो अपराध हो । नेकपा एमाले र माओवादी केन्द्र आफै निम्न पुँजीवादी वर्ग धरातलमा खडा भएको पार्टीहरु हुन् । एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा सर्वहारा विश्व दृष्टिकोणको विकास भएको भए देशको शासन सत्तामा बसेर यसप्रकारका जनविरोधी गतिविधि गर्ने थिएनन् । देश र जनतालाई लुटेर अकुत सम्पत्ति जोड्ने धन्दामा लाग्ने थिएनन् । सबैका सबैले त्यही धन्दा गरेका छन् भन्ने होइन ती पार्टीहरुमा इमान्दार कार्यकर्ताहरु पनि छन् । नेपाली समाजमा व्याप्त निम्न पुँजीवादी चरित्र र चिन्तनले कम्युनिष्ट पार्टीमा जिन्दगी बिताएकाहरुलाई पनि निम्न स्तरमा गिराइदिएको छ । पहिले आफ्नो लागि कमाउने त्यसपछि जहान छोराछोरीको निम्ति कमाइ दिने त्यसपछि आफन्त, नालनाताहरुको लागि मेसो मिलाइदिने तर युग युगदेखि सामन्ती राज्य व्यवस्थाका कारण आर्थिक , राजनीतिक सामाजिक,साँस्कृतिक,नैतिक तथा आर्थिक शोषणमा परेका बहुसंख्यक नेपाली जनतालाई शोषणको जातोबाट मुक्त गर्ने कार्यक्रम ल्याएको खोइ ? यसको पछाडिको मुख्य समस्या सर्वहारा विश्व दृष्टिकोणको विकास नहुनु नै हो । निम्न पुँजीवादी सोचाइले सबै प्रकारका लाभ आफ्नै पोल्टामा पार्न पर्छ ।

नेपालको कम्युनिष्ट आन्दोलन सामन्त ,जमिन्दार ,वर्गबाट आएका टाँठाबाठा व्यक्तिहरुको नेतृत्वबाट शुरु भयो । स्थापना कालमा केही मध्यम वर्गीय व्यक्तिहरुले शुरु गरे पनि पछि उच्च वर्गबाट आएका शहरीया र बुद्धिजीविहरुको नेतृत्व कायम हुँदै गयो । सामन्त ,जमिन्दार र उच्च घरानिया वर्गबाट आएकाहरुमा सम्पत्ति हठ, दम्भ, महत्वाकांक्षा नेतृत्वकोलागि होडवाजी र नेता भए पछि जुनसुकै प्रकारको अपराध गरे पनि पार्टीले छुट दिनु पर्छ भन्ने मान्यता कै कारण कम्युनिष्ट आन्दोलन टुट्फुट र विभाजनको शिकार भए । ७६ वर्ष पछि विसर्जनको संघारमा पुगेको अहिलेको यथार्थता हो । यसको मूल कारण निम्न पुँजीवादी चिन्तन प्रणाली नै हो ।

यो स्वभाविकै हो की मानव समाजको चिन्तन प्रणाली जस्तो छ त्यही चिन्तन बोकेको जनसमुदायबाट मानिसहरु पार्टीमा प्रवेश गर्दछन् । पार्टीमा प्रवेश गरेपछि क्रमशः प्रशिक्षण र व्यवहारद्वारा पार्टी सदस्यहरुलाई सर्वहाराकरण गर्दै लैजानु पर्छ ,वर्गीय रुपले निम्न पुँजीवादी भए पछि पार्टीमा समर्पण, त्याग र निरन्तरता कायम गर्दै अगाडि बढाउने सकियो भने कार्यकर्ताको एउटा पंक्ति सर्वहाराकरण हुँदै जान्छ । पहिलो कुरा त समाजको तल्लो वर्ग शोषित पीडित वर्गबाट नै ठूलो संख्यामा पार्टी सदस्यहरु बनाउनु पर्दछ त्यो वर्गमा पनि निम्न पुँजीवादी सोचाइ हुन्छ । तै पनि अपेक्षाकृत उच्च वर्गबाट आएको सर्वहारा निम्न दृष्टिकोणको विकास नहुनु नै हो । निम्न पुँजीवादी सोचाइले सबै प्रकारको लाभ आफ्नै पोल्टामा पार्नु पर्छ भन्छ ।
व्यक्तिमा भन्दा तल्लो वर्गबाट आएको व्यक्तिमा सर्वहाराकृत हुँदै जाने सम्भावना बढी हुन्छ ।

सर्वहारा विश्व दृष्टिकोणले समाजमा हुने शोषण ,दमन,उत्पीडन,अन्याय अत्याचार,झुट भ्रष्टाचार वेथिति विसंगतिका विरुद्ध संघर्ष गर्न र समतामूलक सभ्य र सुसंस्कृत मानव समाज निर्माणका लागि अथक प्रयत्न गर्न सिकाउँछ । हजारौं वर्षदेखि कायम भएको शोषण प्रधान राज्य व्यवस्थालाई समाप्त पारेर समाजवादी एवम् साम्यवादी व्यवस्था स्थापनाका लागि अविचलित रुपले अगाडि बढ्न सिकाउँछ । पार्टीमा काम गर्दै जाँदा निस्वार्थ ढंगले जनताको सेवामा समर्पित हुने,त्याग बलिदान र विचारको सच्चाइ प्रति निष्ठावान हुन सकेकोमा सर्वहारा विश्वदृष्टिकोण विकास हुँदै जान्छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुमा सर्वहारा विश्वदृष्टिकोण बारे सही समझदारी विकास नहुदा कम्युनिष्ट आन्दोलनले कहिले उग्रवामपन्थी र कहिले दक्षिणपन्थी गल्ती गर्न पुग्दछ । शीघ्रलाभ र शीघ्र विजयको आकांक्षा र ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसकेर विश्वका कैयौं देशमा क्रान्तिकारी आन्दोलनले उग्रवामपन्थी दिशा समातेर ठूला ठूला क्षति भएका छन् । ठीक त्यस्तै सर्वहारा विश्व दृष्टिकोणको अभावमा कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी संशोधनवादमा पतन भएका पनि कैंयौं उदाहरणहरु छन् । कम्युनिष्टहरुले राज्यसत्ता प्राप्ति एउटा पक्ष हो भने प्राप्त सत्ताको रक्षा,निरन्तरता सुदृढीकरण र विकास अर्को देशकाल परिस्थिति अनुसार लागू गर्ने प्रयत्न समाजमा चल्ने वर्गसंघर्षमा शोषित पीडित वर्गको पक्षमा उभिने दृढता आफ्नो विचार सिद्धान्त राजनीति विचारको रक्षाको लागि कुनै प्रकारको सौदावाजी नगरीकन निरन्तर संघर्ष गर्ने अठोटले नै सर्वहाराकरणको दिशामा अगाडि बढ्न मद्दत गराउँछ । त्यसरी नै सर्वहारा विश्वदृष्टिकोण निर्माण हुँदै जान्छ । निम्न पुँजीवादी समाजमा सिद्धान्त विचार लाई व्यवहारमा लागू गर्न धेरै अप्ठ्यारो हुन्छ । सिद्धान्तलाई स्वीकार गर्न र विचार अपनाउन सजिलो कुरा हो । तर व्यवहारमा वा कार्यमा लागू गर्ने बेला आउँछ तब मानिसहरु पछाडि हट्छन् ,सर्वहाराकृत हुने योग्यता,क्षमता दृढता र क्षणको पहिचान कार्यक्षेत्रमा नै देखिन्छ । कतिपय मानिसहरुले आफ्नो अवसरवादीता वा ढुलमूलपनलाई लुकाउन क्रान्तिकारीताको प्रदर्शन पनि गर्दछन् । तर उनीहरुलाई संधै निरन्तर अगाडि बढ्न सम्भव हुँदैन ।

त्यसैले हाम्रो जस्तो कमजोर आर्थिक अवस्था भएको देशमा पार्टीमा आउने सदस्यहरुको वर्ग श्रोत निम्न पुँजीवादी भएकोले कम्युनिष्ट पार्टीमा आइसके पछि पार्टी सदस्यहरुलाई उच्च प्रकारको चेतनाको विकास गराउन लगातार प्रशिक्षण काम फेरी प्रशिक्षण फेरी काम दिँदै सर्वहारा विश्वदृष्टिकोणको विकास गराउन सकिन्छ ।

७ दशक देखि निरन्तर कम्युनिष्ट आन्दोलनमा लागेका आफूलाई महान माक्र्सवादी लेनिनवादी ठान्ने र अरुलाई सर्वहारा विश्वदृष्टिकोणको पाठ सिकाउने मान्छे पनि आफूलाई ठूलो आर्थिक लाभ प्राप्त गर्न पदका लागि कति घटिया,निकृष्ट र नीच बन्न सक्दा रहेछन् भन्ने उदाहरण पनि हामी पाउन सकिन्छ । त्यसैले व्यवहारिक रुपान्तरण सबैभन्दा ठूलो कुरा हो । अरुहरुले लेखिदिएका किताबहरु पढ्न र त्यसको व्याख्या गरेर लेख्न गाह्रो छैन । तर आफूले लिएको दर्शन र राजनीति अनुसार आफैलाई रुपान्तरित गर्ने मुख्य कुरा हो । कुन मानिस कति सर्वहाराकृत भएको छ भन्ने बुझ्न मृत्यु पर्यन्त हेर्दै जानु पर्दछ ।