काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित २७ बुँदे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई बुझाएको छ । पार्टीका सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिरको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा भनिएको छ, “हाम्रो पार्टी राष्ट्र र जनताका सबै समस्याहरुको शान्तिपूर्ण समाधान चाहन्छ । यदि राज्य जिम्मेवार भएन र जनताका मागहरुमाथि नजरअन्दाज गरियो भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुमा हाम्रो पार्टी जस्तोसुकै चर्को मुल्य चुकाउन र संघर्ष गर्न तयार छ । यसर्थ यस दाङ जिल्लाबासी जनताका निम्नि उल्लेखित समस्याहरुको समाधान गर्न पहल गर्नका लागि जोडदार माग गर्दै यो ज्ञापनपत्र पेश गर्दछौं ।”
ज्ञापन पत्रमा सिमा क्षेत्रमा भारतीय एसएसबीले गरिरहेको ज्यादति, अतिक्रमण बन्द गर्न, चोरी निकासी बन्द गर्न, विषादीयुक्त फलफूल तरकारीमा रोक लगाउन, मुक्त कमैया, भूमिहिन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्न तथा लालपुर्जा वितरण गर्न, सरकारी सेवा सुविधा तुस्त जनमैत्रीपूर्ण बनाउन लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याहरुलाई समेटिएको छ ।



































