नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७६ बर्ष भएको छ । ७५ बर्ष पारगर्न लाग्दा नेपालको कम्युनिष्ट आन्दोलननै बिभिन्न बिकृति, बिसंगति र भ्रमहरुले घेरिएर रक्षात्मक अवस्थामा पुगेका टिकाटिप्पणीहरु हुनथालेका छन् । कम्युनिष्ट आन्दोलन खास बिचार र दर्शनमा आधारित राजनीति हो । जसका बिचार र संगठन दुईवटा पक्षहरु रहेका छन् । सही बिचार भएनभने संगठन पनि सही तरिकाले अगाडि बढ्दैन भने संगठन सही तरिकाले अगाडि बढेनभने बिचारको रक्षा पनि हुन सक्दैन । उपरोक्त दुई कुराहरुको सन्तुलन गर्न नसक्दा नेपालमामात्र नभएर विश्वभरनै कम्युनिष्ट पार्टीहरु रक्षात्मक अवस्थामा पुग्नेगरेको देखिएको छ । कतिपय कम्युनिष्ट सत्ता स्थापना भैसकेका मुलुकहरुमा ति सत्ता ढलेका इतिहासहरु पनि रहेका छन् । जसमध्ये शोभियत संघको पतनलाई धेरैले उदाहारणका रुपमा लिने गर्दछन् । विश्वमा कम्युनिष्ट सत्ता स्थापना गराउने मुख्यत लेनिन र माओत्सेतुङले बिचार र संगठनकाबारेमा केही प्रस्तावनाहरु स्थापित गर्नुभएको छ । वास्तबिक अभ्यासबाट स्थापित भएका ति प्रस्तावना, मूल्य, मान्यता र आदर्शहरुलाई पछिल्लो पुस्ताले पनि पछ्याउन सक्नु पर्दछ । त्यसमा पनि नेपालमा पहिलो नेपालको कम्युनिष्ट राजनीति स्थापना कालदेखिनै बिवादित रहँदै आएको छ । दोश्रो भूराजनीतिका कारण विश्वभरका साम्राज्यवादी र बिस्तारवादीहरुको आँखा नेपालमा परेको छ । त्यसैले विदेशी हस्तक्षेप मुख्य समस्या भएको छ । तेश्रो नेपालमा पछिल्लो समयमा नक्कली कम्युनिष्टहरुको बिगबिगी चर्कोरुपमा देखापरेको छ । उनीहरुका बिरुद्ध निर्मम संघर्ष र भण्डाफोर अभियान आजको प्रमुख आवश्यकता भएको छ ।
उपरोक्त कुराहरुको हल नगरीकन नेपालको कम्युनिष्ट आन्दोलन सही ढंगले अगाडि बढ्न सक्दैन । नेकपाको स्थापना अप्रिल २२ मा कि सेप्टेम्बर १५ मा भएको होभन्ने कुराको निक्र्योलसमेत हालसम्म हुनसकेको छैन । सबै कम्युनिष्ट पार्टीहरुले आफूलाई बिसं २००६ सालमा स्थापना भएको नेकपाको बिराशत मान्ने गरेपनि खास स्थापनामै बिवाद रहेकाले समाजमा बिभिन्न किसिमका अन्योलहरु रहेका छन् ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुपूर्ब रुसमा अध्ययनगर्न गएका नेपाली बिद्यार्थीहरुले स्वदेशमै बिभिन्न किसिमका भेलाहरु गराएर सामूहिक र औपचारिक रुपमै कम्युनिष्ट पार्टीको स्थापना गराउने प्रयास गरिरहेको अवस्थामा पुष्पलालले एकल प्रयासबाट भारतीय भूमिमा नेकपाको स्थापना गराएको देखिएको छ । नेकपाको स्थापना खासरुपमा २००६ सालको बैशाख १०(२२ अप्रिल) गते कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । जसका संस्थापक पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा नै आफूले नेकपाको स्थापना गरिसकेपछि मात्र पार्टीको निर्णयअनुसार ‘माक्र्सवादी अध्ययन मण्डल’ गठन गरेको उल्लेख गर्नुभएको छ । जुन अध्ययन मण्डलमा हिक्मतसिंह भण्डारी, प्रयागलाल, शमशेर चाँद र केशरजंग रायमाझी सदस्य भएको पनि उहाँलेनै उल्लेख गर्नुभएको छ । नेकपा स्थापनागर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी रहेको भनिए पनि कतिपय ब्यक्ति सशरीर स्थापना कार्यक्रममा उपस्थितनै थिएनन् भनिन्छ । उनीहरुलेसमेत पछिमात्र थाहा पाएका थिए । संस्थापक भनिएकामध्ये भक्तपुरका नारायण बिलास जोशी सरकारी जागिरे हुनुहुन्थ्यो । पुष्पलालले काठमाडौंबाट कलकत्ता पुगेका नेवारहरुलाई मात्र समेटेर पार्टी खोलेको भन्ने आरोप पनि रहेको छ । हाल कतिपय कम्युनिष्ट पार्टीहरुले जातीय सन्तुलनको चर्को नारा दिएका छन्भने नेकपाको स्थापना कालमा जातीय र क्षेत्रीय सन्तुलनसमेत मिलाइएको थिएन । भनिन्छ शुरुमा पुष्पलालबाहेक कोही पनि मार्कसिष्ट स्टडिज सर्कलमा आबद्ध नेपालीहरु नेकपामा थिएनन् । २००६ सालको बैशाख १० मा पार्टी खोलिए पनि यसलाई झण्डै पाँच महिनासम्म गोप्यनै राखिएको पाइन्छ । नेकपाको स्थापनाको औपचारिक जानकारी सोही सालको भदौ ३० अर्थात सेप्टेम्बर १५ मा मात्र बाहिर ल्याइएको थियो । भदौ ३० गते नेकपाको स्थापनाको औपचारिक जानकारीदिँदा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही पनि उपस्थित थिएनन् । त्यसदिन घोषणा गरिएको केन्द्रिय समितिमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह रहनु भएको थियो । तर महासचिव भने पुष्पलालनै हुनुहुन्थ्यो । सो समितिमा रहनुभएका अयोध्या सिंह भाकपाका प्रतिनिधि हुनुहुन्थ्यो । नेकपाको स्थापना गर्नुअघि देखिनै पुष्पलालको भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीसँग सम्बन्ध रहेको र उहाँबाटै माक्र्सवादी शिक्षा लिएर पुष्पलालले पार्टी स्थापना गरेको भनिन्छ । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनमा पछिसम्मनै भारतीय कम्युनिष्टहरुको प्रभाव देखिएको थियो । दोश्रोे समितिमा पनि केशरजंग रायमाझी छुटेको पाइन्छ । पुष्पलाललेनै आफ्नो पुस्तकमा नेकपा स्थापनापछि गौरिभक्त प्रधानमार्फत तुलसीलाल अमात्य पार्टी सम्पर्कमा आएको उल्लेख गर्नुभएको छ । तर, तुलसीलाल दोश्रोे केन्द्रिय समितिमा सदस्यहुँदा गौरिभक्तको नाम उल्लेख गरिएको पाइँदैन ।
पुष्पलालले आफ्नो पुस्तकमा मनमोहन अधिकारीले नरबहादुर कर्माचार्यमार्फत पार्टीसँग सम्पर्क गरेको उल्लेख गर्नुभएको छ । तर, कर्माचार्यको नाम पनि दोश्रोे केन्द्रिय समितिबाट हटेको देखिन्छभने मनमोहन समावेश रहेको पाइन्छ । यसरी नेकपाको स्थापनामै कतिपय अदृश्य गतिविधि देखिएका थिए र नेकपामा बिवादको बीउ रोपिएको थियो । २०१७ सालमा पहिलोपटक कम्युनिष्ट पार्टीभित्रको बिवाद बाहिर आउँदा पनि स्थापना दिवस तथा संस्थापक सदस्यहरुबारेनै किचलो भएको थियो । यो लेखकले नरबहादुर कर्माचार्य र निरञ्जन गोबिन्द बैद्यसँग पटक, पटक जिज्ञासा राख्दा उहाँहरुलेसमेत स्पष्ट जबाफ दिन सक्नुभएको थिएन । २०३५ सालमा स्थापित नेकपा (माले) को प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेजमा पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज थियोभन्ने उल्लेख गरिएको थियोभने त्यसैताका तत्कालीन नेकपा (चौम) का नेता मोहनबिक्रम सिंहले नेकपाका संस्थापक महासचिव पुष्पलाललाई गद्धार साबित गराउन ‘गद्धार पुष्पलाल’ नामक पुस्तकनै लेख्नुभएको थियो । सो बिवादको पनि हालसम्म छिनोफानो भएको छैन । त्यसैगरी २०२८ सालमा झापामा शुरुभएको ‘वर्गशत्रु खतम अभियान’ र ०५२ सालदेखि सञ्चालन गरिएको दीर्घकालीन जनयुद्धको मूल नेतृत्व हाल संसदवादी राजनीतिमा पुगेको छ । दुबै घटनाका कतिपय नायकहरुले कम्युनिष्ट पार्टीनै परित्याग गरिसकेको अवस्था छ । जनयुद्धकालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तीनपटक देशको प्रधानमन्त्रिहुँदा पनि यतिबेला आफैले अगाडि सारेका ४० सूत्रीय मागसमेत पूरा गरिरहनु भएको छैन । बरु उक्त मागका बिरुद्ध गतिबिधि गरिरहेको देखिएको छ । यो पतन किन भयो ? त्यसबारे पनि अध्ययन र छलफल आजको आवश्यकता भएको छ । नेपालमा हालसम्म पनि दर्जनौं कम्युनिष्ट पार्टीहरु रहेका छन् । कम्युनिष्ट पार्टी गठन हुनासाथ कि त निर्वाचनमार्फत सत्तामा पुग्न खोज्ने कि बम र बन्दुक बोकेर हिंसातिर अगाडि बढ्ने गतिबिधिहरु भैरहेका छन् । त्यसको सन्तुलन किन हुन सकेन ? यो पनि खोजीको बिषय भएको छ । माक्र्सवादका आधारभूत प्रस्तावनाहरुमा मालेमावाद, सर्बहारा अधनायकत्व, साँस्कृतिक क्रान्ति, अन्तराष्ट्रिय भाइचारा र बल प्रयोगलाई लिने गरिन्छ । तर पछिल्लो समयमा नेपालका कम्युनिष्टहरुमध्ये कतिपयले बल प्रयोगलाई मात्र प्रमुखता दिएको देखिन्छभने कतिपयले अवसरवादलाई प्रमुखता दिने गरेको देखिएको छ । कम्युनिष्ट पार्टीमा रणनीति र न्युनतम कार्यक्रम पनि मिल्नुपर्छ भन्ने गरिन्छ । तर अधिकांश कम्युनिष्ट पार्टीमा उपरोक्त कुराको तन्तुलन हुनसकेको देखिएको छैन । त्यसैगरी कम्युनिष्ट पार्टीमा असल नेता चुन्ने बिधि पनि आफ्नै किसिमको रहेको हुन्छ । तर त्यसको अभ्यास पनि ठीक ढंगले भैरहेको छैन । लेनिनले पार्टी संगठनमा नेतृत्व चयनगर्दा इमान्दारिता, सक्रियता वा निरन्तरता, समर्पित भावना र रचनात्मक क्षमता वा कार्य दक्षतामा ध्यान दिनुपर्छ भन्नुभएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता, आलोचना, आत्मालोचना, नेतृत्व चयनको विधिको सन्तुलनकारी भूमिका रहेको हुनुपर्छभन्ने मान्यता रहेको छ । तर पछिल्ला दिनमा नेकपाका कम्युनिष्ट पार्टीमा लेनिनवादी संगठनात्मक पद्धतिको अभ्यासमा पनि कमीहरु बढ्दैगएका छन् ।
पछिल्लो समयमा विश्वका कतिपय कम्युनिष्ट पार्टीहरुलेसमेत स्टालिनलाई वामपन्थी संकीर्णवादी कोणबाट आक्रमणगर्न थालेका छन् । कतिपयले विश्व कम्युनिष्ट आन्दोलनका पाँचजना प्राधिकार माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको ब्लकबाट एंगेल्स र स्टालिनको तस्विर हटाउने प्रयास पनि गरिरहेका छन् । नेपालकै कतिपय कम्युनिष्ट पार्टीहरुले कुनैबेला आफ्नो लेटरप्याडमा तीनजनाको तस्विरमात्र प्रयोगगर्ने प्रयास पनि गरेका थिए । त्यो भनेको घुमाउरोपाराले माक्र्सवाद–लेनिनवादमाथिको प्रहार थियो । माक्र्सवादलाई माक्र्स र एंगेल्सको संयुक्त मष्तिष्कको उपज मानिन्छभने लेनिनवादमा स्टालिनको उल्लेख्य योगदान रहेको थियो । माक्र्सवादको भाष्यबाट एंगेल्सको भूमिकालाई नजरअन्दाज गर्ने होभने माक्र्सवाद अपाङ्ग बन्नजान्छ । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको सैद्धान्तिक र संगठनात्मक अस्त्र हो । लेनिनवादको निर्माण र विकासमा पनि स्टालिनको महत्वपूर्ण योगदान रहेको कुरालाई नजर अन्दाजगर्न मिल्दैन । स्टालिनले दर्शन, संगठन, युद्ध, शान्ति र वैज्ञानिक समाजवादको प्रयोग तथा विकासमा ठूलो योगदान दिनुभएको थियो । जुन कुरालाई नेपालका कम्युनिष्टहरुको पछिल्लो पुस्ताले स्मरणगर्न आवश्यक रहेको छ । त्यसैले नेकपाको ७६ औं बर्षगाँठ मनाउँदैगर्दा नेपालको कम्युनिष्ट आन्दोलनको निर्मम समीक्षा हुनु आवश्यक छ । नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिको पुनरगठन गरेर नयाँ ढंगले अगाडि बढ्नु र यसअघिका सबै बिवाद र कमिकमजोरीहरुको निराकरणगर्ने प्रयासगर्नु आज सबै कम्युनिष्ट कार्यकर्ताहरुको दायित्व हो ।