नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो समयमा स्पष्टरुपले क्रान्तिकारी र संसदवादी दुई धारहरु देखिएका छन् । क्रान्तिकारी धारको सबैभन्दा ठूलो पार्टी क्रान्तिकारी कम्युनिष्ट, पार्टी नेपाल र संसदीय धारको सबैभन्दा ठूलो पार्टी एमाले रहेको छ । अन्य पार्टीहरु यिनै दुईधारको वरिपरी घुमिरहेको अवस्था छ । क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरु सही हुनभने संसदवादी धारका कम्युनिष्ट पार्टीहरु एमालेका अध्यक्ष केपी ओलीकै शब्दमा ‘पपुलिष्ट’ अर्थात ‘नाममात्रका’ कम्युनिष्टहरु हुन् । देशका पछिल्ला राजनीतिक घटनाक्रमहरुले उपरोक्त दुई धारका कम्युनिष्ट पार्टीहरुलाई आमने–सामने हुने अवस्था सिर्जनागर्दै लगेको देखिएको छ । किनकी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले देशमा जनगणतन्त्र स्थापनाको नारा दिएको छ र उसले आफ्ना सम्पूर्ण प्रयासहरु त्यसैमा केन्द्रित गरेको छ । क्रान्तिकारीले ०६२ मंसिर सातगते दिल्लीमा भएको १२ बुँदे सहमति, ०६३ मंसिर पाँचगते भएको शान्ति संझौता, संविधानसभाको निर्वाचन, ०७२ को संविधान र त्यसअनुसार नेपालमा लागूगराइएको बिद्यमान राजनीतिक ब्यवस्थालाई अमान्य घोषणा गरेको छ । सो पार्टीले ०७२ को संविधालाई त नेपालमा हाल देखिएका ‘सबै समस्याहरुको जड’नै भनेको छ । क्रान्तिकारीले दोश्रो संविधानसभा र त्यसपछि भएका कुनैपनि निर्वाचनहरुमा भाग पनि लिएको छैन । ०७९ मंसिर चारपछिका गतिबिधिले संसदीय निर्वाचनलाई औचित्यहीन साबित पनि गरेका छन् । क्रान्तिकारीले माओवादी केन्द्रलाई संशोधनवादी र अवसरवादी पार्टी करार गर्नुकासाथै एमालेसहितका संसदीय निर्वाचनमा सहभागि भएकाहरुलाई प्रतिक्रियावादी पार्टी र शक्ति भएको सार्बजनिक घोषणानै गरेको छ ।
अर्कातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूलाई १२ बुँदे सहमति पक्षधरहरुका संगठक बताउँदै आउनु भएको छ । उहाँ ०६३ मा भएको शान्ति संझौतालाई बिथोल्ने कार्यमा तल्लिन रहनु भएको छभने ०७२ को संविधान र त्यस अनुसार स्थापना गराइएको बिद्यमान राजनीतिक ब्यवस्थालाई आफ्नो ठूलो उपलब्धी ठान्नु हुन्छ । संघीयता, जातीय समाबेशी र समानुपातिक निर्वाचन प्रणालीका साथै ०६३ पछि स्थापना गराइएको र ०७२ पछि अभ्यासमा रहेको लोकतान्त्रिक गणतन्त्र क्रमशः संकटमा पर्दैगएको छ । उक्त पूँजीवादी गणतन्त्रको अन्त्य बिना जन गणतन्त्र स्थापना हुननससक्ने भएका कारण पूर्बमाओवादी समूह भएपनि क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र माओवादी केन्द्र क्रमशः आमने–सामने बन्दैगएका छन् । पुष्पकमल दाहालको चरम अवसरवादी प्रबृत्तिका कारण १२ बूँदे सहमतिमा सहभागि भएका तत्कालीन सात संसदवादी पार्टीमध्ये नेकपा (माले) लगायतका पाँच वटा पार्टीले दाहालको साथ छाडिसकेका छन्भने नेकां र एमाले पनि सशंकित अवस्थामा रहेका छन् । एक प्रकारले हालको अवस्था भनेको १२ बुँदे सहमति पक्षधरहरु छिन्न भिन्नहुँदै गएको अवस्था हो । पछिल्लो समयमा कतिपय कोणबाट बाम एकताको जुन नारा अगाडि सार्न खोजिएको छ, त्यो आफैमा भ्रम हो । त्यस्तो भ्रम सिर्जना गर्ने÷गराउने काम मुख्यत केही संसदवादी राजनीतिमा चुर्लुम्म डुबेका र केही त्यसतर्फ आकर्षित बन्दैगएका पार्टीहरुले गरेको देखिएको छ । जस्तो जनयुद्धलाई धोखादिएर एकाएक नेपाली कांग्रेससँग मिल्न पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बेला बखत एकातिर पूर्ब माओवादीका समूहकाबीचमा फेरी एकताको कुरा उठाउने गर्नुभएको छभने अर्कातिर उहाँको प्रयास एमालेसँग सकेसम्म चाँडो पार्टी एकतागर्न पाए हुन्थ्योभन्ने रहेको देखिन्छ । उहाँकै प्रयासमा एमालेसँग फुटाएर बनाइएको एकीकृत समाजवादीले समेत माओवादी केन्द्रसँग पार्टी एकतागर्न इन्कारगर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले हालसम्म पूर्बमाओवादी समूहहरुका बीचमा कार्यगत एकता, सहकार्य र पार्टी एकताका लागि कुनै ठोस प्रस्तावगर्न र पहलगर्न समेत सकिरहनु भएको छैन । उहाँले त्यस्तो प्रस्तावगर्ने नैतिक धरातलसमेत गुमाइसक्नु भएको छ । अब क्रान्तिकारीहरुसँग एकतागर्ने कुरा उहाँका लागि ‘कल्पनाभन्दा बाहिरको कुरा’ भैसकेको छ । उहाँमा बढेको चरम अवसरवादका कारण सत्ता समीकरणमा रहेको एमालेलेसमेत तत्कालका लागि पार्टी एकतागर्ने वा बाम मोर्चा बनाउने कुरालाई इन्कार गरेको छ ।
एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरुले माओवादी केन्द्रलाई कामगर्दै जाँदा संभव भएमा पछिमात्र एकताको कुरा उठाउने भनेपछि अध्यक्ष दाहाल पनि पछिहट्न बाध्य भएको देखिएको छ । यसअघि ०७५ मा एमालेसँग पार्टी एकता गरेर माओवादी केन्द्रले माओवादको सिद्धान्त औपचारिकरुपमा छाड्नुकासाथै एमालेसँग धोखाघडी गरेको थियो । जसका कारण एमाले र माओवादी केन्द्र ०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको एक फैसलालाई ‘बहाना’ बनाएर फेरी अलग भएका थिए । हालसम्म पनि पुष्पकमल दाहालहरुले एमालेसँग सत्ता समीकरण गरेपनि माधव नेपालहरुलाई प्रयोग गरेर धम्क्याउने र तर्साउने काम गरिरहेको देखिएको छ । जसका कारण सत्ता समीकरण फेरी कुनैपनि बेला भंग हुने अवस्था रहेको छ । यसअघिको सत्ता गठबन्धनमा नेकपा(मसाल) उर्फ राष्ट्रिय जनमोर्चा पनि रहेको थियो । तर सो पार्टीलेसमेत कहिल्यै पनि माओवादी केन्द्रको पक्षधरता लिएन । बरु नेपाली कांग्रेसको पक्षधरता लियो र लिइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले पछिल्लो समयमा पार्टी एकताको पहल गरेको नेपाल समाजवादी पार्टीले समेत इन्कार गरेको छ । नेसपाका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रबेशगर्ने तरखरमा रहेपनि सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष दाहालका बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्नुभएको देखिन्छ । जसमा उहाँले दाहाल ‘ज्यादै सत्ता लोलुप’ भएको र सत्ताका लागि जेगर्न पनि तयार रहेको बताउँदै आउनु भएको छ । हालै नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आफ्नो पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पूर्णबैठकबाट आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरेको छ । उक्त बैठकका निर्णय सार्बजनिकगर्न गत साता आयोजित एक पत्रकार सम्मेलनमा नेता चन्दले देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषणगर्दै वामपन्थीबीच फराकिलो मोर्चा निर्माणगर्न बिचार मिल्नेहरुसँग एकतागर्दै जानेगरी बैठकले निर्णय गरेको बताउनु भएको थियो । उहाँको भनाइ पनि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिष्ट पार्टीसँग एउटै कम्युनिष्ट आन्दोलन निर्माणगर्न सकिन्छ कि भन्नेमा बहसगर्ने भन्ने रहेको थियो । उहाँले स्वाधीनताको रक्षाका लागि एउटा वृहत् कम्युनिष्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको पनि बताउनु भएको थियो । उहाँले पनि पत्रकार सम्मेलनकाक्रममा ०७२ को संविधानको परिवर्तन, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत संग्र्रहमा जाने कुराहरु उठाउनु भएको थियो । जसलेगर्दा सो पार्टी पनि क्रमशः माओवादी केन्द्रसहितको समाजवादी मोर्चाबाट अलगहुँदै जानसक्ने संभावनाहरु देखिएका छन् । सो पार्टीले अगाडि सारेका नाराका कारण प्रकारान्तरले क्रान्तिकारी खेमामा मिल्न बाध्य हुने देखिएको छभने संसदीय निर्वाचनमा भाग लिने कुरा उठाएकाले एमालेसँग मिल्ने संभावनाहरु पनि देखिएका छन् ।
सो पार्टीले हालसम्म खुलेरै माओवादी केन्द्रसँग पार्टीगत एकतागर्ने भनिसकेको छैन । महासचिव चन्दले एमसिसी, महँगी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने निर्णय गरेकोसमेत बताउनु भएको छ । त्यसैले सो पार्टी फेरी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालसँग सडक आन्दोलनमा जोडिन सक्ने अवस्था रहेको छ । संसदीय निर्वाचनमा सहभागि भएका नेमकिपा लगायतका अन्य कम्युनिष्ट पार्टीहरु पनि राष्ट्र र राष्ट्रियताको सवालमा बर्तमान सत्ता समीकरणमा सामेल भएका कम्युनिष्ट नामधारी पार्टीसँग सहमत हुनसकेका छैनन् । कम्युनिष्ट पार्टी आफैमा खास दर्शनमा आधारित पार्टी हो । जसका आफ्नै खाले विश्वब्यापि मूल्य, मान्यता र आदर्शहरु रहेका छन् । हरेक बिषय र प्रशंगलाई हेर्ने अलग्गै देष्टिकोणहरु पनि रहेका छन् । त्यसैले ति मूल्य, मान्यता, आदर्श र दष्टिकोणबाट च्युत भएर पनि कम्युनिष्ट पार्टीको लोगो र नाम प्रयोग गरिरहेकाहरु केवल नाममात्रका कम्युनिष्ट हुन् । उनीहरु सही कम्युनिष्ट पार्टीका लागि दक्षिणपन्थी पार्टीभन्दा पनि बढी खतर्नाक हुन्छन् । त्यसैले पछिल्लो समयमा मुख्यत संसदवादी कम्युनिष्ट पार्टीहरुबाट बाम एकता र कम्युनिष्ट पार्टीहरुकाबीचको एकता भनेर जुन भ्रम छर्ने प्रयास भैरहेको छ,त्यसको यथा समयमा भण्डाफोर र प्रतिवाद गरिनु पर्दछ । नक्कली कम्युनिष्टहरुको पर्दा च्यातेपछि मात्र जनसंघर्षले सही बाटो पक्रन सक्दछ । नेपालमा रहेका दुईधारका कम्युनिष्ट पार्टीहरुको भेदकाबारेमा राम्रो जानकारी नभएकाहरुमा अलमल हुनु स्वाभाबिक छ ।