काठमाडौं । २०८१ श्रावण २६ देखि २९ सम्ममा सम्पन्न भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकका निर्णय सार्वजनिक गरिएको छ । बैठकका निर्णय नवनियुक्त पार्टी प्रवक्ता सुदर्शनले सार्वजनिक गर्नुभएको हो ।
प्रेस विज्ञप्तिमा बैठकले गरेका निर्णयहरुलाई सात बुँदामा सार्वजनिक गरिएको छ । जुन यसप्रकार रहेको छ :
‘१) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक तथा अग्रगामी जनसंघर्ष र वर्गयुद्धहरुमा शहादत प्राप्त गर्ने वीर–वीराङ्गनाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइते अपाङ्ग योद्धाहरु, वेपत्ता योद्धाहरु र कारावासमा यातनारत कमरेडहरुप्रति विशेष सम्मान गरी बैठक प्रारम्भ गरियो ।
२) केन्द्रीय संगठन समितिको गत दोस्रो पूर्ण बैठकमा राष्ट्रिय एकता महाधिवेशनका लागि विभिन्न मसौदा दस्तावेज तथा प्रस्तावहरु परित गरिएका थिए । कञ्चन सहितका कमरेडहरु निष्कासित भइसकेको स्थितिमा पार्टीको विधान लगायतका कतिपय मसौदा दस्तावेज तथा प्रस्तावहरु प्रस्तुत भई पारित गरिएका छन् । बैठकमा आगामी महाधिवेशनलाई भव्यतापूर्वक सफल तुल्याउनका लागि थप प्रतिबद्धता समेत जाहेर गरिएको छ ।
३) राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा सांगठनिक काम प्रमुख भएता पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका जल्दाबल्दा विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्दै जाने निर्णय लिइएको छ ।
४) पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी केन्द्रीय संगठन समिति तथा कार्यालय सदस्य क. सुदर्शनलाई दिइएको छ ।
५) यही २०८१ को मंसिर १३ देखि २३ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको छ । यसका लागि मूल नारा यसप्रकार तय गरिएको छ ः
राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौँ !
नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !
६) यही श्रावण १ गते “एकता असफल भयो” भन्दै राष्ट्रिय एकता महाधिवेशनको मैदानबाट भागेको कन्चन समूह दार्शनिक दृष्टिबाट सारसंग्रहवादी र वितण्डावादी, सांगठनिक दृष्टिबाट व्यक्तिवादी अराजकतावादी र मुख्यतः राजनीतिक तथा सैद्धान्तिक दृष्टिले दक्षिणपंथी संशोधनवाद परस्त रहेको ठहर गरी सो समूहलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट निष्काशन गर्ने निर्णय सर्वसम्मतिबाट गरिएको छ । यसका साथै गुटवादी, फूटवादी र अराजकतावादी भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेलसमेतलाई पार्टीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने सर्वसम्मत निर्णय लिइएको छ ।
७) वैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका कतिपय समसामयिक प्रस्तावहरु पारित गरिएको छ ।’