भानु-भर्त्सना !

भानु-भर्त्सना !

साताको साहित्य ः कविता
*********
 
अघि अघि लाग्यो
पृथ्वीनारायणको तरवार
टाउको काट्दै स्वतन्त्रताको
नाक काट्दै स्वाभिमानको
र कान काट्दै पहिचानको !
तिमी पछि पछि लाग्यौ
रामायणको तरबार बोकेर
राज-भाषाको तोप बोकेर
जहाँ जहाँ पुग्यो
पृथ्वी नारायणको तरबार
त्यहाँ त्यहाँ पुग्यो
राज-भाषाको बीऊ
रामायणको बोरामा पसेर !
तरबारले ढालेर पनि
नढलेका शिरहरू
तरबारले काटेर पनि
नकाटिएका नाक -कानहरू
नबसेको भाषाको जग
नबसेको संस्कृतिको गजुर
ती सवै आदिम किल्लाहरू ढाल्दै
गाड्दै गयौ नयाँ किल्ला !
जति अपनत्व पूर्वक गर्यौ तिमीले
राज-कविको दायित्व पूरा
त्यतिनै अपनत्वपूर्वक
आदि-कविको पगरी पायौ
राज- खानदानका आदि-कवि तिमी !
बोल्न खोज्दै गरेका नारी-ओठमा
वधु-शिक्षाको कोर्रा लायौ
र चुप लाग्ने आदेश दियौ
राजासँग नमिल्ने जात
राजासँग नमिल्ने नाक
र राजासँग नमिल्ने रङ्गलाई
अवैध घोषणा गर्यौ
त्यत्तिकै कहाँ आदि-कवि हुन्थ्यौ !?
आज
वर्णशङ्कर समयको चौबाटोमा उभिएर
संझिरहेछु म –
तिमीले काटेका नाकहरू
तिमीले ढालेका
तिम्रा राजाभन्दा पुराना
यो माटोका छन्दहरू
अनि हेरिरहेछु-
तिम्रो शालिकमा माला लगाउँन
तँछाड मछाड “प्रगतिशील”हरू
तिम्रो महिमामण्डनमा तल्लिन
स्वघोषित गोर्की र लुसुनहरू !
कविहरूको यौटा समुह
किंकर्तव्यविमुढ बनेर
हुर्रे खाऊँ कि निगार खाऊँ गरिरहेछन्
त्यो पनि हेरिरहेछु म !
२०७५|०३|२९
ढल्को
सायद २ जना मानिसहरू को फोटो हुनसक्छ
 
 
 
सबै प्रतिक्रियाहरू:

Jagadish Chandra, Peshal Dahal र अन्य १६८ जना