डा. केशव देवकोटा
प्यालेष्टिनीहरुको मातृभूमि गाजामा गत साताबाट फेरी शुरुभएको इजरायली हवाई तथा स्थल आक्रमणबाट करिव एकसाताको अवधीमै हज्जारौं हताहत भैसकेका छन् । एकैदिनमा झण्डै ६०० भन्दा बढी प्यलेष्टिनीहरु मारिएका हृदयबिधारक समाचारहरु बाहिर आएका छन् । जसमा अधिकांश निर्दोष महिला र बालबालिका रहेको घटनाले त विश्वलाईनै स्तब्ध गराएको छ । त्यतिमात्र नभएर इजरायलले दक्षिणी लेबनानमा पनि फेरी आक्रमण थालेको छ । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले हिंसाको सम्भावित वृद्धिबाट चिन्तित भएको जनाएको छ । इजरायली सेनाले युद्ध बिरामपछि पनि दक्षिणी लेबनानका पाँचस्थान नियन्त्रणमै राखिरहेको थियो । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको बताउँदै आएको थियो । युद्धविराम सम्झौताअनुसार भन्ने होभने ती क्षेत्रबाट इजरायली सेना गत नोभेम्बरमै फिर्ता भैसकेको हुनपर्ने थियो । अमेरिकाले प्यालेष्टिनीहरुलाई उनीहरुको भूमीबाट बिस्थापित गराउन गरेको प्रयास असफल हुनासाथ इजरायलले युद्धविरामको अवधीसमेत पूरा नहुँदै आक्रमणगर्नुले सो आक्रमणमा अमेरिकाकोसमेत हात रहेको देखाएको छ । युद्धबिरामकै अवधीमा इजरायलीहरुले गत मार्च दुईदेखिनै गाजाका लागि खाद्यान्न, इन्धन, पानी र औषधिजस्ता सबै आपूर्तिमा पूर्णनाकाबन्दी लगाएका थिए । अमेरिका र इजरायलीहरुको आक्रमणको मूल उद्देश्य प्यालेष्टिनीहरुलाई उनीहरुको मातृभूृमिबाट खेदेर घरबारबिहीन बनाउनु रहेको स्पष्ट छ । यतिबेला विश्वभरी नै इजरायली अत्याचार र नरसंहारको बिरोध भैरहेको छ । नेपाल सरकारले पनि इजरायलसँगको कुटनीतिक सम्बन्धलाई तत्काल अन्त्य गरेर उसको मानवता बिरोधी हर्कतको कडा बिरोधगर्नु जरुरी छ । इजरायली रक्षा बलले गाजा पट्टीभरि विद्रोहीका लक्ष्यहरुमा प्रहार गरिरहेका दृश्यहरु प्रसारण भएका छन् । त्यहाँको सेना र शिन बेटले संयुक्तरुपमा जारीगरेको विज्ञप्तिमा प्रहार गरिएका लक्ष्यहरुमा प्रक्षेपण पोष्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरु समावेश रहेको बताइएको छ । इजरायलले हमासले बन्धकहरुलाई रिहागर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरुको सबै प्रस्ताव हमासले अस्वीकार गरेका कारणले पुनः आक्रमण गर्नुपरेको दाबि गरेको छ । अर्कातिर हमासले गत जनवरी १९ मा लागूभएको युद्धविरामको इजरायलले उल्लंघन गरेको आरोप लगाएको अवस्था छ । उसले इजरायललाई सैन्य बारवाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरुलाई आह्वानसमेत गरेको छ ।
बिबिसी लगायतका बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका समाचार बिवरणहरुअनुसार मध्यगाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाहलगायतका स्थानमा हवाई आक्रमण अद्यापि जारीरहेको छ । युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताहरुले इजरायललाई पूर्णरुपमा जिम्मेवार ठहराउनुपर्ने हमासको माग छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध आईडीएफले बढ्दो सैन्य शक्तिकासाथ थप बारवाहीगर्ने चेतावनी दिएको पाइन्छ । यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले एक विज्ञप्तिनै जारीगरेर सेनालाई हवाई आक्रमणका लागि आदेश दिएका समाचारहरु बाहिर आएका थिए । जुन बक्तब्य इजरायलका समाचार संस्थाहरुले उच्च महत्वकासाथ प्रकाशित र प्रसारित गरेको देखिएको थियो । शुरुमा इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल–दलिसको हत्या गरेकोभन्ने समाचार बाहिर आएको थियो । इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टिगरेको समेत भनिएको थियो । सन् २०२४ जुलाईमा तत्कालीन प्यालेष्टिनी नेता रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उहाँको स्थान लिनुभएको थियो । अब्दुल्लाहले हमासको संगठन र सैन्य गतिविधिहरुकोसमेत जिम्मेवारी लिनुभएको भनिन्थ्यो । इजरायलले हवाई आक्रमणमा अब्दुल्लाहसहित अन्य तीनजना हमासका नेताहरु महमूद मरजुक अहमद अबु–वत्फा, बहजत हसन मोहम्मद अबु–सुल्तान र अहमद उमर अब्दुल्लाह अल–हतासमेत मारिएको प्रचार गरेको थियो । तर उक्त समाचारहरुको हालसम्म स्वतन्त्ररुपमा पुष्टि हुनसकेको छैन । इजरायली प्रधानमन्त्री नेतान्याहूले इजरायल लड्नेछ र इजरायल जित्नेछ । हामी हाम्रा मानिसहरुलाई घर फर्काउनेछौं । हमासलाई ध्वस्त नगरेसम्म हामी पछि हट्ने छैनौं वा आरामगर्ने छैनौं भनेका उत्तेजक समाचार बिबरणहरु बाहिर ल्याइएको छ । युद्धविराम सम्झौताको उल्लंघनगर्दै गतसाता मंगलबारबाट गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारबाट स्थल आक्रमण पनि थालेको छ । गत जनवरीमा भएको दुई पक्षबीचको युद्धविराम सम्झौतामा युद्धविराम तीन चरणमा लागूहुने उल्लेख गरिएको थियो । युद्धविरामको पहिलो चरणमानै दोश्रो चरणबारे वार्ता हुने कुराहरु रहेका थिए । प्रस्तावित युद्ध बिरामको दोश्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्तागर्ने भनिएको थियो । इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएको प्रचार गरिएको थियो । सो अवधिमा थप प्यालेष्टिनी बन्दीहरुको बदलामा बाँकी बन्धक रिहागर्ने उनीहरुको प्रस्ताव रहेको थियो । तर उक्त वार्तासमेत नगरी इजरायलले एकतर्फीरुपमा आक्रमण थालेकाले अब सहजै वार्ता र युद्धबिराम हुने कुनै संभावना देखिएको छैन । बन्धकहरुका परिवारहरुले नेतान्याहुको पछिल्लो निर्णयको कटु आलोचना गरेका छन् । इजरायली सरकारले आफ्ना आफन्तहरुको वेवास्था गरेको उनीहरुको आरोप छ । इजरायली रक्षामन्त्री इजरायल कात्जले प्यालेष्टिनी समूह हमासले बाँकी बन्धकहरु मुक्त नगरे गाजा क्षेत्रलाई पूर्णरुपमा ध्वस्त पार्ने चेतावनी दिएको पाइएको छ । इजरायलीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाह लिनुहोस्, बन्धकहरुलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस् भन्ने नारा समेत प्रचारमा ल्याएका छन् ।
हमासलेभने इजरायलले एकपक्षीयरुपमा युद्धविराम उल्लंघन गरेको दाबीगर्दै मध्यस्थकर्ताहरु अमेरिका, इजिप्ट र कतारले युद्धविराम उल्लंघन गरेकोमा इजरायललाई पूर्णरुपमा जिम्मेवार ठह¥याउनुपर्ने माग गरेको छ । इजिप्टले इजरायली आक्रमणको निन्दा गरेपनि अमेरिकालगायतका अन्य मध्यस्थकर्ताहरुभने मौन रहेको देखिएको छ । गाजापट्टीको प्यालेष्टिनी सशस्त्र समूह हमासले सन् २०२३ को अक्टोबर सातमा दक्षिणी इजरायलमा आक्रमण गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो । ती आक्रमणहरुमा करिब ४९ हजार प्यालेष्टिनीले ज्यान गुमाएका थिए । एकलाख १० हजारभन्दा बढी घाइते भइसकेका छन् । गाजाका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन्भने २० लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् । हालैको आक्रमणलगत्तै संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले एक विज्ञप्तिमा गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट आफूसमेत आतंकित भएको जनाउनु भएको छ । उहाँले यसले विश्वमै त्रासदी थप्नेसमेत बताउनु भएको छ । पूर्वी जेरुसेलम, गाजा र वेष्टबैंकमा बसोबासगर्ने प्यालेष्टाइनी र इजरायलीबीच बारम्बार तनाव हुँदैआएको छ । गाजामा प्यालेष्टाइनी लडाकु समूह हमासको शासन छ । सन् १९८७ मा प्यालेष्टाइनी धर्मगुरु शेख अहमद यासिनले इजरायलविरुद्ध लड्न सैन्य क्षमताको अन्तर्राष्ट्रिय सुन्नी इस्लामिक संगठनकारुपमा हमासको स्थापना गर्नुभएको थियो । हमासलाई हतियार आपूर्ति हुननदिन इजरायल र इजिप्टले सीमामा कड्याइ गर्नेगरेका छन् । गाजा र वेष्टबैंकमा रहेका प्यालेष्टाइनीले इजरायलको दमन र शोषणको सामना गरिरहेको बताउने गरेका छन् । इजरायल र प्यालेष्टाइनबीचको बिवाद १०० बर्षभन्दा पुरानो हो । इतिहासकारहरुका अनुसार अहिलेको इजरायल र प्यालेष्टाइनी क्षेत्र प्रथम विश्वयुद्धअघि अटोमन साम्राज्यअन्तर्गत थियो । टर्किस साम्राज्य भनेरसमेत चिनिने अटोमन १४ औँदेखि २०औँ शताब्दीसम्म दक्षिणपूर्वी युरोप, पश्चिमी एशिया र उत्तरी अफ्रिकालाई समेटर बनाइएको ठूलो राज्य थियो । अटोमन साम्राज्यले पहिलो विश्वयुद्धमा हार व्यहोरेपछि अहिले प्यालेष्टाइनी र इजरायलीबीच बिवादित यो भूमिलाई बेलायतले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यतिबेला त्यहाँ अरबी मुस्लिमको बाहुल्यता थियो । अल्पसंख्यक यहुदी थिए । सोही समयमा युरोपमा उत्पीडन भोगिरहेका यहुदी गएर उक्त क्षेत्रलाई आफ्नो नेशनल होमल्यान्ड बनाउन खोजे, जसलाई बेलायतको समर्थन थियो । तर, पहिलेदेखि नै त्यहाँ रहेका अरब मुस्लिम वा प्यालेष्टाइनी समुदायले यो कदमको विरोधगर्न थालेको थियो । प्यालेष्टाइनीले उक्त भूमिमा आफ्नो अधिकार रहेको दाबी गरे ।
सन् १९२० देखि १९४० र दोश्रो विश्वयुद्धताका नाजी जर्मनले करिब ६० लाख यहुदीको नरसंहार गरेको भनिने घटनाबीच त्यहाँ पुग्ने यहुदीको संख्या बढ्यो । त्यसपछि यहुदी र अरबीहरुबीच तनाव बढेको हो । बेलायती शासनको पनि विरोध भएको थियो । सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेष्टाइनलाई यहुदी र अरब राज्यगरी दुई हिस्सामा विभाजन गर्नुपर्नेभन्दै मतदान गरिएको थियो । जेरुसेलमलाई अन्तर्राष्ट्रिय शहरकारुपमा मानिएको थियो । यहुदी पक्षले स्वीकार ग¥यो । अरब पक्षलेभने यसलाई स्वीकार गरेन । बिवाद साम्य नभएपछि सन् १९४८ मा बेलायत प्रशासन त्यहाँबाट हट्यो । यहुदी नेताहरुले इजरायल स्थापनाको घोषणा गरे । इजरायलको यो कदमको धेरै प्यालेष्टाइनीले विरोध गरेसँगै युद्ध भयो । सन् १९४७–०४९ को अवधिको युद्धको समयमा सातलाखभन्दा बढी प्यालेष्टाइनी नागरिक त्यहाँबाट विस्थापित भएको मानिन्छ । युद्धविराम गरिँदा इजरायलले प्यालेष्टाइनको महत्वपूर्ण भूभाग नियन्त्रणमा लिएको थियो । अहिले अधिकांश प्यालेष्टाइनी शरणार्थीकारुपमा गाजा र वेष्टबैंकमा रहेका छन् । उनीहरु छिमेकी मुलुक जोर्डन, सिरिया र लेबनानमा पनि रहेका छन् । त्यसैले तत्काल प्यालेष्टिनीहरुलाई आफ्नो सयौंबर्ष पुरानो भूभाग फिर्ता गरिएनभने यसबाट इजरायल र अमेरिका लगायतका उसका समर्थकहरुले ठूलो धक्काको सामना गर्नुपर्ने निश्चित देखिएको छ ।






























