काठमाडौं । नेपाल सम्बत् नेपालको मौलिक सम्बत भएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले यसको कार्यान्वयनमा जोड दिनुभयो । तर अहिलेको सरकार भन्ने, निर्णय गर्ने तर कार्यान्वयन गर्न नसक्ने हालतमा रहेको भन्दै अध्यक्ष किरणले नेपाल सम्बत् लागू गर्न पनि देशमा संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
मुलुकमा अहिले राजनीतिक संकट चुलिएको र वर्तमान दलाल तथा नोकरशाही पुँजीवादमा आधारित कथित् संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था यथास्थितिमा चल्नै नसक्ने अवस्थामा पुगेको चर्चा गर्दै यो व्यवस्थाको सही र अग्रगामी विकल्प भनेको संघीय जनगणतन्त्र नै भएकोमा उहाँले जोड दिनुभयो ।
सच्चा देशभक्त, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर वर्गीय, जातीय, लैंगिक र क्षेत्रीय रुपमा उत्पीडित वर्ग र समुदायको संयुक्त मोर्चा बनाएर संघर्षलाई अगाडि बढाइयो भने वर्तमान दलाल संसदीय व्यवस्थालाई ढाल्न सकिने र यो संविधानलाई पनि फाल्न सकिने अध्यक्ष किरणले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “०७२ मा संविधान बनेयता सरकारमा बसेकाहरुले स्वीकार्नलाई जे पनि स्वीकार्छन् तर काम भने गर्दैनन् । जनदबाब बढेपछि लिम्पियाधुरा–लिपुलेक–कालापानीसहित भूभाग समेटिएको चुच्चे नक्सा ल्याउन बाध्य भए तर त्यो नक्सा अन्तर्राष्टिय समुदाय कसैलाई पनि त्यो नक्सा दिएनन् । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने । यो भनेको द्वैतवादी हुनु हो । द्वैतवाद संकटको अभिव्यक्ति पनि हो । संघीयताको सवालमा पनि त्यही भइराखेको छ । पहिचानसहितको संघीयता सबैले भन्छन् तर स्थानीय, प्रदेश र संघको अधिकार क्षेत्रको विषयमा कुनै कानून बनेको छैन । मधेस प्रेदशले एक महिनाको अल्टिमेटम दिइरहेको छ । नेपाल सम्बत् को सन्दर्भमा पनि निर्णय गरेर मात्रै हुँदैन । कार्यान्वयनका निम्ति जनदबाब चाहिन्छ । संघर्षको विकल्प छैन ।”
“कांग्रेस, एमाले र माकेहरुले राजनीतिक संकट हल गर्न सकेनन् । संकट अझ चुलिदै गएको छ । एकाथरिहरुले राजतन्त्र र अर्कोथरिहरुले रवि लामिछानेहरुलाई विकल्पका रुपमा अगाडि सारिरहेका छन् । रवि लामिछानेहरुको विकल्प भनेको पश्चिमा साम्राज्यवादीहरुको विकल्प हो । अबको सही र अग्रगामी विकल्प भनेको संघीय जनगणतन्त्र हो । यो हामीले सारेको विकल्प हो । सच्चा देशभक्त, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु अब यही विकल्पको वरिपरि गोलबन्द हुनुपर्छ । वर्तमान सत्ता, व्यवस्था र संविधानलाई ध्वस्त पार्नुपर्छ । र, नयाँ जनगणतान्त्रिक व्यवस्था र संविधानको निर्माण गर्नुपर्छ ।”
कार्यक्रममा पार्टीका कार्यालय सदस्य सीताराम तामांग, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेवाः राष्टिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, नेवाः अभियन्ता डा. महेशमान श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य लगायतका वक्ताहरुले नेपाल सम्बत्को इतिहास, मौलिकताको चर्चा गर्दै कार्यान्वयनको आवश्यकतामाथि विशेष जोड दिनु भएको थियो ।
पवनमान श्रेष्ठको अध्यक्षता र शिव श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा गोर्की श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, दिनेश शर्मा, चन्द्रहरि सुवेदी लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।