अनिल श्रेष्ठ, ३०, मङ्सिर/ सहिद वासुदेव अधिकारीको `कुनचाहिँ धर्म, कुनचाहिँ अधर्म´ काव्य कृतिमाथि आज लमजुङको भोटेओडारमा कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल लेखक सङ्घ र इच्छुक साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लमजुङका प्रबुद्ध साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
भोटेओडारको भक्ति माविको सभा हलमा आयोजित सो कृति परिचर्चा कार्यक्रममा कास्कीका भीम रानाभाट, गोरखाका बलराम भण्डारी, गोपाल मरहट्टा, तनहुँका आकाश अधिकारी, दिवाकर भट्टराई, चितवनका नारायण शर्मा विपीन र लमजुङका वासुदेव थापा, कमला केसी, सङ्गीता न्यौपाने , विष्णु गुरुङ प्यासी लगायत झण्डै एक दर्जन अतिथि कविहरूले कविता वाचन गर्नुभएको थियो । प्राडा ताराकान्त पाण्डेय र प्राडा जगदीशचन्द्र भण्डारीले काव्य कृतिमाथि चर्चा गर्नु भएको थियो ।
सहिद वासुदेव अधिकारीका सहकर्मी ऋषिराम पौडेल, विजय न्यौपाने, गोविन्द बहादुर कुँवर,सहिद अध्ययन प्रतिष्ठानका अध्यक्ष आशा खनाल र सहिदका छोरा रामहरि अधिकारीले सहिद स्रष्टाको व्यक्तित्वका बारेमा बोल्नु भएको थियो भने सहिद स्रष्टाका जीवनसाथी शारदा अधिकारीले आफ्नो सहिद श्रीमानको सम्झनामा कविता प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार रविकिरण निर्जीवले आफूसँग सुरक्षित रहेको सहिद वासुदेव अधिकारीको हस्तलिखित पाण्डुलिपि सहिद पत्नीलाई हस्तान्तरण गर्नुभएको थियो । अखिल नेपाल लेखक सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कवि मोदनाथ मरहट्टाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अन्तमा अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका संयोजक हिरामणी दु:खीले काव्यकाे महत्त्व, सान्दर्भिकताकाे चर्चा गर्दै त्यसले द्वन्द्वात्मक भाैतिकवादी ढङ्गबाट धर्म र अधर्मका बारेमा प्रकाश पार्न सक्षम रहेको बताउनुभयाे । साथै दु:खीले आयोजक संस्था र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।