बैशाख ८ गते ३ नं.अभियान टोली नेपालकै मध्य बिन्दुमा रहेको गाउँपालिकामा

बैशाख ८ गते ३ नं.अभियान टोली नेपालकै मध्य बिन्दुमा रहेको गाउँपालिकामा

बैशाख ८ गते अभियान टोली कास्की जिल्लाको भुगोलको हिसाबले सबै भन्दा ठुलो गाँउ पालिका मादी गाँउ पालिका पुग्यो । गाँउ पालिका पुग्दा अध्यक्ष देवीजङ्ग गुरुङ कार्यव्यस्तताका कारण भेट्न न सक्ने जानकारी गराउनु भयो। । अभियान टोली गाँउ कार्यपालिकाको कार्यालयमा पुग्दा उपाध्यक्ष कल्पना गुरुङ्ग र प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेललाई पनि भेट्न सकिएन । हामीसंग सुवोध खनाल ( सूचना अधिकृत÷ अधिकृत सातौं ) ले गाँउपालिकाको तर्फबाट स्वागत गर्नुभएको थियो ।


गाँउ पालिकाको सभाहलमा अन्तरक्रियात्मक छलफल कार्यक्रम भयो । अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले विषय वस्तु राख्नु भएको थियो । देशको तात्कालिक राजनैतिक अवस्था, पार्टीको जनसम्बन्ध विस्तार अभियान र आगामी कार्यदिशाको बारेमा विषय राख्नु भएको थियो । छलफलमा अभियान टोली सदस्यहरू पनि सहभागी हुनुभएको थियो ।
गाँउ पालिकाको बजेट कार्यान्वयन, सामाजिक विकास र पूर्वाधार विकास, न्यायिक समिति र दलित जनजाती र महिला अधिकारको बिषयमा छलफल भएको थियो । महिला बालबालिका तथा सामाजिक विकास शाखा अन्तर्गत अत्यन्त कम बजेट बिनियोजन भएको पाईयो । दलित सञ्जालको निर्माण न गरिएको र दलित लक्षित बजेट निकै कम भएको पाइयो । लगभग ६८ करोड बजेट रहेको उक्त गाउँ पालिकाको एक करोड ५० लाख आन्तरिक बजेट रहेको जानकारी भयो । वार्ड नं १२ का अध्यक्ष कृष्णराज दाहाल आफ्नो श्रीमतीलाई अमेरिकाको डिभी परेपछि श्रीमतीसंगै अमेरिका विस्थापित भएपछि उक्त वार्ड अध्यक्ष विहिन भएको पाईयो । छलफलमा उठेका विषयमा सूचना अधिकृत सुवोध खनालले प्रष्ट पार्ने कोशिश गर्नुभएको थियो । र अभियान टोली प्रमुख कृष्णराज पौडलले पनि उठेका विषयमा थप बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण ७ नम्बर व्यूरो सचिव कमरेड नारायण अधिकारीले गर्नु भएको थियो । मादी गाउँपालिका नेपालकै मध्य बिन्दु रहेको गाउँपालिका हो । अक्षांश र देशान्तर दुवै रेखाबाट काटिदा कायम भएको मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ । हिमालय श्रृङ्खलाको सबैभन्दा कम उचाइ (२४३५मि.)मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,१६,३०० मिटर क्युविक पानी भएको क्वाफुची हिमताल पनि यसै गाउँपालिकामा रहेको छ । समुद्री सतहबाट ५२० मिटरदेखि ७,९३७ मिटर सम्मको उचाइमा अवस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरूप, हावापानी र जैविक विविध रहेको छ । १२ वटा वार्ड रहेको यस गाँऊ पालिकाको ५६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ भने २०७८ को जनगणना अनुसार १६,१४२ जनसंख्या र ४,०९४ घरधुरी रहेको छ । बसाइ सराइ र विदेश पलायन हुने क्रम ब्यापक भएकाले खेतबारी प्रायजसो बाझिएको पाईयो । गुरुङ बाहुल्यता भएको यस गाउँपालिकामा दलित समुदायको बसोबास गुरुङ पछि रहेको देखिन्छ । बाहिर त्यति छुवाछुत न देखिएपनि आन्तरिक छुवाछुत र भेदभाव भएको पाईयो ।