टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

टिआरसी विधेयकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँच बुँदे असहमति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले टिआरसी विधेयकप्रति पाँच बुँदे विरोध तथा असहमति व्यक्त गरेको छ । पार्टीका प्रवक्ताले एक प्रेस वक्तव्य जारी गर्दै पाँच बुँदे असहमति व्यक्त गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिक गर्दछौं ।
१. विधेयक निर्माण गर्ने प्रक्रियामा हाम्रो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको छ ।
२. विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको छ ।
३. यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रुपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ ।
४. उक्त प्रकारको विरोध तथा असहमतिका साथै सो विधेयक पारित हुन भइसकेको अवस्थामा त्यसलाई विवेकसम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् भन्ने हाम्रो पार्टीको दृढ धारणा रहेको छ ।
५. राज्यसत्ताको यो षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन हाम्रो पार्टी आम जनसमुदायलाई आह्वान गर्दछ ।”