जनसेवा मावि सुनवल–६ को जग्गा र खड्का बिरुद्धको उजुरी यथाशीघ्र फिर्ता लिन एमाले नेता गैरेलाई क्रान्तिकारीको चेतावनी

जनसेवा मावि सुनवल–६ को जग्गा र खड्का बिरुद्धको उजुरी यथाशीघ्र फिर्ता लिन एमाले नेता गैरेलाई क्रान्तिकारीको चेतावनी

नवलपरासी – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले नेकपा (एमाले)का लुम्बिनी प्रदेश सदस्य थानप्रसाद गैरेलाई जनसेवा मावि सुनवल–६ को जग्गा यथाशीघ्र फिर्ता गर्न आग्रह गरेको छ ।

संगठनका केन्द्रीय संयोजक मिलन राईले शुक्रवार एक प्रेस बक्तब्य जारी गर्दै जग्गा यथाशीघ्र फिर्ता गर्न र सार्वजनिक रुपमा माफी मागेर झुठ्ठा उजुरी फिर्ता लिन आग्रह गर्नुभएको हो । क्रान्तिकारीले संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पाँच नं. प्रदेश संयोजक नविन खड्का विरुद्ध प्रहरीमा उजुरी दिएको घटना प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै उजुरीले संगठनलाई आक्रोशित बनाएको बक्तब्यमा उल्लेख गरिएको छ । ‘नक्कली सुकुम्बासी बनेर नवलपरासीको सुनवल–६ स्थित जनसेवा माध्यमिक विद्यालयको १५ कट्टा जग्गा अतिक्रमण गर्ने गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस अघि छानबिन गरी कारवाही प्रकृया अघि बढाउन सुनवल नगरपालिकालाई पत्राचार समेत गरिसकेको अवस्थामा कारबाही गर्नुको सट्टा झन उल्टैं उनको बचावटमा लाग्नु र न्यायपुर्ण आवाज वुलन्द गर्ने संगठनका नेतालाई षड्यन्त्रपुर्ण पक्राउ गराएर दुःखदिन खोजिनुले संगठनलाई झन आक्रोशित बनाएको छ ।’ –बक्तब्यमा उल्लेख छ ।
संयोजक राईद्वारा हस्ताक्षरित बक्तब्यमा थप भनिएको छ – ‘सामुदायिक विद्यालयको जग्गा यथाशीघ्र फिर्ता गर्न र सार्वजनिक रुपमा माफी मागेर झुठ्ठा उजुरी ÷मुद्दा फिर्ता लिन हाम्रो संगठन एमाले नेता थान प्रसाद गैरेलाई आग्रह गर्दछ । सत्ता र शक्तिको दुरुपयोग गर्दैं भ्रष्टचारको ढाकछोप गर्न र वास्तविकतालाई विषयान्तर गर्ने मुर्खता नगर्न समेत सचेत गराउछ् । अन्यथा, अटेरी गरिएको खण्डमा संगठन जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनेछ ।’
यस अघि सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा कालो ब्यानर राखेको थियो ।