काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सुन तस्करीबारे छानबिनमा सघाउन उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्।
उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए। अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको कामकारबाहीसँग मिल्दोजुल्दो नभएको उनकाे तर्क थियो।
अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआइजीको नेतृत्वमा नेपाल प्रहरी विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको पात्र भए पनि नैतिकताका हिसाबले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। अनियमितताको कुरामा पक्ष–विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरे। उनले भने, ‘नेसनल स्क्यान्डरको रूपमा अहिले जुन हिजो सुन काण्ड आयो, कस्तो वेलामा आयो भने प्रधानमन्त्रीको धर्मपत्नीको काजकिरिया गरेर बसिरहेको वेलामा आयो । अर्थ मन्त्रालयमातहतको भन्सार विभाग त्यहाँ हुँदोरहेछ, गृह मन्त्रालयको डिआइजीको नेतृत्वमा पुलिसहरू बस्नुहुँदोरहेछ। अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल–क्विन्टल सुन थाहा नपाईकन उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्याे। तर, नैतिकताका हिसाबले देशमा यत्रो सुन क्विन्टल–क्विन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरूले राजीनामा दिनुपर्छ कि पर्दैन ? कुरा यो हो।’
सांसद शर्माले दुवैजना मन्त्रीले तत्काल राजीनामा दिई अनुसन्धानलाई सहज बनाउनुपर्ने बताए।
त्यसैगरी सदन बाहिर पनि गृहमन्त्रीको राजिनामा माग भएकाे छ । एमाले निकट पत्रकार संगठन प्रेस चाैतारीका अध्यक्ष गणेश बस्नेतले त १ क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेकाे दाबी गरेका छन् । उनले त्यस्ताे आराेप लगाएपछि बस्नेतबिरुद्ध साइबर अपराधकाे मुद्दा समेत दर्ता गरिएकाे छ ।