मोहन वैद्य किरण अब क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अध्यक्ष, धर्मेन्द्र बाँस्तोला कञ्चन बने पार्टी प्रवक्ता

मोहन वैद्य किरण अब क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अध्यक्ष, धर्मेन्द्र बाँस्तोला कञ्चन बने पार्टी प्रवक्ता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले एकता अधिवेशन गरी पार्टी एकता प्रक्रिया टुंग्याएका छन् । दुवै पार्टीले एकता गरी नयाँ पार्टी बनाएका छन् । नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ राखिएको छ ।

आज दुवै पार्टीको संयुक्त एकता अधिवेशनले नवगठित पार्टीको अध्यक्षमा मोहन वैद्य किरणलाई चयन गरेको छ भने पार्टी प्रवक्तामा धर्मेन्द्र बास्तोलालाई चयन गरेको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न एकता अधिवेशनले २६७ जनाको महाधिवेशन आयोजक समित समेत बनाएको छ । अधिवेशनले १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय समेत बनाएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) १८ गते सोमबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने समेत निर्णय गरेको छ ।


गौरवको अध्यक्षता र सुदर्शनको सञ्चालनमा सम्पन्न अधिवेशनमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त चर्चा गर्दै पार्टी एकताको सम्बन्धमा गरिएको समझदारीका बारेमा मन्तव्य राख्नुभएको थियो ।


एकता अधिवेशनमा कञ्चनले राजनीतिक प्रतिवेदन र राजवीरले विधान प्रस्तुत गर्नुभएको थियो भने संगठनात्मक प्रस्ताव अधिवेशनका अध्यक्ष गौरवले गर्नुभएको थियो । विधान, प्रतिवेदन र संगठनात्मक प्रस्ताव हलले ताली बजाएर पारित गरेको थियो ।


एकता अधिवेशनको अन्तमा प्रितमले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने नवगठित पार्टीको अध्यक्षको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।


अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको एकता अधिवेशन विभिन्न समयसामयिक नाराहरु लगाएर समापन गरिएको थियो ।