काठमाडौं । शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरी सङ्गठनका नेता–कार्यकर्ताहरूलाई प्रम निवास बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री निवास पुल्चोक र संसद् भवन बानेश्वरबाट गिरफ्तार भन्दै क्रान्तिकारी युवा संगठन नेपालका संयोजक हरिश भट्टले शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्नुभएको छ ।
संयोजक भट्टले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”
वक्तव्यमा भनिएको छ, “गिरफ्तार हुने कमरेडहरूमा सङ्गठनका कार्यालय सदस्य क. भुवन रम्तेल, सचिवालय सदस्यहरू क. वसन्त भण्डारी, क. दीपेन्द्र ऐर, क. निश्चल गर्तौला, क. सुलभ तिमिल्सिना, क. प्रकाश शर्मा, क. पद्म हमाल, क. विकल्प लामा तथा केन्द्रीय सदस्यहरू क. तिलक वयक, क. बिलबहादुर तामाङ, क. सूर्य परियार, क. गोपाल विक, क. राजकुमार तामाङ, क. हरि घर्ती र क. आकाश कार्की हुनुहुन्छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“हजारौँ युवाहरूको बलिदानमा जन्मिएको महान् तथा गौरवशाली सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपाल विगत लामो समयदेखि राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा सडक सङ्घर्षमा रहेको सर्वविदितै छ । अर्को तर्फ सङ्कटग्रस्त फासिवादी सत्ता गैरजिम्मेवार बन्दै युवाहरूमाथि गोली प्रहार गर्ने तहमा उत्रिएको छ ।
यतिबेला देशमा भ्रष्ट तथा दलाल संसदीय व्यवस्थाका मतियारहरूबाट मिलीभगतमा लुटखसोटको चरमोत्कर्ष छ । देश सबैखाले सङ्कटहरूको चङ्गुलमा फसेको छ । त्यसका सत्ता सञ्चालकहरू बेपर्वाह राज्यढुकुटीको लुटमा लिप्त छन् । राष्ट्रियता र जनजीविकाको पक्षमा जिम्मेवार देखिँदैनन् । यसै सन्दर्भमा हामीले प्रधानमन्त्री प्रचण्डलाई यही पुस ३ गते राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा २० बुँदे मागपत्र पेश गर्न खोज्दा सो मागपत्र नबुझ्ने स्थिति पैदा भयो । जनताको मागहरूलाई मुखरित गर्न हाम्रो सङ्गठनले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्दै सङ्गठन सडक सङ्घर्षमा छ । सङ्गठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार भ्रष्ट संसदीय दलाल व्यवस्थाका राजनीतिक तथा प्रशासनिक केन्द्रहरूमा साङ्केतिक विरोधस्वरूप अर्धनग्न विरोध प्रदर्शन गरिएको छ ।
सो शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरी सङ्गठनका नेता–कार्यकर्ताहरूलाई प्रम निवास बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, मन्त्री निवास पुल्चोक र संसद् भवन बानेश्वरबाट गिरफ्तार गरेकोे छ । गिरफ्तार हुने कमरेडहरूमा सङ्गठनका कार्यालय सदस्य क. भुवन रम्तेल, सचिवालय सदस्यहरू क. वसन्त भण्डारी, क. दीपेन्द्र ऐर, क. निश्चल गर्तौला, क. सुलभ तिमिल्सिना, क. प्रकाश शर्मा, क. पद्म हमाल, क. विकल्प लामा तथा केन्द्रीय सदस्यहरू क. तिलक वयक, क. बिलबहादुर तामाङ, क. सूर्य परियार, क. गोपाल विक, क. राजकुमार तामाङ, क. हरि घर्ती र क. आकाश कार्की हुनुहुन्छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा गिरफ्तार नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको माग गर्दछौँ । अन्यथा हाम्रो सङ्गठन थप सशक्त सडक सङ्घर्षमा होमिन बाध्य हुनेछ ।”