“गो ब्याक एमसीसी, गो ब्याक अमेरिका” अब सबै नेपालीले नारा लगाउने बेला आयो : सिपी गजुरेल

“गो ब्याक एमसीसी, गो ब्याक अमेरिका” अब सबै नेपालीले नारा लगाउने बेला आयो : सिपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल गौरवले अब हरेक नेपालीले ‘गो ब्याक एमसीसी, गो ब्याक अमेरिका’ भनेर नारा लगाउनुपर्ने बेला आएको बताउनु भएको छ । अमेरिकाको एमसीसी परियोजना नेपालमा कुनैपनि हालतमा नेपाली जनताहरुले लागू गर्न दिंदैनन् भन्ने कुरा अमेरिकालाई राम्रोसँग बुझाइदिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भएको छ ।

पार्टीले एमसीसी खारेजीका निम्ति आयोजना गरेको विरोध जुलुस र विरोधसभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एमसीसी परियोजना नेपालको हितमा छैन । यो नेपालका राष्ट्रघाती छ । श्रीलंकामा जस्तै नेपालमा पनि अमेरिकनहरुलाई यो परियोजना फिर्ता लैजाऊ भनेर भन्नुपर्छ । श्रीलंकामा त त्यहाँका शासकहरुले नै भनेका थिए तर नेपालमा यहाँका दलाल शासकहरुले त्यो भन्ने हैसियत नै राख्दैनन् । अब नेपाली जनताले अमेरिकाले बुझ्ने गरी भनिदिनुपर्छ कि नेपाली जनताले अब एमसीसी परियोजना कुनै पनि हालतमा लागू गर्न दिनेवाला छैनन् । तिम्रो परियोजना फिर्ता लैजाऊ । गो ब्याक एमसीसी, गो ब्याक अमेरिका ।”


उहाँले एमसीसी सम्झौता सदनबाट पास हुन नदिन सडकबाट आफूहरुले देशव्यापी संघर्ष गरेको चर्चा गर्दै माओवादी केन्द्रका नेताहरुको द्वैध चरित्रको भण्डाफोर गर्नुभयो । उहाँले भन्नुभयो, “एमसीसी पास नगर्न दबाब स्वरुप हामीले तत्कालीन सभामुखलाई ज्ञापन पत्र बुझाएका थियौं । सभामुखले मेरो हातबाट यस्तो राष्ट्रघाती काम हुँदैन । बरु मर्छु तर यस्तो काम मेरो हातबाट हुनै सक्दैन भन्नु भाथ्यो । तर उहाँले नै मध्यरातमा हुबहु एमसीसी पास गरिदिन संसदमा टेबल गरिदिनुभयो ।”

त्यस्तै उहाँले एकजना एमसीसीको विरोध गर्ने माओवादी केन्द्रका नेताको भनाइको प्रसंग कोट्याउँदै अगाडि भन्नुभयो, “एमसीसीको विरोध गर्ने एकजना माओवादी केन्द्रका नेताले एमसीसी पास गर्ने निर्णय माओवादी केन्द्रले गर्नैसक्दैन । यदि पार्टीले पास गर्ने निर्णय गरेपछ भने म त्यो पार्टीमा रहन्न भन्नुहुन्थ्यो । एमसीसी पास भयो, अहिले कार्यान्वयन हुँदैछ । तर ती नेताले अहिलेसम्म माओवादी केन्द्र पार्टी छाडेको सुन्न पाइएको छैन ।”

एकतर्फी रुपमा कथित १२ बुँदे व्याख्यात्मक घोषणाको नौटंकी गरेर राष्ट्रघाती एमसीसी पास गरेर ठूलो देश र जनताका विरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले ठूलो अपराध गरेको चर्चा गर्दै उहाँले त्यो अपराध सच्याउने वा पाप पखाल्ने हो भने अहिले पनि माओवादी केन्द्रका नेताहरुलाई एउटा मौका रहेको स्पष्ट पार्नुभयो र भन्नुभयो, “अब त्यो पाप पखाल्ने भनेको एमसीसी परियोजना कार्यान्वयन हुन नदिनु हो । अब अमेरिकाकालाई लखेट्ने आन्दोलनमा पछि पछि भने पनि उनीहरु आउनुपर्छ ।” तर उनीहरुको चरम दलालीकरण भइसकेको हुनाले त्यो आशा गर्न सकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

“अब नेपाली जनताले अमेरिकालाई नेपालबाट लखेट्न सक्ने रहेछन् भन्ने देखाउन जरुरी छ ।” उहाँको भनाइ थियो, “त्यसो गरियो भने अन्तर्राष्ट्रिय जगतमा नेपालमा दलाल शासकहरुले जे चाह्यो त्यही नहुने रहेछ । जनताले चाहे भने शक्तिशाली देशका शासहरुलाई पनि भाग्न बाध्य पार्ने रहेछन् भन्ने सन्देश जान सक्छ । त्यसो गर्न सकियो भने नेपाली जनताकै नाम प्रतिष्ठा बढ्छ ।”

विरोध कार्यक्रमलाई पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।