क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– ‘जनविरोधी, प्रतिगामी शिक्षा विधेयक- खारेज गर !’

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– ‘जनविरोधी, प्रतिगामी शिक्षा विधेयक- खारेज गर !’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले हालै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारले निजी विद्यालयहरुलाई सार्वजनिक र निजी लगानीका दुई प्रकारका गुठीमा सञ्चालन गर्ने गरी सदनमा दर्ता गरिएको शिक्षा विधेयक पनि अन्ततः शिक्षाको निजीकरण र व्यापारीकरणलाई नै प्रोत्साहित गर्ने विधेयक रहेको भन्दै यो विधेयकलाई जनविरोधी र प्रतिगामीको संज्ञा दिएको छ र खारेजीको माग गरेको छ ।

यो विधेयकले शिक्षा क्षेत्रमा देशले भोग्दै आएका समस्यालाई समाधान गर्न नसक्ने भन्दै यसले एकातिर, विज्ञान, गणित तथा कम्प्युटर जस्ता अत्यन्त महत्वपूर्ण विषयहरुलाई अनिवार्यतः अंग्रेजी माध्यममा पढ्नुपर्ने बनाएर अंग्रेजीमा पहुँच नभएका गरिब विद्यार्थीलाई उक्त विषयहरुको अध्ययनबाट बञ्चित गराउने कुचेष्टा गरेको छ भने अर्कोतर्फ शिक्षकहरुको विचार तथा आस्थाका आधारमा संगठित हुने ट्रेड युनियन अधिकार खोसेर शन्तिपूर्ण भेला प्रदर्शनमाथि समेत रोक लगाउने प्रावधान अगाडि सारेको निष्कर्ष निकालिएको छ ।

कुनै पनि देशको शिक्षा नीति आर्थिक समृद्धि, सांस्कृतिक मूल्यबोध र देशभक्तिपूर्ण चेतनाको प्रवाह गर्ने उद्देश्यमा आधारित रही सम्बन्धित देशको आवश्यक जनशक्ति निर्माण गर्ने प्रकारको हुनुपर्दछ भन्दै शिक्षा क्षेत्रलाई कुनै दलाल पुँजीपतिले लगानी गरेर नाफा आर्जन गर्ने कम्पनी बन्न दिनुहुँदैन भन्ने धारणा अघि सारेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो क्षेत्रलाई सम्पूर्ण रुपमा राष्ट्रियकरण गरी एउटै राष्ट्रिय शिक्षा नीति अनुसार राज्यको मातहतमा ल्याएर परिचालित गर्नु पर्दछ ।”

वक्तव्यमा भनिएको छ, “शिक्षकहरुले प्रस्तावित विधेयकका कतिपय नीतिगत प्रावधानहरुलाई परिमार्जन गर्नुपर्ने, निजामति कर्मचारी सरह सुविधा पाउनुपर्ने, शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरुका सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने, टे«ड युनियन अधिकार सुनिश्चित हुनुपर्ने लगायतका न्यायपूर्ण माग राखी चलाएको आन्दोलनलाई हाम्रो पार्टीले नैतिक समर्थन गर्दछ । तर शिक्षकहरुले राखेका उपरोक्त सबै मागहरु पुरा भए पनि त्यसले देशले भोग्दै आएको शैक्षिक समस्या समाधान हुन सक्दैन । त्यसका लागि शिक्षा नीतिमा आमूल परिवर्तन हुनु जरुरी छ । शिक्षा लगायत देश र जनताले भोग्दै आएका सबै खाले समस्याको दीर्घकालीन समाधान नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादको स्थापनाले मात्र गर्ने हुनाले सो कार्यभार पुरा गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न आम वामपन्थी, देशभक्त तथा स्वाभीमानी शिक्षकहरुलाइ हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ ।”