अनुभूति र धारणा
*** ***
हरेक वर्ष जस्तै यस वर्ष पनि स्वस्थानी कथा वाचन शुरु भएपछि फेसबुकमा एउटा भिडियो देखेँ । जसमा महिला हिंसा विरुद्ध लेख लेख्ने र अभियानहरूमा सामेल हुने गरेकी चिनारूले धूप–दीप र फलफूल थालीमा राखेर ब्याचलर पढ्दै गरेकी छोरीले कथा पढ्दै गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । पढालेखा वर्गले स्वस्थानी कथा वाचन परम्परालाई बिना सुझबुझ यसरी अवलम्बन गरिरहेको देखिसकेपछि त्यसैमा केहीबेर अडिएँ र मनमा उब्जिएको जिज्ञासालाई पोष्ट गरेँ । जसमा– ‘आफ्ना बालबालिकालाई अझ पनि सतीदेवीले अग्निकुण्डमा गरेको आत्मदाह, गोमाको बालविवाह र वृन्दाको बलात्कारलाई मान्यता दिएको स्वस्थानी कथालाई ‘पवित्र’ भन्दै वाचन गर्न लगाउने वा वाचन गरेर प्रशिक्षित गर्ने अविभावकहरूबाट महिला मुक्तिको प्रसङ्गमा लेख र अभिव्यक्तिहरू पस्किएको देख्दा, सुन्दा हजुरहरूलाई कस्तो लाग्छ ?’ भन्ने जिज्ञासा व्यक्त थियो ।
जुन जिज्ञासामाथि स्वाभाविक रूपमा सकारात्मक नकारात्मक दुबै किसिमका धारणाहरू आए । प्रतिक्रियाहरूमाथि मेरो सम्मान छ । समाजमा विद्यमान प्रचलनहरूमाथि यसरी छलफल हुनु सहि वा गलत के भइरहेको छ समीक्षा हुनु र गलत प्रचलनहरूलाई सचेतनापूर्वक सच्याउँदै अघि बढ्नु मानव जीवनको विकासशील सिद्धान्तभित्र नै पर्दछ ।
हाल प्रचलनमा रहेको स्वस्थानी कथा ठ्याक्कै कुन समयमा कसले लेखेको भनेर निक्र्योल नभएता पनि सोह्रौँ शताब्दीतिर नेपाल भाषामा लेखिएको र अठारौं शताब्दीपछि नेपाली भाषामा प्रकाशन गरिएको भन्ने भनाइ रहेको पाइन्छ । नेपाली भाषामा लेखिएपछि घरघरमा वाचन गर्न थालिएको स्वस्थानी कथाले महिलामाथि दकस, दमन र दलनसहितको पारिवारिक शासन व्यवस्था कायम गरायो, जुन व्यवस्थाले हाम्रा आमा पुस्तासम्म नराम्ररी प्रभाव पार्न सफल भयो । त्यो त हाम्रो पुस्ताले राम्रैसँग अनुभूत गरेको र देखे सुनेकै कुरा हो । त्यो परिस्थिति कसरी निर्माण गरियो र त्यो भूमरीबाट कसरी आजको पुस्ता बाहिर निस्किँदैछ भनेर घोत्लियौँ भने हाम्रा अगाडि दुईवटा परिदृश्य प्रष्ट रूपमा देखा पर्दछ । एउटा– हतार हतार साँझको भान्छाबाट उम्किएर बत्ती कात्दै स्वस्थानी कथा सुनिरहेका आमा, हजुरआमा, फुपू, काकी, दिदीहरूको समूह र अर्को– घाँसको भारी फ्यात्त पारेर हतार हतार गाँस टिप्दै स्कुल कुदेका नानीहरू ।
जब नानीहरू स्कुल पुग्ने वातावरण बन्यो तिनै नानीहरूले थाहा पाउन थाले सबै मानवले बाँच्ने आधार यौटै रहेछ ।
मानव मानवमा फरक रहेनछ । स्वस्थानी कथा सुनेरै स्कुलसम्म पुगेका नानीहरूले बुझ्न थाले यी सब वाह्यात रहेछन् । महिलालाई कजाउन तयार पारिएको भावनात्मक कथा रहेछ ।
फलस्वरूप स्वस्थानी कथामाथि प्रश्नहरू गर्न थालियो । भरपर्दो प्रतिउत्तर नभेटिए पछि नै हो अझै स्पष्टसँग प्रश्न उब्जिएको पनि ।
शिक्षा र प्रविधिको गुन्जायससम्म नभएको समयमा महिलामाथि शासन चलाउन जे जे कथेर सुनाए घोकाए त्यसैलाई सत्य मानियो । नमान्लान् भनेर अनेक डर त्रास देखाउन हुँदै नभएको लोक (रलोक)को समेत कथा बनाए, सुनाए । वर्षै पिच्छे सुनाए र मान्न बाध्य बनाइए । परलोकको भयङ्करताबाट बच्न पनि महिलाहरू कथाको अनुशरण गर्न थाले । फलस्वरूप हाम्रो पुस्तासम्म पनि सबै तह र तप्काका महिलाले निर्धक्कसँग शीर उँचो पारेर हिड्न, बोल्न र सङ्घर्ष गर्न नसकिरहेको यथार्य हाम्रो सामु छ ।
हाम्रो पुस्ताभन्दा अघिल्लो दुई पुस्ता अर्थात् आमा र हजुरआमा पुस्ताको दैनिकीबाट हामी प्राय: अनविज्ञ छैनौँ । न्यूनतम अठार उन्नाइस घण्टा काममा निरन्तर दलाउनु, पेटभरि खानबाट बन्चित गरिनु, मीठो मसिनो र पोसिलो घरमुलीमा सीमित गराइनु सामान्य नै थिए । रूखोसुखो पनि ‘खटाएको मात्रै खानू आफै झिकेर नखानू’ भन्ने मान्यतालाई स्थापित गराउन स्वस्थानीमा कथियो र हरेक वर्ष सुनाइयो ‘लुकाएर खाए कुकुर्नी हुन्छे’ यो वाक्यले आमा र फुपूहरूसम्म भोकभोकै कजायो र भोकभोकै मरायो पनि ।
महिलालाई हर प्रकारले कमजोर बनाएर शासन गर्ने कला त रचिए तर उनीहरूबाट विद्रोह होला भन्ने डर पनि साथै थियो । र त कथामै घुसाए ‘लोग्नेलाई आँखा तरे मात्र पनि डेरी हुन्छे, झर्केर बोले लाटी हुन्छे, भकभके हुन्छे, पापिनी हुन्छे’ । स्वस्थानीमा यसरी सांस्कारिक औजारहरू निर्माण गरियो र वर्षैपिच्छे तिथि तयार गरेर धार लगाउन अनिवार्य आरन थाप्नु पर्ने नियम बसाइयो । जस अनुसार नगरेमा पापको कुण्डमा डुब्नुपर्ने चेतावनी पनि कथामा नै घुसाएर कण्ठ बनाइयो । ‘पूर्वजन्मको भाग हो जस्तो पर्छ त्यस्तै भोग’ भनेर सहन सिकाइयो । महिलामाथि अन्याय, अत्याचार, बलात्कार भगवानको पालामा पनि थियो यसो हुनु सामान्य हो भनेर प्रशिक्षित गरियो । परिणामत: आफूमाथि जस्तोसुकै व्यवहार भए पनि ‘भाग्को खेल’ भनेर सहेर मरेतूल्य भएर महिलाहरू गुज्रिरहे । स्वस्थानीले स्थापित गरिदिएको मान्यता अनुरूप जतिसुकै कुकार्य गरे पनि पुरूषहरू पुज्य बनिरहे ।
स्वस्थानीभित्र मुख्य प्रसङ्ग छ गोमाको । शिव भट्टकी सात वर्षीय छोरी गोमाको बिहे सत्तरी वर्षका शिव शर्मासँग हुन्छ । यो परिघटना वर्गीय द्वन्द्वसँग सम्बद्घ छ । सामान्य व्यक्ति शिव भट्टको समृद्धि र चर्चा देवगणलाई सैह्य हुँदैन । उनीहरूमा छलफल हुन्छ । शिव भट्टको सर्वनास गराएर आफ्नो तेजत्व कायम गराउने योजना बन्छ । योजना मुताविक गोमाको बिहे रोगी बूढोसँग हुन्छ । रूख चढेर छोरी गएको हेर्दै गर्दा हाँगा भाँचिएर बाबुआमाको निधन हुन्छ । उता बूढा शिव शर्माको पनि निधन हुन्छ । गोमाले अथाह दु:ख पाउँछे । यता देवगणहरू सफल हुन्छन् । यसले के देखाउँछ भने सामान्य वर्गको सुख शान्ति र शौर्य उच्च वर्गलाई पाच्य हुँदैन । उनीहरूको क्षती गराएर मात्रै उच्च वर्गले चैनको श्वास फेर्दछन् । ‘देवता’ अर्थात् उच्च वर्गबाट गरिने जाल झेल छल कपट र अन्याय अत्याचारलाई क्षम्य र निम्न वर्गको कला कौशल र समृद्धि असैह्य हुने परिपाटी उसै कथामा स्थापित गराइएको छ ।
स्वस्थानी कथाभित्र मानव कल्याणका निम्ति प्रामाणिक ज्ञान सूक्ष्म रूपमा खोज्दा पनि भेटिँदैन । छ त केवल ठुलाले सानालाई कसरी हराउने, राम्री महिलालाई कसरी उपभोग गर्ने, अर्काकी श्रीमती कसरी चाख्ने, महिलामाथि अमानवीय व्यवहारलाई कसरी स्थायित्व दिने जस्ता अर्ती र उपदेशहरू छन् । पुरूषहरूमा विकृत मानसिकता र महिलाहरूमा हीन मानसिकताको बिजारोपण देखि वृद्धि विकास गर्ने मानवविरोधी कथा कुथुङ्ग्रीको सङ्गालो हो स्वस्थानी कथा । त्यसैले हुनसक्छ स्वस्थानीका लेखकले आफ्नो नाम लेख्ने आँटसम्म गरेनन् । त्यै ‘बतासे कथा’को पछि लागेर पाँच सय वर्ष भन्दा बढी पीडादायी जीवन गुजारे नेपाली महिलाहरूले तर अब समय बद्लिएको छ । अबको पुस्ता पङ्गु बनेर जे पायो त्यै पत्याउने पक्षमा छैनन् । अबको पुस्ताले आधार र प्रमाण बिनाका विषयमा पत्यार मान्दैन । हजुरआमा आमा पुस्ताले झैँ अहिलेका नानीहरूले स्वस्थानी कथालाई गम्भीरतापूर्वक लिँदैनन् । अनुशरण गर्दैनन् र आमा हजुरआमाको झैँ कमजोर मानसिकता बोकेर पनि हिड्दैनन्, हिड्नु पनि हुँदैन । किनकि उनीहरू विज्ञानका नजिक छन् । महिलालाई पङ्गु बनाएर पुस्तौँ पुस्ता आफ्नो अनुकूल कजाउन सकियोस् भनेर स्वस्थानी कथालाई दरिलो माध्यम बनाइएको कुरा आजका पुस्ताले बुझिसकेका छन् । हुनसक्छ केही प्रतिशतलाई परम्पराको धङधङीबाट निस्किन कठिन परिरहेको तर देखासिखीले धानेको यो परम्परा अबको नातिनी पुस्तामा पुग्दा दन्ते कथामा परिणत हुन नसक्ला भन्न सकिँदैन ।
महिलालाई कमजोर, निरीह र तुच्छ सावित गर्न पितृसत्ताले ठुलो मेहनत र लामो समय लगानी गर्यो तर त्यसलाई गलत सावित गर्न चाहने हो भने अहिले एउटा मात्रै पुस्ताले कायापलट गर्न सम्भव भएको अवस्था छ तर मेरो पोष्टका कमेन्टहरू हेर्दा– विडम्बना, कतिपय शिक्षितहरूलाई पनि कथाले नै जेलिरहेको भान हुन्छ ।