काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले हिरासतमा नराखी ‘बयान कागज’ गराएर छाडेको छ । काठमाडौं प्रहरी परिसरमा खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बताएको छ । प्रहरी उच्च स्रोतले घटनाको विषयमा आवश्यक सोधपुछ गरिएको र चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको जानकारी दियो ।
चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो ।
शेरबहादुर देउवापत्नी आरजु राणालाईलाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडियो पक्राउ परेकाले प्रहरीलाई दिएका छन् । यो अडिओबारे पनि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेका थिए ।
विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरूले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् ।
गृह सचिव पाण्डेले गृहमन्त्री खाणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।
सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवापत्नीको समेत संलग्नता
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन् भने कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएका छैनन् ।
भुटानी शरणार्थी समस्या समाधान गर्ने होइन, नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारका पाला कार्यदल गठन गरिएको विभिन्न कडीहरूले देखाएका छ । केशव दुलाल र सानु भण्डारीको गिरोहले बनाएको योजनाअनुसार कार्यदल बनाई उनीहरूले नै प्रस्ताव गरेकै व्यक्ति राखिएको सम्बन्धित सदस्यले नै पुष्टि गरेका छन् । तर, ओलीको पाला सुरु भएको धन्दालाई त्यसपछि आएको सरकारका जिम्मेवार पदाधिकारीले निरन्तरता दिएको तथ्य भेटिएको हो ।
ओली नेतृत्वको सरकारका पाला २०७६ असार २९ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठेपछि गृह मन्त्रालयमै थन्किएको थियो । तर गिरोहको स्वार्थसिद्ध हुने गरी शंकास्पद प्रतिवेदन कार्यान्वयनमा नयाँ गृहमन्त्री अग्रसर भएका थिए ।
पन्थीको कार्यदलले छुटेका शरणार्थीको सूचीमा समावेश गर्न ४ सय २९ जनाको नाम सिफारिस गरेको थियो । यो प्रतिवेदनमा नै नक्कली शरणार्थी परेको भनेर प्रश्न उठेकोमा उक्त प्रतिवेदन अध्ययन गरी भुटानी शरणार्थी समस्या समाधान गर्न सुझाव पेस गर्ने गरी पाण्डेले ‘सचिवस्तरीय’ निर्णयबाट अर्को समिति गठन गरेका थिए । उनले २०७८ असोज १४ मा झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरे पनि झापा जिल्ला प्रशासनले भने अग्रसरता लिएन, यो विषय विवादास्पद भइसकेकाले तत्काल अघि नबढाउन मौखिक रूपमा मन्त्रालयमा जानकारी गराएको झापा प्रशासनका तत्कालीन अधिकारीहरू बताउँछन् ।
झापा प्रशासनबाट कुनै प्रतिवेदन नआउँदै २०७८ मंसिर १३ मा बसेको मन्त्रिपरिषद् बैठकले पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यसरी ओली सरकारका पालामा बनेको प्रतिवेदन देउवा नेतृत्वको सरकारले पनि कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखिएको थियो । यसअघि सचिवस्तरीय निर्णयबमोजिम पठाइएको पत्रको ‘फलोअप’ गर्न मन्त्रीस्तरीय निर्णय गरेर २०७९ जेठ २७ मा झापा प्रशासनलाई अर्को पत्र पठाइएको थियो । पहिले पाण्डेले लेखेको पत्रअनुसार काम गर्नु भन्दै भदौसम्मको म्यादसमेत थपेर गृहमन्त्री खाँणको निर्णय भन्दै लेखिएको पत्रको पहिलो बुँदामा भनिएको थियो, ‘कार्य सम्पादनको सिलसिलामा आवश्यक परे उपसमिति गठन गरी काम गर्न गराउन सक्ने छ ।’
दोस्रो बुँदामा भनिएको छ, ‘भुटानी शरणार्थीसम्बन्धी पूर्वरतत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान र व्यवस्थापनका लागि ठोस राय एवं सुझावसहित पेस गर्ने ।’ यसरी ओली सरकारका पाला गठन भएको कार्यदल र देउवा सरकारका पाला गठन भएको समितिलाई कार्यादेश दिँदा ‘छुट शरणार्थी’ भनेर नक्कली खडा गर्ने ठाउँ बनाइएको घटनाक्रमले पुष्टि गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँगको साँठगाँठ खुलेपछि उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित गिरोहका अरू सदस्यहरूको बयान तथा प्राविधिक अनुसन्धानपछि पाण्डे यस प्रकरणमा तानिएका छन् । धन्दामा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । त्यही प्रमाणका आधारमा अदालतबाट अनुमति लिएर प्रहरीले तत्कालीन गृह सचिव पाण्डेलाई जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । आइतबार काठमाडौं जिल्ला अदालतले पाण्डेसहित हाल प्रहरी नियन्त्रणमा रहेका ८ जनालाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
भुटानबाट विस्थापित भई आएका १ लाख १३ हजारभन्दा बढी शरणार्थी नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पुनर्वासमा गइसकेका छन् । तेस्रो देश जान अनिच्छुक ६ हजार ३ सय ६५ जनालाई नेपालमै कार्य सहमति दिने विषय अघि बढेकोमा गिरोहले ‘छुट’ शरणार्थी खडा गरेर पैसा उठाउने धन्दा रचेको थियो । यसक्रममा एक जनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेको तथ्य बाहिरिएको थियो । गिरोहले दाङ, अर्घाखाँची, सल्यान, झापा, मोरङ, सुनसरी, बागलुङ, गोर्खा, कास्की, प्यूठानलगायत जिल्लाका युवाबाट रकम उठाएको भेटिएको छ ।