तत्कालीन नेकपा ( माओवादी ) निकट नेपाल दलित मुक्ति मोर्चा , चितवनका संस्थापक अध्यक्ष अम्बिका परियारको परिवारले उनको मृत्यु पश्चात् परम्परागत काजकिरिया नगरी समाजको सांस्कृतिक रुपान्तरणको पक्षमा एक सकारात्मक कदम चालेका छन् ।
२०८१ पौष २९ का दिन उपचारकै क्रममा उनको निधन भएको थियोे । २०३० सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेका अम्बिका परियार (क. अमर ) २०३५÷३६ को किसान आन्दोलन , पहिलो र दोश्रो जनआन्दोलन र जनयुद्धमा सक्रिय र नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । पछिल्लो समय उनी माओवादी केन्द्रका बाग्मती प्रदेश सल्लाहकार रहेका थिए । चितवनको दलित आन्दोलनका एक इमानदार नेता अम्बिका परियारको परिवार नै जनयुद्धको क्रममा सक्रिय सहयोगी भुमिका निर्वाह गरेको अम्बिकाका भाइ एवं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार बाबुराम प्यासी परियारले जानकारी दिएका छन् ।
२०८१ माघ ३ गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , चितवन जिल्ला समितिले अम्बिका परियारकै निवास, भरतपुर १५ , मंगलपुरमा एक कार्यक्रमको आयोजना गरि अम्बिका परियारप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी बिकासले सञ्चालन गरेको कार्यक्रममा बाबुराम प्यासिले अम्बिका परियारको राजनैतिक , सामाजिक र पारिवारिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । पार्टी केन्द्रिय सदस्य एवं क्रान्तिकारी महिला संगठन , नेपालका केन्द्रिय संयोजक अम्बिका मुडभरिले पार्टीको तर्फबाट समवेदना पत्र प्रदान गर्दै मृतक अम्बिका परियारको योगदानको चर्चा गरेकी थिइन् । उनले मृत्युु पश्चात् हुने धार्मिक कर्मकाण्ड ÷ काजकिरियाको साटो जनताले आफैं नयाँ संस्कृतिहरु निर्माण गर्नु महत्त्वपूर्ण हुने कुरा बताइन । कार्यक्रममा पार्टीका नेता कार्यकर्ता सहित छरछिमेकी एवं आफन्तजनको उपस्थिति रहेको थियो ।
विभिन्न संघ संगठन एवं सामाजिक संस्थाहरुले अम्बिका परियार प्रती श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवार यसप्रकारको सांस्कृतिक रुपान्तरणको पक्षमा उभिएकोमा औपचारिक र अनौपचारिक कार्यक्रमका साथै सहयोग र समर्थन गर्ने गरेको बाबुराम प्यासिले जानकारी गराएका छन् ।