काठमाडौं । बालकुमारी हत्याकाण्डका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषित १० दिने संघर्षको चौथो दिन आयोजित वैदेशिक रोजगार बिभाग घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
कालीमाटी सोल्टीमोडबाट नारा जुलुससहित विभागको कार्यालयमा पुगेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले विभागको मुलगेटमा ‘बालकुमारी हत्याकाण्डको विरोध गरौ, राज्यद्वारा गिरफ्तार साथीहरुको रिहाइ गर’ लेखिएको कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेपछि केही बेर झडपको स्थिति बनेको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य दिनेश शर्मा सागरको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषित संघर्षका कार्यक्रम अन्तर्गत यसअघि पार्टीका युवाहरुले निषेधित क्षेत्रभित्र प्रवेश गरी प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, संसदभवन, मन्त्री निवास र सर्वोच्च अदालतमा अर्धनग्न प्रदर्शन गरेका थिए ।
संघर्षको दोस्रो दिन दुई युवाको गोली हानी हत्या गरेको घटनास्थल बालकुमारीमा विरोध प्रदर्शन गरिएको थियो भने पहिलो दिन रत्नपार्क शान्तिबाटिकामा मशाल जुलुस प्रदर्शन गरिएको थियो ।