१– कुनै बेला तराईको भूभाग भारतमा मिलाउने योजना भएको खुलासा भारतीय खुफिया एजेन्सीका अधिकारी आरके यादवले एक अन्तवार्तामा गरेका छन् । उनले नेपालमा अहिले बनेको एमाले–माके सत्तारुढ गठबन्धन पनि भारतीय योजनामै बनेको दावी गरेका छन् । उनले अहिले नेपालमा एन्टी–इन्डियन गतिविधि नरहेको पनि बताएका छन् ।
उनले चीन, पाकिस्तान, श्रीलंका, म्यानमार, नेपाल, बंगलादेश जस्ता छिमेकी देशभित्र हुने भारतविरोधी गतिविधिलाई भारतले नजिकबाट हेरिरहेको र त्यस्ता गतिविधिमा संलग्नहरुलाई कारबाही पनि गरेको स्वीकारेका छन् । उनले हालका प्रधानमन्त्री प्रचण्डसँग भारतको पुरानो सम्बन्ध रहेको, ‘प्रचण्ड भारतका पाहुना’ रहेको, एमाले अध्यक्ष केपी ओलीलाई पनि रअका प्रमुख सामन्त गोयलले ‘सम्झाइसकेको’ र अब भारतको विरोधमा ओली, प्रचण्ड लगायत अरु कसैले पनि आवाज नउठाउने उनले दावी गरेका छन् ।
नेपालमा भारतको विरोध गर्ने कम्युनिस्टहरु रहेको भन्दै उनले अहिले सरकारमा भएका कम्युनिस्टहरुको कुनै विचारधारा नरहेको उनीहरुले केवल ‘मौका परस्त’ रहेको दावी गरे । उनले भारतले नेपालमा ‘हिन्दु गणतन्त्र’ चाहेको तर हिन्दू अधिराज्य नचाहेको बताएका छन् । उनले भारतको विरोध गर्नेहरु ‘नबच्ने’ भनेर नेपालका राष्ट्रवादी तथा देशभक्तहरुलाई धम्क्याउन समेत भ्याएका छन् । नेपालमा हुने हरेक राजनीतिक घटनाक्रमका पछि भारतको हात रहेको पनि उनले खुलासा गरेका छन् । उनले रअ प्रमुअ सामन्त गोयलले कै निर्देशनमा पाठ्यपुस्तकबाट चुच्चे नक्सा हटाउन लगाएको पनि खुलासा गरेका छन् ।
२– नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको हालैको एक लेखमा उनले भनेका छन्, ‘केही वर्षअघि बेइजिङको आशीर्वादमा भएको माओवादी र एमालेबीचको एकता नेताहरुबीचको आपसी मतभेदका कारण टुटेको थियो । चिनियाँहरूले यस्तो गठबन्धनलाई पुनर्जीवित गर्न अथक प्रयास गरिरहेका छन् । अहिले यसको फल फलिरहेको छ । यो विकास नेपालको आन्तरिक हो भने पनि यो सबै वामपन्थी दललाई एकताबद्ध गर्ने चिनियाँ लक्ष्यको दिशातर्फको कदम हो । भारतले परम्परागत रूपमा भारत र हाम्रो स्वतन्त्रता आन्दोलनसँग ऐतिहासिक सम्बन्ध रहेको कांग्रेस जस्ता लोकतान्त्रिक पार्टीहरू समावेश भएको सरकारसँग व्यवहार गर्न बढी सहज महसुस गर्दै आएको छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा लेखेका छन्, “यो पार्टीको स्पष्ट वैचारिक अडान नभएको र आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्राविधिकहरू समावेश भएर बनेकोले यो अहिले राजनीतिक प्रक्रियाको हतार–हतारको हिस्सा बनेको छ तर पनि नेपालको वास्तविकता, आन्तरिक र क्षेत्रीय पक्ष दुवैसँग मिल्नुपर्छ । यो पार्टीका नेताहरूले भारतसंगको सम्वन्धका लागि पहुंच पुर्याउन थालेका छन् । उनीहरुले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न भारतसँगको राम्रो सम्बन्ध छ भन्ने महत्व बुझेका छन् ।नयाँ वाम उन्मुख गठबन्धनमा उनीहरूले सम्भावित रूपमा मध्यमखालको प्रभाव पार्न सक्छन् ।यो नयाँ राजनीतिक शक्तिलाई हाम्रा नेताहरूसम्म पहुँच उपलब्ध गराएर भारतको पहुँच उनीहरुसम्म पुर्याउन अपरिहार्य छ । काङ्ग्रेस गुटबन्दी र गन्जागोलमा फसेको तथ्यलाई मध्यनजर गर्दै कुनै पनि भविष्यवाणी गर्नु मुर्खता भए पनि, आगामी चुनावमा राप्रपा झनै महत्वपूर्ण शक्तिका रूपमा देखा पर्न सक्छ भन्न सकिन्छ ।”
३– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रको ‘गुन्जी’मा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन् । नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो । कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ ।
जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो । यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो । नक्सालाई संसदले अनुमोदन गरेको थियो । शिलान्यास अवसरमा सीमावर्ती पिथौरागढ सदरमुकाममा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा भारतका अजय टमटा पिथौरागढ जिल्ला अलमोडा लोकसभा सदस्य सहभागी थिए । उत्तराखण्ड प्रदेशका राज्यमन्त्री गणेश भण्डारी, धारचुलाका ब्लक प्रमुख धनसिंह धामी, पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशी सहभागी पनि सो कार्यक्रममा सहभागी थिए । नेपालको गुञ्जीमा निर्माण गरिन लागेको शिवधामबारे नेपाल सरकार भने बेखबर छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले शिवधाम निर्माण र शिलान्यासबारे आफूलाई थाहा नभएको बताएका छन् । पिथौरागढको शिलान्यास कार्यक्रमका सहभागीले मोदीले शिलान्यास गरेको यो शिवधामलाई हिन्दूहरुको पाँचौं पवित्र धामको रुपमा विकास गर्ने बताएका छन् ।
४– अवकाशप्राप्त भारतीय सेनाका मेजर जनरल तथा नेपाल मामिलाका जानकार असोक मेहेताले प्रचण्ड भारतको सही घोडा भएको बताएका छन् । भारतीय अनलाइन समाचार पोर्टल दि पायोनियरमा एक आलेख लेख्दै मेहेताले भनेका छन्, ‘देउवालाई तबलामा राखेर दिल्लीले समर्थन गर्ने प्रचण्ड सही घोडा हुन् ।’ नेपाल आएर भारत फर्केपछि नेपाल मामिलाको ब्रिफिङ गर्दै मेहेताले यस्तो लेखेका हुन् ।
प्रचण्डले ३२ सिट भएर पनि १३ महिना सरकार चलाएर अहिलेसम्मका तीन कार्यकालको सबैभन्दा लामो समय प्रधानमन्त्री हुन पाएको भन्दै मेहेताले प्रचण्डले एमालेसँग मिलेर सरकार बनाएमा चीनलाई सजिलो हुने बताएका छन् । उनले चीनको प्रसंग पनि जोडेर सन २०१९ मा चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणमा भएका २० सम्झौतामा कुनै पनि कार्यान्वयन नभएको तथा सन २०१६ मा भएको पारवहन सन्धिका बाबजुद चीनबाट एक लिटर इन्धन नआएको बताएका छन् ।
५– यसैबिच, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक अस्थिरता र संसदीय व्यवस्था नै समस्याको प्रमुख जड भएको बताएका हुन् ।
संसदीय व्यवस्था भएका विश्वका अरु देशहरुमा संसदीय प्रणालीमा दलको बहुमत हुने र सत्ता संचालन गर्ने भए पनि नेपालमा संसदीय प्रणालीमा पार्टीहरुले बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको परिणाम एकातिर अराजकता र अर्कोतिर निरङ्कुशता देखा परेर अस्थिरता उत्पन्न हुने गरेको उनले प्रष्ट पारे ।
‘अरु देशमा संसदीय प्रणालीमा पार्टीको बहुमत हुन्छ तर नेपालमा खासगरी किन यो संसदीय व्यवस्था अत्यन्तै अस्थिर छ भने यहाँ कसैको बहुमत हुन सक्दैन ।’ उनले भने, ‘संसदीय व्यवस्थाभित्र स्थिरता दिन कोसिस गरे पनि त्यहाँ कुनै पनि हालतमा बहुमत हुदैन, भइहाल्यो भने पनि नेपालको जुन अर्थ प्रणाली छ, आर्थिक आधार या उत्पादन सम्बन्ध छ, त्यसले अराजकता र निरङ्कुशता नै पैदा गर्छ । नेपालमा यो प्रकारको राजनैतिक चरित्र छ ।’
अहिले नेपालमा १५ महिनाको अवाधिमा ३ पटक सत्ता समीकरण परिवर्तन भएको उदाहरण दिंदै उनले भने, ‘यो अस्थिरताको पराकाष्ठा हो ।’ सत्ताधारी दलहरु नै यो व्यवस्थाले हुँदैन भन्दै भाषण गर्ने र फेरी पनि त्यहि व्यवस्थाभित्र कुर्सी टिकाउन र विदेसी शक्तिलाई खुसि पार्न नयाँ नयाँ समीकरण बनाउनमै लागिरहेको उनको भनाइ छ । साथै भोलि हेरौ, पर्सी हेरौ भनेर या कामना गरेर यो अवस्था सुध्रिन नसक्ने भन्दै उनले यो व्यवस्थालाई नै आमुल परिवर्तन गर्न र संसदीय व्यवस्थाको पूर्णरुपले अन्त्य गर्न जरुरी रहेको प्रष्ट पारे ।
पछिल्लो चरणमा देशको स्वास्थ्य, शिक्षा, सांस्कृतिक मुल्यमान्यता, मानवीय जीवन चक्र र उत्पादन पद्दतिलगायतका सबै क्षेत्रमा केहि मुट्ठीभर मान्छेहरुको सिन्डिकेट र कर्टेल चलिरहेको समेत उनले ठोकुवा गरे । ‘यहाँ १२र१३ वटा ग्रुपहरु छन्, जस्तै सिजी ग्रुप, गोल्छा ग्रुप, सांघाई ग्रुप भन्ने छ, यी र यस्तै ग्रुप्रहरुको सम्पतिमाथिको करिब ७५ प्रतिशतभन्दा बढी होल्ड उनीहरुको कब्जामा छ ।’ उनले भने– ‘देशका उद्योग, व्यापार, बैङ्किङ, जमिन, स्वास्थ्य, शिक्षा क्षेत्र, उड्ड्यान क्षेत्र, कर्मचारी (नोकरशाही) क्षेत्र (न्याय र सुरक्षा प्रणाली) लगायतका क्षेत्रभित्र यी १२१३ वटा ग्रुपहरुको सिन्डिकेट छ । अरु कोहि नेपाली त्यहाँ छिर्न सक्दैन, यदि छिरिहालेछ भने पनि त्यसले स्वाभिमान तरिकाले काम गर्न सक्दैन र उ पनि त्यहाँ हिस्सेदार बन्छ ।’
साथै नेपालको संसदीय राजनीति पनि अहिले यस्तै ग्रुपहरुको प्रभावमा रहेको प्रष्ट पार्दै नेता कञ्चनले जनप्रतिनिधि भएर त्यहाँ गएको मान्छे पनि लाचार बनेर जनतालाई छक्याउने र झुक्याउने खेलमा लाग्ने गरेको बताए । प्रचण्डले अहिले वाम एकताको कुरा गरेको प्रसंग निकाल्दै नेता कञ्चनले सोधे – ‘के हो त्यो वाम एकता भनेको– त्यो वाम एकता भनेको संसदवादीहरुको एकता हो जसले आउँदो चुनावमा भोट जम्मा गरेर मलाई सहयोग गरोस भन्ने उदेश्यबाहेक अरु केहि होइन ।’
४ बर्षपछि हुने चुनावको प्रचारमा दलहरु अहिले नै लागेको भन्दै यो अवस्थालाई उनले व्यवस्थाको संकटको संज्ञा दिएका छन् । अहिलेको सरकार बनेपछि देशमा नोकरशाही दलाल पुँजीवादको पूर्णरुप देखिएको र यहि कारण देश सकिने अवस्थामा पुगेको उनले बताए ।
तसर्थ यस प्रकारको अवस्था अन्त्य गर्न राजनीतिक परिवर्तन अपरिहार्य भएको उनको तर्क छ । ‘दलालका बिरुद्ध संघर्ष छेडेर देशभक्त जनवादी तथा क्रान्तिकारीहरुको सरकार बनाउनु पर्यो, संसदमा नभएका सबै पार्टीहरु जसले संसदीय व्यवस्थाको बिरोध गर्दछन र राष्ट्रिय स्वाधिनता चाहन्छन, यो संविधानको अन्त्य चाहन्छन र राष्ट्रिय पुँजीको बिकास र रक्षा चाहन्छन र जसले परिवर्तन चाहन्छन ति सबै पार्टीहरु मिलेर सडकबाट देशभक्त जनवादी तथा क्रान्तिकारी सरकार बनाउने र सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने प्रकृयाको बिकास गर्नुपर्यो ।’
कार्यक्रममा चिरण पुन, लोकनारायण सुवेदी, आर बी भन्डारी, अच्युत ज्ञवाली, राजु नेपाली, रतन भन्डारीले अन्तरक्रियाको विषयवस्तुमाथि आफ्नो धारणा राखेका थिए । नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीले आधार पत्र प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता चिन्तामणि शर्माले र सञ्चालन नारायण शर्माले गरेका थिए । कार्यक्रममा मनु विकले स्वागत मन्तव्य राखेकी थिइन् भने उदय रिजालले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
६– गठबन्धन फेरबदल– भारतीय गुप्त योजनाको परिणाम : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ताले एक प्रेस विज्ञप्तिमार्फत् सो पार्टीको धारणा सार्वजनिक गरेका हुन् । प्रेस–विज्ञप्तिमा विकसित राजनीतिक घटनाक्रम र परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै संसदीय व्यवस्थाभित्र गठबन्धन भत्काउने र बनाउने खेलमा दिल्लीकै गुप्त योजना भएको हुन सक्ने आशंका गरिएको छ ।
विज्ञप्तिमा संसदीय व्यवस्थामा जुनसुकै व्यक्ति सरकारमा गए पनि देश र जनताको अवस्थामा परिवर्तन नआउने र त्यसका लागि यो संसदीय व्यवस्था नै परिवर्तनको आवश्यकतामाथि जोड दिंदै भनिएको छ, “संसदवादी शासकहरु, दलाल पुजीवादी लुटेराहरु, विदेशी मालिकका चाटुकारहरु, साम्राज्यवादी/विस्तारवादी शक्तिका नेपाली एजेन्टहरुका कुनै प्रचारवाजी र भ्रमहरुमा नपरी नेपाली जनतालाई सबै प्रकारका प्रभुत्वबाट मुक्त गर्न, संसदवादी सत्तामा आएको संकटलाई पन्छाउने प्रपन्चको रुपमा सरकार परिवर्तनको नौटङ्कीको भ्रमबाट मुक्त रहन, देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गरी देशको राष्ट्रियता, जनतन्त्र, जनजीवीका सम्बद्ध समस्या समाधान गरी जनगणतन्त्र/वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नका लागि यस प्रकारको अस्थायी संयुक्त सरकार निर्माणको बाटोमा अगाडि बढ्न सबै देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी नेपाली राजनीतिक पार्टीहरु, नेपाली मध्यमवर्ग, मजदुर, किसान, सेना, प्रहरी, महिला, उत्पीडित जात र जातिका जनसमुदायहरुमा हाम्रो पार्टी हार्दिक अपील गर्दछ । निश्चित रुपमा यस प्रकारको सरकार अस्थायी हुनेछ र यसले दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गर्दै देशमा नयाँ संविधान निर्माण गरी जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर लैजाने छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“नेपाली राजनीतिमा सरकार बनाउने गठबन्धन फेरबदललाई संसवादी पार्टी र नेताहरुले जति स्वाभाविक प्रक्रियाको रुपमा लिने गरेका छन् त्यो भन्दा धेरै यसले नोकरशाही दलाल संसदीय राजनीतिक व्यवस्थामा स्वाभाविक रुपमा पैदा हुने अस्थिरतालाई अभिव्यक्त गरेको छ । संसदीय चुनावपछि सरकार बनाउँदै दुई पटक बदलिएको गठबन्धन सरकार चलेको एक वर्षमा भत्किएको छ र नयाँ गठबन्धन बनेको छ । यसरी पुरानो गठबन्धन भत्कनु र नयाँ बत्रुको कारण सतहमा कोशी प्रदेशको समीकरण नमिल्नु, माकेको राष्ट्रियसभाको उमेदवारलाई काङ्ग्रेसले भोट नदिएर हराउनु र राष्ट्रियसभामा काङ्ग्रेसको उमेदवारलाई माकेले समर्थन नगर्नु देखिए पनि नेपालको राजनीतिमा विदेशीहरुको हस्तक्षेप र प्रभाव भएको देखा पर्छ ।
नेकपा (माके) र काङग्रेस गठबन्धन बनेपछि नेपाली राजनीतिले धेरै कोल्टे फेरेको छ । द्वन्दात्मक भौतिकवादी दर्शन र समाजवादी सिद्धान्त बोकेका कम्युनिस्ट नेताहरु कोहीले राम मन्दिरको कथा बनाउने र कोही बालेश्वर मन्दिर हुँदै पशुपतिमा जल चढाउने अवस्थामा पुगे । कुर्चीको रक्षा गर्नका लागि होस् या “सुखद भविष्यको” सुनिश्चित गर्न होस्, देशको संविधानमा लेखिएका “सार्वभौमसत्ता सम्पत्र” वाक्यांशलाई धरापमा पार्ने गरी भारत सरकारले नेपालभित्र सिधै खर्चगर्ने व्यवस्थामा तत्कालीन प्रधानमन्त्री सुर्य बहादुर थापाले सुरुगरेको १ करोडलाई बाबुरामको सरकारले ५ करोड बनाएको थियो र प्रचण्डको गठबन्धनले २० करोड बनायो । राष्ट्रिय सुरक्षालाई “पशुपतिकै भरोसामा” छाडेर देशका ४ओटै अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई पीपीपी मोडेलमा संचालन गर्नदिने निधो भइसकेको छ । केपीसँग भएको पार्टी एकता र गठबन्धनले केबल भारतलाई अरुण तीन लगायतका नदीहरु हातपारेको मात्र थिएन, नयाँ नक्सा पारित गरेको सकारात्मक सन्देशभित्र एमसीसी पारित गर्ने र रुस युक्रेन युद्धमा अमेरिकी साम्राज्यवादलाई समर्थन गर्ने नीति बनायो । भारतको आगामी चुनावमा मोदीनै प्रधानमन्त्री हुने अवस्थामा नेपालमा जनमत संग्रह गराई धर्मनिरपेक्ष गणतन्त्रलाई “हिन्दु गणतन्त्रमा” बदल्ने सहमति भएको भत्रे चर्चा भइसकेको छ । भारतमा हुने चुनावपछि पशुपतिको बसाहाले कुन पक्षमा करवट बदल्ने हो भविष्यमा देखिने छ ।
गरिब नेपालीको अन्तर्राष्ट्रिय विज्ञापन गर्दै लगानी सम्मेलन गर्ने र दलाइ लामासहित “शान्तिका लागि” नोवेल पुरस्कार पाएकाहरुलाई लुम्बिनीबाट सम्बोधन गराउने योजना सरकारले बनाएको चर्चा थियो । अन्तर्राट्रिय खिचातानी र तनावका बीच त्यो पनि टाय–टाय फिस भएको रिपोर्ट आउँछ ।
दक्षिण एसियामा कतै भ्रमण नहुँदै गत जुनमा चिनिया व्यापारी ज्याक मालाई नेपाली अन्तर्राष्ट्रिय विमानस्थलमा सत्कार गरेको फोटो प्रचार गरेपछि चौधरी ग्रुपका सदस्यलाई २८ वर्ष अगाडिको छाला जुत्ता कारखाना जमिन घोटाला निकालेर हिरासतमा राखियो । चौधरी समुहका व्यापारीबाटै बनेका माननिय सांसदले चीनले बनाइरहेको चितवन बुटवल खण्ड बाटोमा भएको ढिलाइको आलोचना गरेको २ दिनपछि उनलाई रिहा गरियो । त्यस्तै प्रकारको घोटालामा गिरफ्तार भाटभटेनीका मालिक अहिले पनि जेलमै रहेका छन् । जमिन हिनमिना, करछली, सार्वजनिक सम्पत्तिको अपचलन जस्ता विषयहरुमा सरकारले उठाएका कतिपय कदमहरु जायज हुँदाहुँदै पनि उस्तै उस्तै मुद्दामा कोही जेल बस्ने र कोही रिहाइ हुनुले कोही पनि कार्बाही आन्तरिक सरकारी योजनामा नभएर विदेशी इसरामा मात्र क्रियाशील भएको देखापर्छ ।
सरकार चलाउनका लागि गठबन्धन बत्रु र बदलिनु मुलत: नेपालको दलाल संसदीय राजनीतिक व्यवस्थाको अस्थिर चरित्रको परिणाम हो । तर यो परिणाममा नेपाली जनता र पार्टीको भुमिका भन्दा विदेशीहरुको खेलमेलनै प्रमुख देखिने कैयौ तथ्यहरु देखिन्छन् । भारतीय कुटनीतिज्ञ अशोक मेहताले १४ फरवरीमा ूक्तष्िि, ायच म्भजिष्, एचबअजबलमब ष्क तजभ चष्नजत जयचकभ तय दबअप धजष्भि पभभउष्लन म्भगदब ष्ल तजभ कतबदभि.” अथवा, “दिल्लीका लागि देउवालाई तबेलामा राखेर चढ्नका लागि सही घोडा प्रचण्ड हुन्” भनेर द पायोनियरमा लेख्ने र ४ मार्च अथवा १९ दिनपछि देउवालाई छाडेर प्रचण्ड केपी गठबन्धन बत्रुले बच्चाहरुले बालुवाको घर खेलेझैं नेपालको गठबन्धन भत्काउने र बनाउने खेलमा दिल्लीकै गुप्त योजना कार्यान्वयन भएको त होइन भत्रे प्रसस्त ठाउँ रहेको छ ।
यस प्रकारको राजनीतिक खेलबाट कुनै पनि संसदवादी पार्टी तथा नेताहरु न त अछुत रहन सक्छन, न त्यसको प्रभावबाट मुक्त रहन । त्यसलाई संसदीय व्यवस्था भित्रैबाट सच्याउन खोज्नु भनेको भैँसीको गर्भबाट हात्ती जन्माउन खोज्नु जस्तै हो । नेपाली राजनीतिको वर्तमान अवस्थालाई समाधान गर्ने ऐतिहासिक कदम भनेको देशभक्त, जनवादी क्रान्तिकारी शक्तिहरु सम्मिलित अस्थायी संयुक्त सरकारको गठन हो, जुन हाम्रो पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले प्रस्ताव गरेको छ ।
संसदवादी शासकहरु, दलाल पुजीवादी लुटेराहरु, विदेशी मालिकका चाटुकारहरु, साम्राज्यवादी/विस्तारवादी शक्तिका नेपाली एजेन्टहरुका कुनै प्रचारवाजी र भ्रमहरुमा नपरी नेपाली जनतालाई सबै प्रकारका प्रभुत्वबाट मुक्त गर्न, संसदवादी सत्तामा आएको संकटलाई पन्छाउने प्रपन्चको रुपमा सरकार परिवर्तनको नौटङ्कीको भ्रमबाट मुक्त रहन, देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गरी देशको राष्ट्रियता, जनतन्त्र, जनजीवीका सम्बद्ध समस्या समाधान गरी जनगणतन्त्र/वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नका लागि यस प्रकारको अस्थायी संयुक्त सरकार निर्माणको बाटोमा अगाडि बढ्न सबै देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी नेपाली राजनीतिक पार्टीहरु, नेपाली मध्यमवर्ग, मजदुर, किसान, सेना, प्रहरी, महिला, उत्पीडित जात र जातिका जनसमुदायहरुमा हाम्रो पार्टी हार्दिक अपील गर्दछ । निश्चित रुपमा यस प्रकारको सरकार अस्थायी हुनेछ र यसले दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गर्दै देशमा नयाँ संविधान निर्माण गरी जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर लैजाने छ ।”
वर्गदृष्टि सापताहिक बर्ष ८ अंक ३३ बाट साभार