शनिबारीय साहित्य : कविता
***
उता,
देशलाई धेर भएर
विदेश बेचिदै छ बिजुली
यता,
झुपडीको लाइन
भर्खर काटिएको छ
तीन महिनाको विल नतिरेको कसुरमा ।
समाचारपत्रहरू लेख्छन-
तीस अरवभन्दा बढी पैसा
वर्षौंदेखि नतिरेर
डेडिकेटेड लाइन चलाइरहेछन
यो देशका अरवपतीहरू
माडवारीहरू
अर्थात
सरकारका पनि सरकार
महा-सरकारहरू !
लाइन काटिएको साँझ
ढोड बालेर झुपडीमा
लालपूर्जा विहीन रामविलास
पढिरहेछ एउटा पत्रिका
जसमा लेखिएको छ-
भारतमा बिजुली बेचेर
एक वर्षमा
सरकारले यति अरब कमायो …..!
राम विलास सोच्छ-
झुपडीको लाइन काटिनु
र सरकारले विदेशमा बिजुली बेचेर
अरबौं कमाउनुको बीचमा
अर्थशास्त्रको कुन शूत्रले काम गरेको होला ?
महिनामै दश दश पटक
बढेपछि पेट्रोलको भाऊ
महिनौंदेखि थन्किएको छ खटरा बाइक
पेट्रोलको भाउ घट्ला र वाइक चलाउला
यस्तो सोचेर
महिनौं बितायो रामभरोसले ।
जति पटक पेट्रोलको भाऊ बढेको खबर सुन्छ
उति पटक बेहोस हुन खोज्छ ऊ
फेरि बाइक चलाउने रहर
जहर बनेर फैलिएको छ
रामभरोसको दिमागभरि ।
चोकको चिया पसलमा
जोड जोडले बोल्दै छ कोही
रामभरोसको कानमा ठोक्किन्छ
राष्ट्रिय पार्टीको स्थानीय नेताको आवाज
ऊ भन्दै हुन्छ –
‘हाम्रो पार्टीको कुशल नेतृत्वमा
आजबाट आयल निगम ऋण मुक्त भयो ।’
राम विलास मनमनै सोच्छ
आयल निगम ऋण मुक्त हुनु भनेको
राम विलासहरूको वाइक थन्किनु रहेछ ?
राम खेलावनको बच्चा
दूध दूध भनेर रोइरहेको छ
डेरी पसलको साहुले भनेको थियो
दूध लिटरमा पाँच रुपैयाँ बढेको छ
दूध किन्ने पैसा नपुगेर
रित्तै घर फर्केको हो ऊ आज ।
यता बच्चा जोड जोडले रोइरहेको छ
उता राम खेलावनको मन उसै गरी रोइरहेको छ
आजै छापिएको पत्रिकामा
दूधको उचित मुल्य नपाएको झोकमा
सडकमा दूध पोखिरहेका किसानको तस्विर हेरेर
राम खेलावन मनमनै सोच्छ-
दूधमा देश आत्मनिर्भर हुनु
या देश समृध्दिमा प्रवेश गर्नु भनेको
मेरो बच्चाले दूध खान नपाउनु
डेरी वालाको नाफा बढमनु
या किसानले दूध सडकमा पोख्नु
कुन चै कुरा होला ?
राम विलास ,
राम भरोस
र राम खेलावनहरू
कसैले दु:खको कारण पत्ता लगाएका छैनन् ।
ह्यापिनेस इन्डेक्समा
देश जति खुड्किला माथि उक्लियोस
राम विकासको घर अझै अन्धकार छ
राम भरोसको खटरा बाइक
गोठबाट निस्कने सुरसार छैन
र राम खेलावनको बच्चा
दूध दूध भन्दै रुन छोडेको छैन ।
सकार गरीवको जिन्दगी गिजोल्छ
समाचारहरू गरीबको दिमाग गिजोल्छन
राम भरोस
राम विलास
र राम खेलावनहरू
भट्टीमा पसेर जोडजोडले
रातको सन्नाटालाई दनक दिदै
सरकारलाई आमा चकारी गाली गरिरहेका छन ।
*******
२०८० मंसिर १४
सिनामंगल,काठमाण्डौ