मोरङ÷जनसम्बन्ध विस्तार अभियानको चौथो दिन क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हरिभक्त कडेलको नेतृत्वमा रहेको २ नम्बर अभियान टोलीले आज बिहिबार मोरङ प्रवेश गर्दैै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
आजै झापाको केर्खा बजार , तोपगाछी र दमकमा कोण सभा सकेर आएको टोलीलाई मोरङ पार्टीले मोरङको उर्लाबारी बजारमा स्वागत गर्दै कोणसभा गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै टोली कमान्डर कडेलले आफ्नो पार्टीको अभियान देखेर जनता उत्साहित भएको बताउनु भयो । उहाँले दलाल, भ्रष्टाचारी र कमीसनखोरीहरुको पक्षपोषण गर्ने संसदीय व्यवस्थाबाट जनता वाक्क दिक्क भैसकेको बताउदै जनताले जनवादी गणतन्त्रका पक्षमा साथ दिने विश्वास व्यक्त गर्नु भयो ।
नेता कडेलले चैत ४ गते झापाको काँकरभिट्टाबाट सुरु भएको अभियान झापाको दर्जनौँ ठाउँहरुमा विभन्न कार्यक्रम गर्दै मोरङ आइपुगेको बताउनु भयो । उहाँले डेढ महिना सम्म चल्ने जनसम्बन्ध विस्तार अभियान देशका ५६ जिल्लामा पुग्ने बताउदै देशैभरीका विभिन्न १८ स्थानमा अभियान जारी रहेको जानकारी दिनु भयो ।

यस कोण सभाको संचालन पार्टीका केन्द्रिय सदस्य तथा मोरङ सेक्रेटरी सुमन पराजुलीले गर्नु भएको थियो ।
यस्तैगरी अभियान टोलीले आजै मोरङको मधुमल्ला बजार,टाँडी र उर्लबारीको आइतबारे सुकुम्बासी बस्तीमा पनि कोणसभा गरेको छ ।
मधुमल्ला बजारमा भएको कोणसभामा पार्टीका पोलिटव्यूरो सदस्य तथा अभियान टोलीका सदस्य कृष्ण देव सिंहले सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनताको सत्ता स्थापना गर्नका लागि निरन्तर संघर्षमा लागि रहेको बताउनु भयो ।
यसरी नै टाँडीमा भएको कोण सभालाई पार्टीका केन्द्रिय सदस्य तथा अभियान टोलीका सदस्य रंगवीर दोङले सम्बोधन गर्नु भएको थियो भने पथरी नगरपालिकाका सचिव रत्न पराजुलीले संचालन गर्नु भएको थियो । उर्लाबारीको आइतबारेमा भएको कोणसभामा पार्टीका केन्द्रिय सदस्य तथा अभियान टोलीका सदस्य बाबुराम सुवेदीले सम्बोधन गर्नु भएको थियो भने उर्लाबारीका सचिव नरसिंह धिमालले संचालन गर्नु भएको थियो ।
उक्त कोण सभाहरुमा पार्टीका केन्द्रिय सदस्य तथा जनवादी गायक नारायण शर्माले किसान ,मजदुर ,सुकुम्बासी , महिला ,दलित लगायत उत्पीडतहरुलाई उठौँ÷उठौँ ,जागौँ÷जागौँ र आफ्नो अधिकारका लागि लडौँ÷ लडौँ जस्तो उर्जा भर्ने गीत प्रस्तुत गर्नु भएको थियो ।सो अभियान तथा कोण सभामा पार्टीका १६ नम्बर व्यूरो सेक्रेटरी विमल निरौला , पार्टीका केन्द्रिय सदस्यहरु ,जय अचार्य , योगेन्द्र ढकाल, शोमा सेन्चुरी , राधा ढकाल,डम्बर भण्डारी , क्षेत्र बहादुर थापा तथा उक्त व्यूरो अन्तर्गका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
अभियान टोलीले अभियानको आवश्यता र महत्व झल्काउने तथा पार्टीका विस्तृत कार्यक्रमहरु समेटेको पर्चा वितरण तथा दर्जनौँ स्थानमा भित्तेलेखन लगायतका कामहरु समेत सम्पन्न गरेको छ ।






























