कमरेड नारायण सापकोटा ‘प्रकाश’को श्रद्धाञ्जली सभा सम्पन्न (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कमरेड प्रकाशको निधनको १३ औं दिनमा आयोजित कार्यक्रमलाई पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरण लगायत वक्ताहरुले कमरेड प्रकाशको क्रान्तिकारी व्यक्तित्व र उहाँले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नु भएको थियो ।

कमरेड प्रकाशको फोटोमा माल्यार्पणसहित सुरु भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य रामबहादुर बुढाले गर्नुभएको थियो । श्रद्धाञ्जली मन्तव्य राख्दै पार्टी संयोजक मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक जना असल, जुझारु र लगनशील राम्रो सम्भावना बोकेको युवालाई अल्पायुमै गुमाउनु पर्दा पार्टी र आन्दोलनमा ठूलो क्षति पुगेको बताउनु भयो ।

उहाँले कमरेड प्रकाशले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान, उहाँले देखेका सपना र अधुरा संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुले पूरा गर्ने र नेपालमा नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरेर छाडिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

कमरेड प्रकाशका ससुरा समेत रहनु भएका पार्टीका कार्यालय सदस्य कृष्णराज पौडेलले भावुक हुँदै कमरेड प्रकाशको क्रान्तिप्रतिको निष्ठा र इमान्दारिता, प्रतिबद्धता र जुझारुपनको बारेमा प्रकाश पार्नुभयो । उहाँले पद, पैसा र प्रतिष्ठाको लागि कहिल्यै आशक्ति नदेखाएको, खुल्ला, स्पष्ट र इमान्दारिता उहाँबाट सिक्नुपर्ने गुणहरुको बारेमा जोड दिनुभयो ।

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, नेकपा (मशाल)का प्रवक्ता रामप्रकाश पुरी, कमरेड प्रकाशका सहपाठी तथा जनता समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्मा लगायतका नेताहरुले पनि कमरेड नारायण सापकोटा प्रकाशको समग्र राजनीतिक तथा सांगठानिक व्यक्तित्वका बारेमा विशेष चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सञ्चालक रामबहादुर बुढाले कमरेड नारायण सापकोटा प्रकाशको संक्षिप्त राजनीतिक तथा सांगठानिक जीवनी प्रस्तुत गर्नुभएको थियो ।