काठमाडौं । अमेरिकी साम्राज्यवादको मिसनमा आधारित एमसीसी परियोजना खारेजीको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु सडकमा उत्रिएका छन् । दर्के पानीमा रुझ्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सिपी गजुरेल, धर्मेन्द्र बास्तोला, रामसिंह श्रीस, हेमन्तप्रकाश ओली लगायतका नेताहरुले एमसीसी खारेजीका निम्ति निकालिएको विरोध जुलुसको नेतृत्व गर्नुभएको थियो । रत्नपार्क शान्तिबाटिकाबाट निस्किएको जुलुस भोटाहिटी, असन, जमल, घण्टाघर हुँदै पुनः रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोध जुलुसको क्रममा अमेरिकी साम्राज्यवाद–मुर्दावाद, गो ब्याक एमसीसी, साम्राज्यवादी परियोजना विफल पारौं, राष्ट्रिय स्वाधीनता– जिन्दावाद, साम्राज्यवादी दलालहरु– होशियार, दलाल संसदीय व्यवस्था मूर्दावाद, क्रान्तिकारी कम्युनिस्ट पार्टी, जिन्दावाद, वीर सहिदहरु लालसलाम लगायतका नाराहरु लगाइएको थियो ।

विरोध जुलुसपछि आयोजित विरोधसभालाई पार्टीका बरिष्ठ नेता सिपी गजुरेल र धर्मेन्द्र बास्तोलाले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले एमसीसी परियोजना अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित रहेको, यसको कार्यान्वयन भयो भने देशको स्वाधीनतामाथि गम्भिर संकट उत्पन्न हुने भन्दै एमसीसी परियोजनाको कार्यान्वयन हुन दिन नहुने विचार व्यक्त गर्नुभएको थियो । उहाँहरुले एमसीसी परियोजना विफल बनाएरै छाडिने चेतावनी समेत दिनुभएको थियो । उहाँहरुले सम्पूर्ण देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध भएर एमसीसी परियोजना विफल बनाउने आन्दोलनमा अघि बढ्न आव्हान समेत गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्त प्रकाश ओलीको अध्यक्षतामा सम्पन्न विरोधसभाको सञ्चालन पार्टीका सचिवलाय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठले गर्नुभएको थियो । उहाँहरुले पनि राष्ट्रघाती एमसीसी सम्पूर्ण रुपले खारेज गरेरै छाड्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । दर्के पानीको प्रवाह नगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कार्यकर्ताहरुको विरोध जुलुस र सभामा उल्लेख्य उपस्थिति रहेको थियो ।




































