रामायणमा लेखिएका कथावस्तु अनुसार भारतीय फिल्म निर्माताले तयार परेको फिल्म “आदिपुरुष“ ले आफ्नो फिल्म मार्फत नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि आघात पुर्याउने उदेश्यले निर्माण गरिएको बताउँदै काठमाडौका मेयर वालेन शाहले रोक लगाएपछि यसको वारेमा विभिन्न कोणवाट बहस सुरु भएको छ। व्यवसायीक प्रयोजनको लागि भित्र्याइएको उक्त फिल्म हलमा प्रवेश गर्न रोक लगाएपछि उनीमाथि अदालतमा मुद्दा समेत पर्न गयो । एकातिर अदालतले फिल्म नरोक्न वालेनको नाममा आदेश जारी गर्याे भने अर्कोतिर राष्ट्रियता र सार्वभौमसताको प्रश्न भएको कारण यो विषयमा अदालतको निर्णय नमान्ने बालेनले सार्वजनिक घोषणा गरेपछि यो थप चर्चा र वहसको विषय बन्न पुगेको छ ।
यसै सन्दर्भमा रामायणमा उल्लेखित विषयवस्तु, त्यसको ऐतिहासिकता र त्यसले नेपालको सार्वभौमसत्ता र अखण्डतामा पार्नसक्ने असर तथा यहाँको वास्तविकता वारेमा छलफल र वहस गर्न आवश्यक भएको छ। उक्त विषयलाई संक्षेपमा राख्न कोषिश गरिने छ।
नेपाल र भारतमा रामायण अध्यायन गर्नेको निकै ठूलो संख्या रहेको छ। रामायण कैयौं लेखकहरुले आ– आफ्नै विशेषतामा आधारित भएर लेखेका भएपनि नेपालीहरुले पढ्दै आएको चाहिँ वाल्मीकि रामायण हो। रामायणको सम्पूर्ण कथावस्तुको अध्यायन गर्दा यो त्रेतायुगसंग सम्वन्धित कथामा आधारित छ ।
आध्यात्मिक दर्शनले परिकल्पना गरेका युगहरु र त्यसको ऐतिहासिकता भ्रामक खालका रहेका छन। उनीहरूले भन्ने गरेको कथित त्रेता युगलाई द्ववापर युग पुर्व बताइएको छ । द्वापर युगको आयु उनीहरुले चार लाख वर्ष र कलियुगको आजसम्मलाई पाँच हजार वर्ष मानेका छन। यो हिसावले रामायणमा उल्लेिखत राम र सीता जस्ता पात्र मिथक हुन भन्न कुनै आइतवार कुर्नु पर्दैन । त्यसबेलाको मानव समाजको कुनै तथ्य र ऐतिहासिकता कहि कतै देखिदैन । त्यो केवल मानवीय परिकल्पना बाहेक अरु केहि होइन भन्ने स्पष्ट नै छ। तथापि रामायणमा सीता नाम गरेकी पात्रलाई राजा जनककी छोरी बनाएर कथित त्रेता युगका राजा रामसंगको विवाह सम्वन्धमा अनुबन्ध गर्ने कोषिश गरिएको छ। जसको न संदर्भ मिल्छ न प्रसंग !!
रामायणमा प्रयोग गरिएकी सीता पात्र जो छ त्यसलाई आध्यात्मवादीहरुले जनकपुरका राजा जनककी छोरी जानकी भएको व्व्याख्या गर्ने गरेका छन। अब यहाँ एउटा प्रश्न खडा हुन्छ, के जनकपुर, जनक र जानकी पनि मिथक हुन त ? यस विषयमा स्पष्ट हुन जरुरी छ। जनकपुरको ऐतिहासिकता संग जनक र जानकी जोडिन आउछन। यसको छुट्टै ऐतिहासिक पृष्ठभूमि रहेको छ । इतिहासमा प्रचिन विदेह राज्यलाई मिथिला राज्य भनिन्थ्यो । इसापुर्व १५०० वर्ष तिरको विदेह राज्यमा शासन गर्ने राजा मिथिको नामवाट नै मिथिला राज्यको नामाकरण भएको मानिन्छ। मिथि महाप्रतापि राजा भएको भन्ने नाममा उनलाई राष्ट्रपिताको उपमा दिएको थियो। त्यसै कारण उनलाई जनक समेत भनिन्थ्यो । राजा मिथि पछिका सबै राजाहरुलाई मिथिलामा जनक भन्ने प्रचलन सुरु भयो । मिथिलामा जनकहरुको राज्य एक हजार वर्षसम्म कायम रहयो। इसापुर्व ४०० वर्षतिर अजातशत्रुको हमलापश्चात मात्र जनकहरुको सत्ताको अन्त्य भएको र मिथिला राज्य तिरहुत राज्यमा रुपान्तरण भएको मानिन्छ । रामायणमा उल्लेख भएका राजा जनक र उनकी छोरी जानकीको जुन कुरा छ, त्यो इसापुर्व ५०० वर्षतिरको कुरा मानिन्छ । सिताका बुबालाई इतिहासमा शीरध्वज जनक भनिन्छ । उनी जनकहरुका प्रथम राजा मिथिका २२ औ पुस्ताका जनक मानिन्छन र जनकहरुले २५ औ पुस्तासम्म मात्र मिथिलामा शासन गरेको ईतिहास छ ।
यो ऐतिहासिक तथ्यका आधारमा हेर्दा रामायणमा उल्लेख गरिएका जनक र सीता बुद्धकालिन समयका मिथिला राज्यका शाषक भएको कुरा सहजै बुझ्न सकिन्छ। यसको सीमा पुर्वमा कोसी, पश्चिममा गण्डक नदी, उत्तरमा हिमालय क्षेत्र देखि दक्षिणमा गंगा नदी सम्मको समग्र भुभाग मानिन्छ । तीनवाटा नदी (कोसी गण्डक र गंगा)को किनाराको सिमारेखाभित्र फैलिएको भुभागमा अवस्थित भएको कारण मिथिलालाई तीरभुक्ति राज्य(पछि तिरहुत) समेत भन्ने गरिन्थ्यो । जनकपुरमा शीरध्वज जनककी छोरी सीता जसलाई जानकी समेतको नामले चिनिन्छ । उनी बाबुको शासनकालकि असाध्यै शक्तिशाली राजकुमारी समेत भएको र उनको प्रतिभाशाली शासकीय क्षमताको कारण उनको प्रचार र वर्णनको इतिहासमा निकै चर्चा र परिचर्चा समेत हुन्छ। यी सीता वा जानकीको विवाह को संग भएको थियो? राम नाम गरेको कुनै राजकुमार संग भएको थियो वा अरु कसैसंग ? यस विषयमा इतिहास मौनप्राय: देखिन्छ भने पौराणिक कथा र मिथक धारणा अनुसार चाहिँ त्रेता युगका राजकुमार राम संग उनको विवाह भएको मानिन्छ ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने बुद्धकालिन समयका शासक जनककी छोरी जानकी(सीता)को विवाह त्रेतायुगका भनिएका अयोध्यका राजकुमार??!! रामसँग कसरी भयो ? २५०० वर्ष अगाडि मिथिलामा जन्मिएकी सिताको चार लाख वर्षभन्दा अगाडि जन्मिएका भनिएका अयोध्याका राजकुमार राम संग विवाह हुन संभव हुन्छ ? यस तथ्यवाट पनि के कुरा स्पष्ट हुन्छ भने रामायण, अयोध्या र राम मिथक पात्र र कथा वाहेक अरु केही होइनन भन्ने सहजै अनुमान लगाउन सकिन्छ । जहाँसम्म मिथिलाको प्रश्न छ त्यसको प्रचिन ईतिहास संस्कृति र सभ्यता अनुपम प्रकारको रहेको पाइन्छ र यो क्षेत्र विभिन्न आरोह अवरोह बेहोर्दै यहाँसम्म आएको तथ्य सबैको सामु छ। यो राज्य कतिपय अपवाद छोडेर ईतिहासको असाध्यै लामो कालखण्डसम्म एक स्वतन्त्र तथा सार्वभौम राज्यको रुपमा कायम रहिरहयो। पछिल्लो समय मिथिला मकवानपुरे सेन राजाहरुको अधिनमा आएपछि मिथिला राज्यको स्वतन्त्रता र सार्वभौम समाप्त भयो। पछि पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको क्रममा उनले( पृथ्वीनारायण शाहले) मकवानपुरका सेन राजाहरुमाथि विजय प्राप्त गरेपछि यो नेपाल राज्यअन्तर्गत रहन आएको हो। यसरी एउटा स्वतन्त्र र सार्वभौम राज्य मिथिला सेन राज्यको अधिन हुँदै नेपाल राज्यमा गाभिन गएको ऐतिहासिक तथ्य हामी सबैको सामु छ। इष्ट इन्डिया कम्पनिको नाममा बेलायति साम्राज्यवादले दिल्ली सहित भारतका अधिकांश भुभागमाथि उपनिवेश लागू गरेपछि भारतको स्वतन्त्रता र सार्वभौमिकता अंग्रेजको हातमा पर्न गयो । यसरी भारत अंग्रेजले लिएपछि उसले नेपाली भुमिमाथि पनि आक्रमण सुरु गर्याे। अंग्रेज सेनाको आक्रमणको विरुद्धमा नेपाली जनताहरुले विरतापुर्वक लडेपनि यहाँका शाहवंशीय राजाहरुले जनतालाई धोका दिदै सुगौली सन्धि गर्न पुगे र सुगौली सन्धिको माध्यमवाट मिथिला राज्य अन्तरर्गतका थुप्रै भुभागहरु नेपालवाट अलग भई इष्ट इन्डिया कम्पनीको अधिनमा रहेको भारत राज्यमा गाभिन पुगे। हाल कायम भारत राष्ट्र भित्र रहेका थुप्रै कमजोर तर स्वतन्त्र र सार्वभौम राष्ट्रहरुमाथि अधिपत्य जमाएको अंग्रेजको इष्ट इन्डिया कम्पनी सरकारले भारत छोडेर आफ्नो भारतीय कठपुतली सरकारलाई उक्त भुमि सुम्पेर गएपछि मात्र आधुनिक भारतको जन्म भएको हो ।
यसरी सुगौली सन्धि पछि मिथिला क्षेत्र र यहाँको राष्ट्रियता विभाजित हुनुका साथसाथै त्यहाँको संस्कृित परम्परा र सभ्यतामाथि गम्भीर आघात पर्न गयो । यसप्रकार नेपाल राष्ट्र अन्तर्गत रहेको मिथिला राज्य अंग्रेजको आक्रमण र षड्यन्त्र तथा नेपालका शाहवंशीय राजाहरुको गद्दारीको कारण दुई देशमा विभक्त भई कम्जोर हुन पुग्यो । यस संदर्भमा नेपालीहरुले सुगौली सन्धिको विरोध गर्नुको तात्पर्य अंग्रेजको आक्रमण र षड्यन्त्र तथा शाहवंशीय राजाहरुको गद्दारीको कारण नेपालको मिथिला क्षेत्रको गुमेको समग्र भुमिमाथिको हाम्रो दावी कायम छ भन्ने अर्थमा हो र हुनुपर्दछ।
अब प्रसंग जोडौं रामायण, राम र सिताको । माथिनै बताइसकियो कि रामायण राजा जनक र उनकी छोरी सिताको रामसंग भएको भनिएको कथित विवाह एउटा भ्रामक प्रचारवाजीमा आधारित काल्पनिक कथावस्तुभित्रको मिथक काव्य प्रस्तुति बाहेक अरु केही पनि होइन। तर यसमा ध्यान पुर्याउनु पर्ने अर्काे पार्टाे के छ भने रामायण नेपाल राष्ट्रको स्वतन्त्रता सार्वभौमसत्ता र अखण्डतामामाथिको एउटा धारिलो तरवार सावित भएको छ। यसले सितासंग जोडिएको मिथिला क्षेत्र र त्यससँग जोडिन आएको नेपालको सार्वभौममाथि प्रहार केन्द्रति गरेको छ र यस प्रकारको देश जनता र राष्ट्रियता विरोधि मिथक ग्रन्थलाई हिन्दु धर्मको पवित्र महाकाव्यको रुपमा नेपालीहरुको घरघरमा पढाइदै आएको छ । काठमाडौंका मेयर बालेन शाहले वर्तमान दलाल सत्ताको अदालतको हस्तक्षेपको बाबजुद सीता भरतकी हुन भन्ने कथावस्तुमा आधारित फिल्म “आदिपुरुष“ बन्द गर्ने निर्णय गरेर ठिकै गरेका छन। यो मामिलामा उनी यहि सत्तको अंगको रुपमा रहेर कति समयसम्म लड्न सक्छन ? त्यो हेर्न बाँकी नै छ। तर “आदिपुरुष“ फिल्म बन्द गरेर मात्र हुदैन हिन्दु धर्मको आडमा मिथक कथावस्तुमा आधारित रामायणको कारण “आदिपुरुष“जस्ता भ्रामक राष्ट्र विरोधि फिल्मि कथावस्तु निर्माण भएको तथ्यलाई हामीले भुल्नु हुदैन। तसर्थ रामायण जस्ता तथ्यहिन तथा नेपाली जनता राष्ट्र र यहाँको सार्वभौमसत्ताको विरुदमा लेखिएका र पढाउदै आएका भारतीय हस्तक्षेपका सांस्कृतिक एवं साहित्यिक रचना र काव्यहरु सम्पूर्ण रुपले बहिस्कार गर्न सक्नु पर्दछ। तब मात्र नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने प्रक्रियामा अगाडि जाने राजनीतिक आधार निर्माण हुनसक्छ ।





























