काठमाडौं । पाँचथरको फिदिममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले चैत्र ४ गते जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दैछ । देशका ४ स्थानबाट एकसाथ उद्घाटन गरिने अभियानको प्रचार प्रसार भइरहेको छ । चारवटा अभियान टोलीमध्ये १ नंं अभियान टोलीले आज पाँचथरको फिदिम बजारमा अभियान उद्घाटनको व्यापक प्रचार प्रसार र घरदैलो कार्यक्रम गरेको छ ।
पार्टीको स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको अभियान टोलीले आज पाँचथर फिदिम बजारमा ४ गते हुन लागेको अभियान उद्धघाटनको बारेमा घरदैलो कार्यक्रम सम्पन्न गरेको पत्रकार अनु निरौलाले जानकारी दिनुभयो ।
प्राप्त जानकारी अनुसार आजको प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा पार्टीका नेताहरु चन्द्रहरि सुवेदी, सुरेन्द्र भण्डारी, शारदा महत, बालकृष्ण सुवेदी, पुष्प सुवेदी, अनु निरौला, दोर्चि शेर्पा र जिल्ला पार्टी सेक्रेटरी कृष्ण सुवेदी सहभागी रहनु भएको थियो । अभियानका निम्ति पार्टी केन्द्रीय कार्यालयले तयार पारेको हाते पर्चा वितरण, झण्डा व्यानरसहित माइकिङ गर्दै अभियान टोलीले फिदिम बजार परिक्रमा गरेको थियो ।
फिदिम बजारका जनसमुदायहरूले उत्साहजनक उपस्थिति जनाउँदै पर्चा लिनुका साथै उक्त अभियानलाई सफलताको शुभकामना दिनुभयो । घरदैलो प्रचार प्रसार कार्यक्रमको उद्घोषण पार्टीका पिबिएम तथा १६ नं ब्युरो इन्चार्ज सुरेन्द्र भण्डारीले गर्नु भएको थियो।