शनिबारीय साहित्य ः निबन्ध
*** ***
भोर्लो वनस्पती जगतको एक परजीवी वनस्पती हो । यो लहरे वनस्पती हो । यस्लाइ हुर्कन, बढन र फैलन अर्को कुनै बृक्षको सहारा चाहिन्छ । भोर्लाले जति ठूलो बृक्षको आधार पाउछ उति धेरै लहराहरू फैलन्छन् । यो कोसे वनस्पती हो र यसका दाना पनि दुइदलीय हुन्छन् । यसका पातहरू पनि दुइपत्रीय हुन्छन् । अक्सर ग्रामिण किसानहरूले बर्षातको पानीबाट जोगिन बाँसको चोयाबाट स्याखु, घुम र छतरी छाप्न यसको पातहरू प्रयोग गर्दछन् । साथै वनभात या वनखाजा खाँदा यसका पातले थालको काम पनि गर्छ । तर आधुनिक उत्पादनले घुम, स्याखु विस्थापित गरेपछि यो चलन हराउँदै गएको छ । भोर्लो औषधीय गुण भएको वनस्पती हो । कुनै बृक्षको सहारामा फैलिएको भोर्लोको झ्याङले दरकँदो पानीमा केहिबेर ओत दिन्छ । चर्को घाममा छहारी पनि दिन्छ । यो फैलँदै जाँदा आधार बृक्षको फैलावटलाई अवरुद्ध गर्छ र आधार वृक्ष सुक्दै गएर मक्किएर ढलेपछी यो पनि ढल्छ । जराहरूको खाद्य तत्व सञ्चितिको क्षमता हुँदाहुँदै पनि यो वनस्पती भुइँमा लत्रिएर बेकामको स्वरूपमा गिर्छ ।
वनस्पती जगतमा भोर्लो जस्तै अहिले हाम्रो मुलुकका संसदवादी राजनैतिक दलहरू पनि भोर्लो जस्तै छन् । यिनीहरूले २०७९ को चुनावदेखि नै भोर्ले राजनीति गर्दै आएका छन् । चुनावबाट आफ्नो दलीय हैसियत बनाउनदेखि सत्तामा चढेर शासन चलाउन समेत भोर्ले नीति अवलम्बन गर्दै आइरहेका छन् । आम चुनावमा भोर्ले अभियान चलाएका यी दलहरू फैलन त सकेन बरू अघिल्ला चुनाउको दाँजोमा झन् खुम्चिए । जनअभिमत आफ्नो भड्डुमा पार्न सजातीय भन्दा बिजातीय अभियान चलाए । एकलौटी सरकारमा हालिमुहाली गर्नबाट सबै दलहरू असक्षम बनेपछि कहिले काङ्ग्रेसलाई आधार बनाएर प्रचण्डको दल भोर्लो बन्यो भने कहिले एमालेलाई आधार बनाएर फेरि प्रचण्डको दल भोर्लो भयो, तर भोर्लोले आधार बृक्षलाई दखल पु¥याएझैँ प्रचण्डले आधारलाई दखल पु¥याउन सकेनन् । यिनीहरू एक अर्कामा जेलिएर रहेपनि देश र जनतालाई एकझर पानीमा ओत दिएनन् र चर्को घाममा छहारी पनि दिएनन् । मौसम फेरिएझैँ सत्तारोहणमा दलहरू पटकपटक फेरिए तर मुलुकबासीलाई भने ‘बोकाकी आमा रुनुको रुनु’ भनेझैँ भयो ।
अहिले फेरि सत्ताको बागडोर लिन दुई ठुला दलहरू आधार वृक्ष र भोर्ले लहरो बनेका छन् । सम्बिधान संशोधनको राग अलापेर सत्ताको साँचो पक्रन सफल यी भोर्लेहरूको बिस्तारै आफ्नो अस्तित्व समाप्त हुने पक्का छ । पटक पटकको सत्ता फेरबदलले जनतामा सुशासन होइन आफ्नो सुआशन मजबुत पार्ने ध्येयमा छन् भन्ने दृष्टान्त दिउसोको घाम जस्तै सत्य छ । अहिले देखिएको सत्ता फेरबदलले केही आशंका भने जन्माएको छ । यतिबेला राष्ट्रिय तथा अन्तरराष्ट्रिय माफियाहरू शान्ती प्रकृयालाई टुङ्गोमा पु¥याउन बाधा अड्चन गरिरहेका छन् । यसलाई भजाएर अनाधिकृत र गैह्र कानुनी बाटोबाट आफ्नो निजी भलाई चाहनेको झुण्ड त्यही शासन सत्ताको वरिपरि मुख मिठ्याएर बसेको देखिन्छ । यसको सबुद उदाहरण आफ्ना स्वदेशी नागरिकहरूलाई अर्कै देशको शरणार्थी बनाएर बाहिर पठाउने कार्यमा लिप्त हुनेहरूको भोर्ले जोल्ट्याई मुलुकका लागि अर्को खतरा हो । बिगतमा यिनीहरूले सत्ताको छातामुनी घुस्रिएर प्राकृतिक सम्पदाको दोहन, भन्सार छली, जस्ता कार्य र मुलुकको हित विपरीत गरिएका बैदेशिक सन्धी सम्झौताहरूले यो स्थितिको पुष्टि गर्दछ । सबैभन्दा ठूलो कुरा राष्ट्र र राष्ट्रियता हो तर उनीहरूको कार्यकालमै मुलुकको संसदले पारित गरेको एम सी सी जस्तो घातक सम्झौताबाट यिनीहरूको चरित्र छर्लङ्ग छ । हिजो पटक पटक आधार फेरेर सत्ताको केन्द्रमा पुगेका बिद्रोही पक्षका कमाण्डर भने द्वन्द्वकालिन घटना ब्यबस्थापन गर्नतिर भन्दा आफ्नो मात्र ब्यवस्थापनमा लागेको जनताले अनुभुत गरेका हुन् ।
क्रान्तिकारीहरूलाई लखेट्ने र सिध्याउने द्वन्द्वकाल र त्यसभन्दा अघिको जुन अवस्था र जुन जुन शक्ति थियो अहिले पनि त्यही अवस्था दोहोरिन सक्ने संयोग मात्र नभएर योजनामा नै भैरहेको छ । यसका पछाडी केही कारणहरू छन् । पहिलो साम्राज्यवादी र बिस्तारवादी शक्तिहरू क्रान्तिकारीलाई सिध्याउन चाहन्छन् र प्रशासन अदालतमा आफ्ना प्रतिनिधिहरू घुसपैठ गराउँछन् । दोश्रो हिजोका क्रान्तिकारी शक्तिहरू टुटफुट भएका छन् र कमजोर भएका छन् । बिस्तृत शान्ती सम्झौतापछि पूर्व जनमुक्ति सेनाको उचित ब्यवस्थापन हुन नसक्नु र आफुलाई ठूलो भनिएको एउटा अंश संसदीय आहालमा चुर्लुम्म डुब्नु अर्को कारण हो । संसदको क्रान्तिकारी उपयोग गर्नु भन्दा संसदीय बाटोमै हामफाल्ने र क्रान्ति बिरोधी शक्तिसित अङ्कमाल गरेर क्रान्तिकारी चेतनाको बिसर्जन गरेपछि क्रान्ति बिरोधीहरूको आत्मबल बढ्ने नै भयो । द्वन्द्वकालका कार्यकर्तामाथि लगाइएका कयौँ झुठा मुद्दाहरू मुलुकभित्रका अदालतहरूमा अहिले पनि तामेलिमा छन् । बितेको द्वन्द्वले राष्ट्रघाती दलालहरूको मुटुमा ढ्याङ्ग्रो ठटाए पनि निर्मुल हुन सकेका थिएनन् । त्यो द्वन्द्वकालका मुल नायकले पटक पटक सत्तामा रहँदा कुनै पनि ब्यवस्थापन हुन सकेन । आफैँबाट शुरु भएको प्रतिक्रान्तिले समाप्त पार्ने त आफैँलाई हो ।
अहिले एकथरी क्रान्तिकारीहरू बिचारमा बलिया छन् तर सङ्ख्यामा कमजोर छन् र यो शक्तिलाई सिध्याउन हिजो क्रान्तिकारी भनिएका र आज संसदवादी बनेकाहरू नै लागिपरेका छन् । माओवादी आन्दोलनमै लागेको एउटा झुण्ड क्रान्तिको औचित्य सकिएको घोषणा गरेर आन्दोलनबाटै बाहिरियो । एकीकृत क्रान्तिको सिद्धान्त घोकेका केही पात्रहरू वर्तमान सत्तासँग सहकार्यको हवालादिंदै सिंहदरबार र बालुवाटार धाउन थालेका छन् । आज संसदवादमा अवतरण गरेकाहरू सत्ताको आडमा भ्रष्टाचारमा लिप्त छन् । मान्छेलाई क्रान्तिकारी बिचारमा दृढ बनाइराख्ने उभित्रको बिचारले हो तर अहिले संसदको फुर्को समातेका पूर्व क्रान्तिकारीहरू भुत्ते हुँदै जानू र प्रतिकृयावादी आधार समातेर उभिनु अड्डा अदालतमा दर्ज भएका बासी मुद्दामा खारेजितिर ध्यान नपु¥याउनु अब हिजोका विषयमा फँसाउदै जानू क्रान्तिकारीहरूका लागि खतराको सङ्केत हो । अझै पनि क्रान्तिकारी शक्तिहरूको बिचमा एकता वा संयुक्त मोर्चा तयार गरेर यो भोर्ले सत्ताको बिरूद्ध जाइलाग्नुको विकल्प छैन ।