मेयर बालेनका कारण सडकमै रात बिताएका सुदखोर पीडितहरुको विहानै वालुवाटारमा प्रदर्शन

मेयर बालेनका कारण सडकमै रात बिताएका सुदखोर पीडितहरुको विहानै वालुवाटारमा प्रदर्शन

काठमाडौँ । काठमाडौंका मेयर बालेन्द्र साहले सुदखोर तथा मिटरब्याजपीडितहरुलाई खुल्ला मञ्चमा बस्न नदिएपछि सडकमै रात विताउन बाध्य बने । बालेनका प्रहरीले पीडितहरुको ओध्याउने सामान समेत खोसेर लगेपछि रातभर खाली सडकमै रात विताउन बाध्य भएका थिए । पीडितहरुलाई भनेर ल्याएको खाना समेत खान नदिएको पीडितहरुको पक्षमा वकालत गर्दै आएका संघर्ष दाहालले जानकारी दिए ।

रातभर सडकमा विताएका पीडितहरुले आज विहानै बालुवाटारमा पुगेर प्रदर्शन गरेका छन् । हातमा मिटर व्याजविरुद्ध कानून निर्माण गर, तमसुक व्यवस्था खारेज गर, मिटरव्याजीलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा सहभागी छन् । बालुवाटार क्षेत्रमा अहिले सुरक्षा वयवस्था कडा पारिएको छ ।

धनुषा, सिराहा, महोत्तरी, सर्लाहीबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिबास, पथलैया, हेटौँडा, भीमफेदी, चित्लाङ हुँदै पैदललै काठमाडौं आइपुगेका हुन् ।

सोमबार दिनभर खुलामञ्चको गेटअगाडि प्रदर्शन गरेका उनीहरूलाई रात परेपछि बासका लागि भित्र छिर्न खोज्दा महानगर प्रहरीले रोकेका थिए । राति ९ बजेसम्म अनुरोध गर्दा पनि नसुनेपछि उनीहरू सडकपेटीमै रात कटाउन बाध्य भएका हुन् । चैत २ मा बर्दिबासबाट हिँडेर ११ औं दिन आइतबार काठमाडौं आइपुगेका उनीहरू माग सुनुवाइ नभएसम्म घर नफर्कने अडानमा छन् ।

पीडितहरुको संघर्षलाई नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)लगायतका पार्टीहरुले साथ दिएका छन् । आज विहान टंगाल पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पीडितहरुलाई भेटेर उनीहरुका समस्या समाधान गर्न पहल गर्ने बताएका थिए ।