रक्त क्यान्सर उपचारमा लापारवाही, गुणस्तरहीन औषधिले ज्यान लिँदै

रक्त क्यान्सर उपचारमा लापारवाही, गुणस्तरहीन औषधिले ज्यान लिँदै

 

 

काठमाडौँ । बालबालिकामा हुने रक्त क्यान्सरमध्ये ५० प्रतिशतभन्दा बढीमा देखिने ‘एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया’ ९एएलएल० को उपचारमा निकै प्रभावकारी मानिएको ‘एल–एस्पर्जिनेज’ को भारतमा उत्पादित केही ब्रान्डका औषधिको गुणस्तर र प्रभावकारितामा प्रश्न उठेको छ ।

विभिन्न ब्रान्डमा भारतमा उत्पादन भइरहेका कुल १२ प्रकारका ‘एल–एस्पर्जिनेज’ मध्ये ११ वटाको प्रभावकारितामा प्रश्न उठेको पाइएको छ । त्यसमध्ये ५ थरी ब्रान्डका ‘एल–एस्पर्जिनेज’ औपचारिक रूपमा औषधि व्यवस्था विभागमा दर्ता भए पनि बाँकी औषधि पनि अवैध रूपमा भित्रिँदै आएको देखिन्छ ।

विश्वभर नै बालबालिकामा देखिने क्यान्सरमध्ये ५० देखि ६० प्रतिशतलाई रगतको क्यान्सर हुने गरेको छ । रगतको क्यान्सर देखिएकामध्ये पनि ५० प्रतिशत बढी रोगी ‘एएलएल’ का हुने गरेको क्यान्सर रोगका विशेषज्ञहरू बताउँछन् । नेपालमा औपचारिक रूपमा क्यान्सर ‘रजिस्ट्री’ नभए पनि यहाँ बर्सेनि पाँच सयभन्दा बढी बालबालिकामा ‘एएलएल’ देखिने गरेको उपचारमा संलग्न चिकित्सकहरूको दाबी छ ।

यीमध्ये औषधि व्यवस्था विभागमा दर्ता भएकामा ‘एल–एसपेज’, ‘ल्युकोजिनेज’, ‘अंकोनेज’, ‘सेलजिनेज’ र बेटा ड्रग्स लिमिटेडको ‘एल–एसजेन’ हुन् । सेलजिनेज, एल–एसपेज, ल्युकोजिनेज वैधानिक रूपमा नेपाल भित्र्याउने जिम्मा डीकेएम ग्रुपले तथा अंकोनेज निखिल फार्माले नेपाल आयातको अनुमति पाएका छन् । गुणस्तरको प्रश्न नउठेको एकमात्र ‘एल–एस्पर्जिनेज’ एल–एसजेन भित्र्याउने जिम्मा सिजल फार्माले पाएको छ । यसबाहेक पनि गैरकानुनी रूपमा भित्रिएका विभिन्न ब्रान्डका एल–एस्पर्जिनेज नेपालमा सजिलै पाइन्छ ।

नेपालमा रगत रोगको उपचारमा स्थापित भएको काठमाडौंको बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. विशेष पौड्यालका अनुसार पनि अहिले बिरामीले विभिन्न ब्रान्डका एल–एस्पर्जिनेज लिएर आउने गरेको बताए । ‘बिरामीलाई किमोथेरापी लगाउँदा जुन पायो त्यही, जहाँ पायो त्यहींबाट ल्याएको ब्रान्ड लगाउनु हुन्न भन्ने मेरो मान्यता हो । तर नेपालमा सधैं आफूले भनेको विश्वासिलो ब्रान्ड पाउन गाह्रो हुन्छ । पाए पनि महँगो हुन सक्छ । यस्ता विविध कारणले गर्दा बिरामीहरू रिसाउनु पनि हुन्छ । त्यसैले उहाँहरूले ल्याएको ब्रान्ड पनि चलाउनु हाम्रो बाध्यता हो । यसले गर्दा बिरामीको अवस्था झन् जटिल हुने समस्या बढेको देखेको छु,’ उनले भने, ‘पहिला भारतबाहेक देशबाट आएका औषधि लगाउँदा त्यो समस्या थिएन । तर, अहिले जुन औषधि पाइन्छ, त्यही लगाउन थाल्दा समस्या धेरै हदसम्म बढ्यो । यसको कारण अब थाहा हुँदै छ ।’

प्रा. डा. पौड्यालले कुन भारतीय ब्रान्डको एल–एस्पर्जिनेज लगाउँदा बिरामीको स्वास्थ्यमा धेरै जटिलता देखियो भन्ने नबताए पनि अनुसन्धानमा उल्लेख गरिएकै ब्रान्डमध्ये रहेको दाबी गरे । ‘यो अवस्था विगत एक वर्षमा झनै विकराल भएर गएको छ । बिरामीमा एल–एस्पर्जिनेज चलाउँदा धेरै समस्या देखिन थालेका कारण हामीले त्यसको विकल्प रोज्न बाध्य भएका छौं ।’ नेपालको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिमा पनि बालबालिकामा हुने क्यान्सर रोगको उपचार हुन्छ । त्यहाँ उपचारको क्रममा क्यान्सर देखिएकामध्ये ४० देखि ४५ प्रतिशतमा रगतको क्यान्सर देखिने गरेको छ । कान्तिमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा। सुधीर सापकोटाका अनुसार त्यहाँ हरेक वर्ष करिब एक सयको हाराहारीमा एएलएल भएका बालबालिका उपचारका लागि आउने गरेका छन् ।

साथै एल–एस्पर्जिनेजको गुणस्तर तथा त्यसको प्रभावकारिताको विवादबारे आफू जानकार रहेको डा। सापकोटाले बताए । ‘हामी कहाँ औषधिको प्रभावकारिताबारे अध्ययन गर्न सहज छैन, कसैले गरेको पनि छैन । त्यसैले रिपोर्टमा दाबी गरिए जस्तो अवस्था यहाँ छ या छैन यसै भन्न कठिन छ,’ उनले भने, ‘तर नियामक निकायहरूले औषधिमा प्रतिबन्ध नै लगाएको अवस्थामा भने हामीले पनि त्यसको पालना गर्नु नै पर्छ ।’ उनका अनुसार भारतको नियामक निकाय नै यसबारे मौन बसेकाले अहिले भारतमै पनि के गर्ने भन्नेमा अन्योल भइरहेको छ । उनका अनुसार विश्व स्वास्थ्य संगठन र सेन्ट ज्युड अस्पतालको सहकार्यमा नेपालमा पनि सुरु हुन लागेको ‘ग्लोबल

प्लाट्फर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स (जीपीएसीसीएमं) कार्यक्रमले यो अन्योलतालाई केही हदसम्म सम्बोधन गर्न सक्छ । ‘जीपीएसीसीएम लागू भएपछि क्यान्सर भएका बालबालिकाले निःशुल्क औषधि प्राप्त गर्ने अवसर पाउनेछन् । विश्व स्वास्थ्य संगठनले नै त्यस्तो औषधि उपलब्ध गराउने भएकाले त्यसको गुणस्तरबारे धेरै चिन्ता लिनु नपर्ने हुन्छ,’ उनले भने, ‘अहिलेलाई भने पर्ख र हेरकै अवस्था हो ।’

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा. अन्जली पण्डित पनि किमोथेरापी लगाउँदा जुन पायो त्यही र जहाँ पायो त्यहींबाट ल्याएको औषधि प्रयोग गर्न नहुने बताउँछिन् । तर उनले भारतीय कम्पनीबाटै उत्पादित एल–एस्पर्जिनेजको प्रयोग गर्दा बिरामीमा खासै समस्या भएको आफूले नपाएको दाबी गरिन् । ‘हामीले यदाकदा बिरामीले ल्याउने ब्रान्ड प्रयोग गर्दा भने समस्या देखिएको छ । तर अस्पतालले नै खरिद गरेको औषधिमा कुनै समस्या छैन ।

प्रा.डा. पौड्याल भने नेपालमा भित्रिने सबै प्रकारका औषधिहरूको गुणस्तर कस्तो छ भनेर यहाँको नियामक निकायले नै ध्यान दिनुपर्नेमा जोड दिन्छन् । उनको तर्कमा नेपालमा आयात भइरहेका एल–एस्पर्जिनेजबारे छुट्टै अध्ययन गरिए यसबारे थप स्पष्ट हुन सहयोग मिल्न सक्छ । ‘विदेशमा भएका विभिन्न अध्ययनमा यी औषधिमा समस्या छ भन्ने प्रमाणित नै भइसकेको छ । यो एकाध अध्ययनको मात्रै कुरा होइन । धेरै देशमा गरिएको अध्ययनमा एउटै समस्या देखिएपछि त्यसमा हामी पनि गम्भीर हुन जरुरी छ,’ उनले भने, ‘बालबालिकामा हुने क्यान्सर धेरै हदसम्म निको पार्न सकिन्छ । यस्तो अवस्थामा कम गुणस्तरको औषधिकै कारण कसैको ज्यान जोखिममा पर्नुभएन । यसमा सरकारले पनि ध्यान दिनैपर्छ ।’

उनको भनाइमा यो समस्या एउटामा मात्रै नभएर अन्य औषधिमा समेत छ । जसलाई सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन । प्रा।डा। पौड्यालको भनाइमा डा। पण्डित पनि सहमत छिन् । ‘बजारमा पाइने औषधि बोकेर बिरामी आएपछि हामीले यो चलाउँदिन भन्दा अर्थको अनर्थ लाग्छ । त्यसैले औषधि व्यवस्था विभागले नै यसबारे अध्ययन, अनुसन्धान र अनुगमन गरे सबैलाई सजिलो हुन्छ,’ प्रा।डा। पौड्यालले भने, ‘सबै विदेशी अध्ययन अनुसन्धानलाई नै पत्याउनुपर्छ भन्ने पनि छैन । तर कुनै प्रसिद्ध जर्नलमा प्रकाशित लेखलाई त्यसै नजरअन्दाज पनि गर्न हुँदैन ।’

डा. पौड्याल सरकारले क्यान्सरका बिरामीलाई उपचारमा अनुदान दिनुको साटो गुणस्तरीय औषधि खरिद गरेर त्यो उपल्बध गराउन सके समस्याको सहज हल हुने देख्छन् । ‘बालबालिकामा हुने रगतको क्यान्सर ८० प्रतिशतमाथि निको पार्न सकिन्छ । त्यसमा सरकारले गुणस्तरीय औषधि उपलब्ध गराउन सके एकदमै राम्रो परिणाम पनि निस्कन्छ,’ उनले भने, ‘उपचार गरेर निको हुने बिरामी यो वा त्यो कारणले मर्नु भनेको कुनै पनि हिसाबले ठीक होइन ।’

नेपाली बजारमा उपलब्ध भारतमा उत्पादित एल–एस्पर्जिनेजको मूल्य करिब २५ सयदेखि तीन हजार रुपैयाँ हाराहारी पर्छ । तर, गुणस्तरीय एल–एस्पर्जिनेजको भने एक भाइलकै मूल्य एक लाखभन्दा बढी पर्छ । भारतमा उत्पादित एल–एस्पर्जिनेज आयात गर्दै आइरहेका नेपालका आयातकर्तामध्येका एकले भने औषधिमा कुनै खराबी नरहेको दाबी गरे । आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा कान्तिपुरसँग कुराकानी गर्दै उनले औषधिको गुणस्तरमा भन्दा अनुसन्धानको नियतमा प्रश्न उठाए । ‘मैले यो जानकारी पाएपछि कम्पनीसँग कुरा गरें । तर उनीहरू आफूले उत्पादन गरेको औषधिमा त्रुटि भएको मान्न तयार छैनन् । उनीहरूका अनुसार यससम्बन्धी सम्पूर्ण अनुसन्धान नै पूर्वाग्रही छ,’ उनले थपे, ‘यहाँ पनि कुनै चिकित्सकले यसको प्रभावकारिताबारे केही भन्नुभएको छैन । त्यसैले अनुसन्धानमा नै केही समस्या छ होला ।’

यस्तै अर्का आयातकर्ताले पनि नाम उल्लेख नगर्ने सर्तमा कुराकानी गर्दै कुनै पनि औषधिको प्रभावकारिताबारे प्रश्न उठे त्यसको निरूपण औषधि व्यवस्था विभागले नै गर्दा उचित हुने तर्क गरे । ‘हामीले कुनै पनि औषधि खराब हुँदाहुँदै आयात गर्दैनौं । तर यदि त्यसमा कुनै समस्या छ भनेर प्रश्न उठ्छ भने डीडीएले अनुसन्धान गरे राम्रो हुन्छ,’ उनले भने । उनका अनुसार औषधि विभागमा पहिलेको तुलनामा अहिले प्रयोगशालाको क्षमता पनि बढ्दै गएकाले त्यसबारे अनुसन्धान गरेर निर्णय लिन अप्ठेरो पर्दैन ।

अत्यन्तै राम्रो गुणस्तरको एल–एस्पर्जिनेजको मूल्य निकै नै महँगो हुने गरेको छ । जसका कारण गरिब मुलुकका बिरामीले विकल्पमा भारतीय सस्ता औषधि रोज्न बाध्य हुन्छन् । ‘द ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिजम’मा प्रकाशित सन् २०१५ मा एक भाइल अन्कास्पारको मूल्य अमेरिकामा १७ सय डलर थियो । हाल फ्रेन्च कम्पनी सर्भिएरको स्वामित्वमा रहेको अन्कास्पारको मूल्य एक भाइलकै २४ हजार डलर पर्छ ।

औषधिको पहुँच सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । भारत आफैंमा विश्वलाई जेनेरिक औषधि दिने सबैभन्दा ठूलो प्रदायक हो । भारतद्वारा उत्पादित अधिकांश साना जेनेरिक औषधि तथा रसायनहरू ठ्याक्कै ब्रान्डेडका प्रतिलिपि हुन् तर कममा बेचिन्छ । एल–एस्पर्जिनेज जीवित जीवबाट उत्पादित एक जैविक औषधि हो । जैविक र तिनका जेनेरिक संस्करणहरू ९बायोसिमिलर्स० मा धेरै साना औषधिका तत्त्वहरू प्रयोग गरिएका हुन्छन् जसको उत्पादन गर्न निकै जटिल र महँगो हुन्छ ।

साहले अनुसन्धान गरेका सबै सात उत्पादनहरू विश्व बजारमा २०२२ यता पनि बिक्रीवितरण भइरहेका छन् । यतिमात्रै नभएर ‘द ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिजम’ ले गरेको अनुसन्धान अनुसार एल–एस्पर्जिनेज उत्पादन गर्ने ११ वटै भारतीय कम्पनीले विश्व स्वास्थ्य संगठनले समर्थन गरेको गुणस्तर प्रमाणपत्र प्राप्त गरेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनले त्यस्ता उत्पादनहरूको गुणस्तर जाँच गर्ने मापदण्ड तयार पारे पनि त्यो कार्यान्वयन भएरनभएको हेर्ने जिम्मा भारतको स्वास्थ्य मन्त्रालयको हो । यीमध्ये पनि न्यून गुणस्तरका एल–एस्पर्जिनेज उत्पादन गर्ने दुईवटा कम्पनी पश्चिमा नियामक निकायहरूबाट पनि ‘प्रमाणित’ भएको वा त्यहाँको ‘मापदण्ड पालना’ गरेको दाबी गर्छन् ।

एल–एस्पर्जिनेज एक इन्जाइम हो । जीवित जीवहरूले शरीरभित्र रासायनिक प्रतिक्रियालाई गति दिन एक प्रकारको प्रोटिनको उत्पादन गर्ने गर्छन् । कोषहरूलाई जीवित राख्न एल–एस्पर्जिनेजको आवश्यकता पर्छ । एल–एस्पर्जिनेजका लागि एस्पर्जाइन नामको एमिनो एसिडलाई तोड्नुपर्छ । सेतो रगत कोषहरूले सामान्यतया आफैं एस्पर्जाइन बनाउँछन् । तर क्यान्सर भएका सेतो रगतका कोषले त्यो बनाउन सक्दैनन् । जब एल–एस्पर्जिनेजले एस्पर्जाइनलाई तोड्छ तब शरीरमा क्यान्सरका कोषहरूलाई प्रयोग गर्न कम एस्पर्जाइन उपलब्ध हुन्छन् । जसका कारण क्यान्सर कोषको विकास र विस्तार रोकिन पुग्छ ।

त्यसैले गर्दा एल–एस्पर्जिनेज बालबालिकामा धेरै देखिने रगतको क्यान्सर एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया ९एएलएल० र सबै प्रकारका एएलएल क्यान्सर भएका बिरामीका लागि अत्यावश्यक औषधि हो । केही बिरामीमा एल–एस्पर्जिनेजका कारण गम्भीर प्रकारका साइड इफेक्ट देखिने गर्छ । जसले गर्दा संक्रमणलगायत रगत जम्ने, पित्तथैली सुन्निने तथा गम्भीर प्रकारको एलर्जिक रियाक्सनसम्म हुने जोखिम बढ्छ ।