१. पृष्ठभूमि
नेपाली एकता समाज भारतको पृष्ठभूमि नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएको छ । त्यसकारण नेपाली राजनीतिक घटनाक्रमसँग भारत स्थित अखिल भारत नेपाली एकता समाजको घटनाक्रमहरुलाई मिलाएर प्रस्तुत गर्ने प्रयास गरिएको छ । वि.सं. २०१७ सालमा राजा महेन्द्रले तत्कालीन संसदलाई विघटन गरी पार्टीमाथि प्रतिबन्ध लगाउँदै आफ्नो निरङ्कुश शासन सुरु गरे । पार्टीका नेताहरुलाई जेल हाले । गिरफ्तार नभएका पार्टीका नेता तथा कार्यकर्ताहरु भागेर भारतको विभिन्न ठाउँमा बस्न थाले । देशभित्र पार्टीमाथि प्रतिबन्ध लगाए पनि भारतबाट पार्टी सञ्चालन भइनै रह्यो । यता नेपालमा पनि भूमिगत अवस्थामा पार्टीहरु सञ्चालन भइ नै रहे । ०१७ सालको घटनापछि नेपाल कम्युनिष्ट पार्टीको प्लेनम भारतको दरभंगामा भएको थियो । जसलाई नेपालको कम्युनिष्ट आन्दोलनमा दरभंगा प्लेनमबाट चिनिन्छ, जुन प्लेनमले संविधान सभाको चुनावको माग गर्ने प्रस्ताव पास गरेको थियो । तेस्रो महाधिवेसन वि.सं. २०१९ सालमा भएको थियो । तेस्रो महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टीमा फुट र विभाजन सुरु भयो । वि.सं. २०२५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक का.पुष्पलालले भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन गरेर आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको पुुुनर्गठन गर्नुभयो । त्यसपछि वि.सं. २०२८ सालमा का.मोहन विक्रम सिंह, का. निर्मल लामा, का.मनमोहन अधिकारीको पहलमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय न्यूक्लस गठन भयो । प्रारम्भमा न्यूक्लसको सेक्रेटरी मनमोहन अधिकारी हुनुभएको थियो । तर उहाँ लामो समयसम्म केन्द्रीय न्यूक्लसमा रहन सक्नु भएन । मोहन विक्रम सिंह र निर्मल लामाहरुले वि.सं. २०३१ सालमा चौथो महाधिवेशन गर्नुभयो । त्यसपछि यस पार्टीलाई अन्य पक्षले चौ.म समुह भन्न थाले । वि.सं.२०२८ सालमा नै का.चारु मजुुम्दारको नेतृत्वमा चलिरहेको भारतको बहुचर्चित नक्सलवादी आन्दोलनको प्रभावमा परेर नेकपाको झापा जिल्ला कमिटीले पूर्वी प्रान्तीय कमिटीसँग सम्बन्ध विच्छेद् गरेर वर्ग शत्रु खत्तम लाइनको आधारमा सशस्त्र संर्घष सुरु गर्यो । त्यो धारा नेकपा (को.के.) हुँदै वि.सं. २०३५ सालमा नेकपा (माले) बन्यो । यो अवधिमा नेपालका प्राय: सबै राजनीतिक पार्टीहरुले भारतीय भूमिमा रहेर नै देशभित्र पार्टी गतिविधिहरु सञ्चालन गरिरहे ।
का.चित्रबहादुर के.सी.को अनुसार ̎चौँथो महाधिवेशनको केन्द्रीय समितिमा भारतमा छरिएर रहेका नेपालीहरुको नेपालको प्रजातान्त्रिक र बामपन्थी आन्दोलनमा अत्यन्त ठूलो भूमिका हुन सक्छ भन्ने बारेमा छलफल भएको थियो । दुई चार वर्ष छलफल मै बित्यो र पछि वि.सं. २०३४ सालतिर भारतमा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्नुपर्दछ भन्ने कुरा पार्टीभित्र औपचारीक रुपमा निर्णय भएको थियो ।̎ (गोविन्दा सिंह थापा ̎भारतमा एकता समाज” पृष्ठ. ५)
वि.सं. २०३५ सालमा का.मोहन विक्रम सिंहलाई पार्टीले चारित्रिक विषयमा पार्टी सदस्यता समेतबाट दुई वर्षको लागि निलम्बन गरेको थियो र का.निर्मल लामा महामन्त्री बन्नुभएको थियो । त्यसपछि बसेको केन्द्रीय समितिको बैठकले मलाई पनि केन्द्रीय समितिको वैकल्पिक सदस्यमा मनोनित गर्यो । त्यसपछि भारतमा छरिएर रहेका नेपालीहरुलाई संगठित गर्ने विषयमा केन्द्रीय समितिमा भएका छलफल र निर्णयहरुबारे मलाई स्मरण भएका कुराहरु प्रस्तुत गरेको छु ।
वि.सं.२०३६ को पञ्चायती व्यवस्था विरोधी आन्दोलन रोक्ने उद्देश्यले तत्कालीन राजा विरेन्द्रले पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थाको बीचमा जनमत सङ्ग्रह गराउने घोषणा गरे । यस घोषणाबाट उत्पन्न राजनीतिक परिस्थितिमा आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गर्न कारबाहीमा परेका मोहन विक्रम सिंहलाई पनि बोलाइयो । उहाँलाई कारबाहीको अवधि पुरा नहँुदै पार्टी सदस्यता दिएर आमन्त्रित रुपमा केन्द्रीय समितिको बैठकमा उपस्थित गराइयो । त्यसै बैठकमा हो वा अर्को बैठकमा हो मलाई ठ्याक्कै सम्झना भएन, एउटा बैठकमा भारतमा छरिएर रहेका नेपालीहरुलाई सङ्गठित गर्ने एजेन्डा बैठकमा राखियो । तत्कालीन महामन्त्री का. निर्मल लामा दिल्ली गएर पार्टीको पूर्वनिर्णयअनुसार त्यहाँको नेपालीहरुलाई संगठित गर्न प्रयास गर्नुभएको रिपोर्ट राख्नुभयो । नेपालीहरुलाई सङ्गठित गर्ने आधार तयार पार्नका लागि ूदिल्लीमा नेपालीू भन्ने पत्रिका दिल्लीबाट प्रकाशन गरेको कुरा रिपोर्टिङ गर्नुभयो । यो कुरालाई संस्थापक सदस्य का.राजु नेपालीले आफ्नो सस्मरण लेखमा ूहामीले दिल्लीमा रहेका नेपालीहरुलाई संगठित गर्ने भनेर ूदिल्लीमा नेपालीू भन्ने पत्रिका छापेर सङ्गठित गर्यौंू भनेर उल्लेख गर्नुभएको छ । (गोविन्दा सिंह थापा– ̎भारतमा एकता समाज” पृष्ठ–१५) गोविन्दा सिंह थापाले पनि एकता समाजको गठन नहुँदै दिल्लीबाट ̎दिल्लीमा नेपाली̎ भन्ने पत्रिका प्रकाशित भएको थियो भन्नु हुन्छ । यो विषयमा बैठकमा व्यापक छलफल भएपछि अन्तत: भारत भरी छरिएर रहेका नेपालीहरुलाई संगठित गर्न एउटा सामाजिक संगठन बनाउने निर्णय भयो । नयाँ निर्माण हुने संगठनलाई सञ्चालन गर्न पार्टीले का.गोविन्द सिंह थापा र का.दण्डपाणि न्यौपानेलाई जिम्मा दिने निर्णय गर्यो ।
२. एकता समाजको गठन र विस्तार
पार्टीको निर्णयअनुसार अखिल भारत नेपाली एकता समाजको स्थापना सन् १९७९ को नोभेम्बर ७ (तदअनुसार वि.सं. २०३६ साल कार्तिक २१ गते) का दिन भारतको धार्मिक शहर बनारसस्थित विश्वेश्वर गञ्जको एउटा धर्मशालामा भएको थियो । त्यो भेलामा गोविन्द सिंह थापा (गोरखपुर), दण्डपाणि न्यौपाने (गोरखपुर), रामचन्द्र शर्मा (मद्रास), पदम राना (दिल्ली), राजु नेपाली (दिल्ली), दुर्गाप्रसाद शर्मा (मद्रास), र रत्न बहादुर (कलकत्ता) बाट आउनुभएको थियो । का.राजु नेपालीका अनुसार त्यो भेला सम्पन्न गर्न पार्टीबाट का.मोहन विक्रम सिंह र का.चित्र बहादुर के.सी. पनि त्यहाँ पुग्नु भएको थियो । १० दिनको छलफलपछि संगठनको नाम ूअखिल भारत नेपाली एकता समाजू रह्यो भने उपरोक्त सात जनाको केन्द्रीय संगठन समिति बन्यो । जसमा अध्यक्षमा गोविन्दा सिंह थापा, उपाध्याक्षमा रामचन्द्र शर्मा, मन्त्रीमा पदम राना र उपमन्त्रीमा दण्डपाणि न्यौपाने चयन हुनु भएको थियो । का.गोविन्दा सिंह थापा र का.दण्डपाणि न्यौपाने पार्टीले खटाएका पूर्णकालीन कार्यकर्ता थिए भने अन्य ५ जना भारतमै नोकरी तथा पेशा गर्ने कमरेडहरु हुनुहुन्थ्यो ।
यो एकता समाजले सन् १९८१ (वि.सं. २०३८) देखि संगठनको मुख पत्र ूनेपाली एकताू प्रकाशित गर्न थाल्यो । यसको प्रकाशक बाबुराम भट्टराई र सम्पादक गोविन्द सिंह थापा हुनु हुन्थ्यो । प्रारम्भमा आवश्यकता अनुसार निस्कने यो मुखपत्र पछि मासिक रुपमा प्रकाशित हुन थाल्यो । भारतभरि छरिएर रहेका नेपालीहरुलाई संगठित गर्न यस पत्रिकाले महत्वपूर्ण भुमिका खेल्यो ।
अखिल भारत नेपाली एकता समाजलाई अझ विस्तार र व्यवस्थित गर्न पार्टीले केन्द्रीय सदस्यमध्येबाट नै का. सि.पी.गजुरेललाई यस संगठनमा पठायो । यस संगठनको प्रथम सम्मेलन सन् १९८२ को सेप्टेम्बरको ५,६,७ (तदानुसार वि.सं. २०३९ साल भाद्र २०, २१ र २२) मा नयाँ दिल्लीको निलकण्ठ भवन आइ. आइ. टी. गेटमा भव्य रुपमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले का.गोविन्दा सिंह थापालाई सभापति र का.सी.पी. गजुरेल (गौरव) लाई महासचिवमा निर्वाचित गरेको थियो ।
यो प्रथम सम्मेलन हुने बेला (वि.सं. २०३९ साल) सम्म पार्टीमा राजनीतिक मतभेदहरु बढ्दै गएको थियो । यो मतभेद बढ्दै सांगठनिक फाँटमा पनि देखा पर्यो । वि.सं. २०४० सालमा सम्पन्न राष्ट्रिय सम्मेलनले का.निर्मल लामा, का.जयगोविन्द साह, का.सूर्यनाथ रान यादव, का.दिल बहादुर श्रेष्ठहरुलाई पार्टीबाट निस्कासन गर्यो । का.निर्मल लामाहरुले पनि पार्टी बनाउनु भयो । यसरी पार्टीमा फुट आयो । का.मोहन विक्रम सिंह र का.मोहन वैद्यले नेतृत्व गरेको पार्टीको नाम नेकपा (मसाल) भयो भने का.निर्मल लामाले नेतृत्व गरेको पार्टीको नाम नेकपा (चौम) भयो । यस फुटको असर नेपालभित्र परे पनि भारतको सामाजिक संगठन अखिल भारत नेपाली एकता समाजमा खासै परेन । तर वि.सं. २०४२ सालमा नेकपा (मसाल) मा पुन: फुट भयो । यो फुटको असर भने अखिल भारत नेपाली एकता समाजमा गम्भिर रुपमा पर्यो । वि.सं. २०४१ सालमा नेकपा (मसाल) को पाँचौ महाधिवेशन भयो । त्यो महाधिवेशनले का.मोहन विक्रम सिंहलाई पार्टी सदस्यता समेतबाट ६ महिनाको लागि निलम्बन गर्यो । ६ महिना पुगेपछि मोहन विक्रम सिंहलाई अर्को ६ महिनाको लागि कारबाही थप गर्यो । त्यसपछि केन्द्रीय सदस्यहरु का.चित्र बहादुर के. सी., का.रामसिंह श्रीस, का.भैरव रेग्मी र का.गोविन्दा सिंह थापाको नेतृत्वमा पार्टीमा विद्रोह गर्ने निर्णय भयो । त्यतिबेला अखिल भारत नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन गर्ने मिति र स्थान ठेगान भइसकेको थियो । अखिल भारत नेपाली एकता समाजको सभापति गोविन्द सिंह थापा पार्टीको अल्पमत पक्षमा हुनु हुन्थ्यो भने महासचिव का.सी.पी. गजुरेल बहुमत पक्षमा हुनु हुन्थ्यो । यस प्रकारको स्थितिमा पार्टी केन्द्रले सम्मेलन तत्काल स्थगन गर्न निर्देशन दियो । त्यो निर्देशनलाई हामीले मानेनौं र पूर्वनिर्धारित समय र स्थानमा दोस्रो राष्ट्रिय सम्मेलन गर्नतिर लाग्यौं । अखिल भारत नेपाली एकता समाजको दोस्रो सम्मेलन सन् १९८५ को डिसेम्बर महिनाको १० तारिखदेखि १४ तारिखसम्म (तदानुसार वि.सं. २०४२ मंसिर २५ गतेदेखि २९) सम्म नयाँ दिल्लीस्थित जवारलाल नेहरु यूनिभर्सिटीमा सम्पन्न भएको थियो । यहि सम्मेलनमा नै नेकपा (मसाल) पुनर्गठन गरेको घोषणा गरियो । यो सम्मेलनमा बहुमत पक्षका साथीहरु सहभागी हुनु भएन । केही समयपछि उहाँहरुले भारतको कलकत्ता शहरमा दोस्रो राष्ट्रिय सम्मेलन गर्नुभयो । त्यसरी भारतमा एउटै नामका दुईवटा समानान्तर संगठनहरु सञ्चालन भए । मानिसहरुले दिल्ली पक्ष र कलकत्ता पक्ष भनेर चिन्दथे । दुवै संगठनहरुले आ–आफ्नो नीतिअनुसार संगठनात्मक गतिविधिहरु सञ्चालन गर्दै अगाडि बढ्दै गए ।
सन् २००२ को फरबरी १०–१३ मा सम्पन्न अखिल भारत नेपाली एकता समाज (दिल्ली पक्ष) को पाचौं अखिल भारत सम्मेलनले आफ्नो नामको अगाडि मूलप्रवाह थप्यो । यसपछि यस संगठनको नाम ूमूलप्रवाह अखिल भारत नेपाली एकता समाजू भयो । वि.सं. २०५८ मा राजा ज्ञानेन्द्रले देशमा सङ्कटकाल लगाएपछि भारत सरकारले अखिल भारत नेपाली एकता समाज (कलकत्ता पक्ष) माथि प्रतिबन्ध लगायो । त्यसपछि यस संगठनले नेपाली जनअधिकार मञ्चको नामबाट आफ्ना गतिविधिहरु अगाडि बढायो । त्यसरी एउटै संगठनबाट अगाडि बढेको अखिल भारत नेपाली एकता समाज अब एउटा पक्ष मूलप्रवाह अखिल भारत नेपाली एकता समाज र अर्को पक्ष नेपाली जनअधिकार मञ्चको नामबाट आफ्ना गतिविधिहरु अगाडि बढाए ।
वि.सं. २०५९ सालमा नेकपा (मसाल) र नेकपा एकताकेन्द्रको बीचमा एकता भएर नेकपा (एकताकेन्द्र–मसाल) बन्यो । भारतमा नेकपा (एकताकेन्द्र)सँग सम्बन्धित ̎नेपाली एकता मञ्च” नामको संगठन थियो । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज र नेपाली एकता मञ्चको बीचमा एकता भयो । एकीकृत संगठनको नाम मूलप्रवाह अखिल भारत नेपाली एकता समाज नै रह्यो । वि.सं. २०६३ सालमा नेकपा (एकताकेन्द्र–मसाल) मा फुट भएर तीन समुहमा विभाजित भयो । का.मोहन विक्रम सिंहले नेतृत्व गरेको समुहले आफ्नो समुहको नाम नेकपा (मसाल) राख्यो । का.नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको समुहले आफ्नो समुहको नाम नेकपा (एकताकेन्द्र–मसाल) नै राख्यो । म र का.चित्र बहादुर आले लगायत आठजना सी.सी.एम.हरुले नेतृत्व गरेको समुहको नाम (एकताकेन्द्र–मसाल) महाधिवेशन आयोजक समिति राखियो । यस घटनाको असर मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि पर्यो । हाम्रो राजनीतिक लाइनसँग सम्बन्धित साथीहरुले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजबाट वि.सं. २०६३ सालमा विद्रोह गरेर ̎नेपाली एकता समाज भारत” गठन गर्नुभयो । यसको अध्यक्ष प्रेम पौडेल हुनु भएको थियो तर उहाँ छिटै नै मूलप्रवाहमा नै फर्कनु भयो । यता अन्य साथीहरुले सम्मेलन गरेर पहिले क.टेकबहादुर केसी र त्यसपछि क.आनन्द थापालाई अध्यक्षमा निर्वाचित गर्नुभयो ।
प्रचण्डले नेतृत्व गरेको एकीकृत नेकपा (माओवादी)ले दक्षिणपन्थी दिशा समातेपछि वि.सं. २०६९ सालमा त्याहाँका क्रान्तिकारीहरुले नेकपा–माओवादी गठन गर्नुभयो । यसको असर भारतमा रहेको ̎नेपाली जनअधिकार मञ्च”मा पनि पर्यो । एउटै नामको दुईवटा समानान्तर संगठनहरु सञ्चालन भए । नेकपा–माओवादीलाई समर्थन गर्ने संगठनको नेतृत्व लक्ष्मण पन्तले गर्नुभयो ।
वि.सं. २०७२ सालमा नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच पार्टी एकता भई नेकपा (क्रान्तिकारी माओवादी) बन्यो । भारतमा पनि नेकपा–माओवादीलाई सर्मथन गर्ने नेपाली जनअधिकार मञ्च र नेकपा (एकीकृत)लाई सर्मथन गर्ने नेपाली एकता समाज भारतको बीच एकता भयो । एकीकृत संगठनको नाम ूनेपाली एकता समाज भारतू नै राखियो । यसको अध्यक्ष लक्ष्मण पन्त हुनुभयो । तर उहाँ बादलहरुसँग प्रचन्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) मा फर्कनु भयो त्यसपछि नेपाली एकता समाज भारतको अध्यक्ष आनन्द थापा हुनुभयो ।
३. संगठन विस्तार व्यापक हुनुको कारण
अखिल भारत नेपाली एकता समाजको गठन भएपछि यस संगठनले भारतमा अन्यायमा परेका नेपालीहरुको हक अधिकारको लागि संर्घष गर्न सुरु गर्यो । त्यहाँ श्रम गर्ने नेपालीहरुलाई मालिकहरुले तलब नदिने, विनाकारण नोकरीबाट निकालिदिने, झुट्टा मुद्दा लगाइदिने आदि गर्दथे । संगठनले त्यसको विरुद्ध संघर्ष गरेर तलब दिलाइ दिने, नोकरी लगाई दिने, झुट्टा मुद्दाहरु खारेज गर्न सहयोग गर्ने आदि कामहरु गर्न थाल्यो । संगठनले कैयौं बेचिएका नेपाली चेलीहरुलाई उद्दार गरेर नेपालको आफ्नो घरमा पठाइदिने कामहरु पनि गर्यो । विचल्लीमा परेका कतिपय नेपालीहरुलाई आवश्यक उद्दारहरु पनि गर्दै गयो । संगठनले मदिराको लतमा फसेका, जुवातास खेल्ने कुलतमा फसेका नेपालीहरुको बानी व्योहरामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । यिनै कामहरुले गर्दा नेपालीहरुले नेपाली एकता समाजलाई आफ्नो अभिभावकको रुपमा मान्न थाले । यिनै कारणहरुले गर्दा भारतमा रहेका नेपालीहरुले नेपाली एकता समाजमा संगठित हुन रुची राख्न थाले । संगठन व्यापक रुपमा विस्तार हुँदै गयो ।
४. नेपालको क्रान्तिकारी आन्दोलनमा सहयोग
पार्टीको पहलमा भारतमा रहेका नेपालीहरुको सामाजिक संगठन अखिल भारत नेपाली एकता समाज गठन भएपछि प्रारम्भमा पार्टीले नेपालबाट कार्यकर्ताहरु तथा कलाकारहरु पठाएर त्यहाँ रहेका नेपालीहरुमा चेतना जगाउने कामहरु गर्न थाल्यो । मुख्यत: सांकृतिक कार्यक्रमहरु मार्फत् चेतना जगाउने कामहरु भए । सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न नेपालबाट जनवादी कलाकारहरु रायन श्रेष्ठ, खुसीराम पाख्रिन, जीवन शर्मा लगायतका विशिष्ट कलाकारहरुको नेतृत्वमा थुप्रै कलाकारहरुबाट भारतको विभिन्न शहर, फ्याक्ट्री, निर्माणस्थल, शैक्षिक संस्था आदि ठाउँहरुमा जहाँ नेपालीहरु थिए, त्यहाँ सांस्कृतिक कार्यक्रमहरु गर्ने काम भयो । त्यो सांस्कृतिक कार्यक्रममा गीत, नृत्य तथा नाटकहरु प्रदर्शन गर्नका साथै राजनैतिक भाषण, प्रवचन, अन्तरक्रिया आदि कार्यक्रमहरु पनि हुन्थ्यो । उपरोक्त कार्यक्रमहरुको माध्यमबाट रोजगारीको सिलसिलामा भारत पुगेका नेपालीहरुले देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाबारे जानकारी प्राप्त गर्दथे । यसरी प्रारम्भमा नेपालबाट भारतमा गएर चेतना जगाउने कामहरु भए ।
रोजगारको सिलसिलामा भारतमा पुगेका नेपालीहरुमा संगठनको माध्यमबाट जब चेतना जागृत भयो तब उनीहरु नेपालमा चलेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा मुख्यत: पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध चलेको आन्दोलनलाई सहयोग र समर्थन गर्न थाले । उनीहरुले आन्दोलनलाई आर्थिक र नैतिक रुपले मात्र सहयोग गरेनन्, त्यहाँको नोकरी छाडेर नेपालको वामपन्थी र जनगणतान्त्रिक आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन देशभित्र आए । वि.सं.०५२ सालदेखि सुरु भएको जनयुद्धमा सहभागी हुन ठुलो संख्यामा साथीहरु नेपाल आउनु भयो । कयौं साथीहरु शहीद हुनु भयो । जनयुद्धमा घाइते भएका साथीहरुलाई भारतमा उपचार गर्न ठूलो सहयोगी भूमिका खेल्ने काम भयो ।
कतिपय व्यत्तिहरु खास अभियान जस्तो चुनाव उपयोग वा बहिस्कार कार्यक्रमलाई सहयोग अथवा अन्य त्यस्तै खास अभियानमा सहभागी हुन देशभित्र आउँथे र कार्यक्रम सकिएपछि पुन: आ–आफ्नो ठाउँमा फर्कन्थे । तर कतिपय व्यक्तिहरु स्थायी रुपले नै देशको राजनीतिक आन्दोलनमा भाग लिन भारतको नोकरी छोडेर देशभित्र आउनु भयो । हाल नेकपा (त्रान्तिकारी माओवादी) का सक्रिय नेतृत्व का.प्रेम सुवेदी, का.के.वी. गुरुङ, का.कृष्णदेव सिंह दनुवार, नेकपा (मशाल) मा कार्यरत का.विमल शर्मा, का.चिन्तामणि पौडेल, का. गंगा पौडेल, का.मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) मा सक्रिय का.आनन्द शर्मा, नेकपा (माओवादी केन्द्र) मा सक्रिय लक्ष्मण पन्त, वामदेव क्षेत्री, धनप्रसाद सापकोटा लगायत थुप्रै थुप्रै साथीहरु भारतबाट देशभित्र राजनीतिक कार्यमा सहभागी हुन आउनु भएका उदाहरणहरु हुन् ।
समाप्त
(नेपाली एकता समाज भारतको वेवसाइटबाट साभार)