विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– भारतसँग गरिएको राष्ट्रघाती र आत्मसमर्पणवादी ७ बुँदे सहमति खारेज गर !

विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले भन्यो– भारतसँग गरिएको राष्ट्रघाती र आत्मसमर्पणवादी ७ बुँदे सहमति खारेज गर !

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा गरेको ७ बुँदे सहमति राष्ट्रघाती र आत्मसमर्पणवादी रहेको ठहर गर्दै उक्त राष्ट्राघाती सहमति खारेज गर्न माग गरेको छ । उक्त राष्ट्रघाती सहमतिको विरोध गर्ने क्रममा गिरफ्तारीमा परेका युवा तथा विद्यार्थी नेताहरु– हरिकृष्ण गजुरेल, मिलन राई, विरेन्द्र शाह, केवि मल्ल, झलक विक, कविता कार्कि, उषाकिरण ‘आजाद’, डिवि शाही, सपना पुन, नमराज विक र कविता लामालाई तुरुन्त रिहाई गर्न पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले जोडदार माग गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएकोे छ, “आफुलाई “कम्युनिष्ट” नै भन्न रुचाउने तर कम्युनिष्ट मुल्यमान्यताबाट च्युत भएर सर्वाङ्ग नाङ्गै भएका नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट नेपाल फर्केकाछन् । भारत भ्रमणका क्रममा उनले देशभित्र राष्ट्रपति मार्फत राष्ट्रघाती नागरिकता बिद्येक पारित मात्र गराएनन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ बुँदे समहमति गरेका छन् । उक्त ७ बुँदे सहमति सारतः राष्ट्रघाती र आत्मसमर्पणवादी रहेको तथ्य स्पष्ट छ । यो भ्रमण र सहमति नेपालका प्रधानमन्त्रीका कैयौ दाविका बाबजुद विगत सरकार र सरकार प्रमुखहरुले गर्ने गरेको राष्ट्रघातको निरन्तरता बाहेक अरु केहि होईन । यसखाले राष्ट्रघाती र आत्मसमर्पणवादी कार्यको बिरोध गर्न जुटेका युवा तथा विद्यार्थी नेताहरु– हरिकृष्ण गजुरेल, मिलन राई, विरेन्द्र शाह, केवि मल्ल, झलक विक, कविता कार्कि, उषाकिरण ‘आजाद’, डिवि शाही, सपना पुन, नमराज विक र कविता लामालाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल गेटबाट गिरफ्तार गरेको छ । हाम्रो पार्टी उहाँहरु सबैजनाको तुरुन्त रिहाईको जोडदार माग गर्दछ र राष्ट्रघाती सहमतिहरु खारेज गर्न जोडदार माग गर्दछ ।”