शनिबारीय साहित्य : साहित्यिक टिप्पणी
*** ***
एक साँझ डा. कृष्णराज अधिकारीले मेरो मेसेञ्जरमा एउटा निम्तो पत्र पठाउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिवको नामबाट वितरण गरिएको सो निम्तो पत्रमा लेखिएको रहेछ ‘नेपाली बाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२२औँ जन्मजयन्तिका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन शास्त्र विभागद्वारा आयोजना गरिने माक्र्सवादको सान्दर्भिकता विषयक विचार गोष्ठिमा उपस्थिती’ भनेर निम्ता गरिएको थियो । निम्ता पत्र पढेर एकछिन गम खाएँ ।
गणतन्त्र आयो भनिएको यो युगमा नेपाल प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका गणतान्त्रिक प्राज्ञहरूमाथि आलोचना गर्ने ध्येय त मेरो होइन तर विषयको सन्दर्भले घोचेपछि केही टिप्पणी आवस्यक छ भन्ने लाग्यो ।
माक्र्सवाद एउटा विज्ञान हो । दर्शन हो र समाज बदल्ने अजेय शक्तिको रूपमा रहेको दृष्टिकोण हो । माक्र्सवादको सार्वभौम चर्चा गरिनु सान्दर्भिक कार्य पनि हो तर निम्ता पत्रमा उल्लेख गरिएका सन्दर्भले भने सङ्गती नमिलेको जनाउँछ । माक्र्सवाद उत्पादनका माध्यमबाट वर्ग विहीन समाज निर्माण गर्ने एक शक्तिशाली विज्ञान हो । यस्तो विज्ञान नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश पाउनु उपलब्धिपूर्ण विषय त हो नै तर सन्दर्भको मिलान भने पटक्कै देखिदैन । हुन त वस्तुको चरित्र उसको जन्म र विकाससित सापेक्षतामा बुझ्नु पर्दछ । अहिले गठन गरिएको प्रज्ञा वर्तमान सत्तासित पनि जोडिएको छ । अहिले सञ्चालन भैरहेको राजकीय सत्ता घुन र घुर्यान मिलेको समन्वयको डोको हो भन्ने कुरामा कुनै दुबिधा छैन र प्रज्ञा पनि त्यो भन्दा फरक छैन । पहिलो कुरा प्रज्ञा प्रतिष्ठान सत्ता नजिकका लेखक महोदयहरूलाई घाम तापी बसेर सजिलोसँग घरको चुलो बाल्ने जोहो जुटाउने एउटा थलोको रूपमा विकास हुँदै आएको छ भन्ने टिप्पणी धेरै पहिलेदेखि चल्दै आएको मान्यता हो । यसको गठनदेखि वर्तमानसम्म आइपुग्दा महेन्द्रीय धङ्धङी बाँचे बसेकै भान हुन्छ र यसको पुष्टि यो निमन्त्रणाबाट पनि हुन्छ । अहिले सारमा जे भनिए पनि रूपमा लोकतान्त्रिक गणतन्त्रको दुहाइ दिइएको छ ।
विगतको गणतान्त्रिक आन्दोलनमा थुप्रै कवि लेखक कलाकारहरूको बलिदानी भएको सत्य हाम्रा सामु छ । तिनका सिर्जना त्याग र बलिदानसित प्रज्ञा प्रतिष्ठानले कुनै साइनो राखेको छैन । भलै गणतान्त्रिक काल पुर्व पनि नेपाली समाज रूपान्तरणका लागि सिर्जनरत केही अगुवाहरू थिए उनीहरू बारे पनि प्रतिष्ठान बेखबर जस्तै छ तर यसपटक भने माक्र्सवादमाथिको विमर्श बालकृश्ण समको जन्म जयन्तिको सन्दर्भ पारेर किन आयोजना गरियो होला यस पङ्क्तिकारको चित्तले भेउ पाउनै सकेन । के बालकृष्ण सम माक्र्सवादी चिन्तनका आधारमा सिर्जना गर्ने सर्जक थिए ? होला उनी राणा बिरोधी चेतनाका एक पात्र थिए र उनले सामाजिक विषयमा गीत कविता र नाटक लेखे । बालकृष्ण समले आफ्नो नाम पछाडिको सम मात्र राखेर शेर जङ्ग बहादुर राणा हटाएर जनता सरह बनेका हुन् भनिन्छ तर उनी राणा खानदानकै लेखक हुन् । माक्र्सवादसित उनको कहाँनेर साइनो हुँदो हो ?! उनको तिथिमा त उनकै गुणगान पो गाउनु पर्दथ्यो । बिश्वभरिबाट माक्र्सवादमाथि हमला भैरहेको बेला पुर्व राजदरबारका सल्लाहकारको जन्म जयन्तिसित माक्र्सवादको सान्दर्भिकता किन जोडिएको होला ? प्रश्नले मलाई औधी डस्यो । के माक्र्सवाद भनेको गुन्द्रुक हो जुन दालमा पनि मिल्छ, पिँडालुमा पनि मिल्छ या मस्यौरा र भटमासमा पनि मिल्छ । यतिबेला प्रज्ञाको छातामुनी विशिष्ट डाक्टरहरू ओत बस्नु भएको छ र उहाँहरूले बिबेक पुर्याउनु पर्ने हो कि बालकृष्ण सम पुरानो सत्ताको कार्यकालका बफादार सर्जक हुन् उनको जन्म जयन्तिमा उनकै गुणगान गरिने हो । तर किन यो तिथि नै रोजिएको होला । यो ढोङ हो कि स्वाङ हो ? बाहिर देखाउन हामी माक्र्सवादी हौँ भन्ने र भित्र भित्र प्रज्ञाको पुरानै चरित्र जोगाउन गरिएको पाखण्ड त होइन ? के माक्र्सवादको निकट भनिएका कवि लेखक बोल्नु पर्दैन ?
माक्र्सवाद भनेको प्रकृति, समाज, राज्यब्यबस्थालाई द्वन्द्वात्मक दृष्टिकोणले बुझ्नुपर्ने होला र यसको सान्दर्भिकता बल प्रयोग पनि होला तर समलाई पनि बचाइराख्ने र माक्र्सवाद पनि चर्चा गरिराख्ने जुन प्रबृत्ती छ नि, अघि सर्ने पछि नि सर्ने झिँगा माछा खेलेको झैँ गर्ने, जस्तो पो भयो त ।
बालकृष्ण समको साहित्य साधना पुरानो राज्यसत्ता भित्रको बिशिष्टतामा बुझ्न सकिएला । राणा खानदानबाट बाहिर निस्किएकोमा प्रशंसा पनि पाउलान् तर उनलाई द्वन्द्ववादी आँखाले हेर्ने कि सोलोडोलो बुझ्ने हो ? फेरियो भनेको प्रज्ञा प्रतिष्ठानले बुझ्नु पर्दैन ? बालकृष्ण सम ईश्वरीय चिन्तनबाट काव्य यात्रामा प्रवेश गरेका र केही अंश पश्चिमा भौतिकवादको नजिक पुगेका श्रष्टा हुन् । उनको आध्यात्मिक चिन्तन र माक्र्सवादको सङ्गतीको गठजोड कसरी मिलाउन सकिएला । उनको जीवनकालमै मक्र्सवादको बृहत्तर विकास भएको थियो तर उनी माक्र्सवादी बन्न सकेनन् ।
प्रज्ञा प्रतिष्ठानले माक्र्सवादमाथि विमर्श गरिनु आवस्यक विषय हो । बिगतको प्रजातान्त्रिक वा गणतान्त्रिक आन्दोलनको भावभुमिमा सिर्जनारत कयौँ लेखकहरूको स्मृती सन्दर्भमा यो कार्यक्रम राखेको भए प्रज्ञा फेरिन लागेको सन्देश पनि जान्थ्यो । के यो सम्भव थिएन र ?