कोरियन युद्धको ७३औँ वर्षगाँठमा उत्तर कोरियाको विशाल ¥याली : ‘अमेरिकी साम्राज्यवाद’का विरुद्ध युद्धको चेतावनी

कोरियन युद्धको ७३औँ वर्षगाँठमा उत्तर कोरियाको विशाल ¥याली : ‘अमेरिकी साम्राज्यवाद’का विरुद्ध युद्धको चेतावनी

 

एजेन्सी । उत्तर कोरियाले कोरियन युद्धको ७३औँ वर्षगाँठको उपलक्ष्यमा राजधानी प्योङयाङमा विशाल ¥यालीको आयोजना गरेको छ । र्‍यालीमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्दै ‘बदलाको युद्ध’को चेतावनी दिइएको छ ।
जुलुसमा एक लाख २० हजार युवा तथा मजदुर सहभागी भएको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएलाई उधृत गर्दै अलजजिराले जनाएको छ। उक्त जुलुसमा त्यहाँको शासनमा रहेको वर्कर्स पार्टीका महासचिव पनि सहभागी थिए।

फोटोहरूमा देखिएअनुसार रंगशाला मान्छेहरूले भरिएको थियो र अधिकांशले सेतो सर्ट लगाएका थिए। केहीले मार्च पास गर्दै दायाँ हात मुठी बनाएर हावामा झड्कारिरहेका थिए। अरू केहीले प्लाकार्ड बोकेका थिए, जहाँ ‘पूरै अमेरिकाको मुख्य भाग हाम्रो सुटिङ दायरमा पर्छ’ र ‘साम्राज्यवादी अमेरिका शान्तिको विनाशक हो’ लगायत नारा लेखिएको थियो।

कोरियन युद्ध १९५० जुन २५ मा शुरू भएको थियो। उत्तर कोरियाले प्योङयाङअन्तर्गत कोरियन प्रायद्वीप एकीकरण गर्न भन्दै दक्षिण कोरियामाथि आक्रमण गरेपछि उक्त युद्ध शुरू भएको हो। यो युद्ध तीन वर्ष चलेको थियो। युद्धमा उत्तर कोरियालाई चीन र तत्कालीन सोभियत संघ तथा दक्षिण कोरियालाई अमेरिकाले सघाएका थिए। त्यतिबेला करिब २० लाख मानिस मारिएका थिए।