बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगे मिटरब्याजपीडितहरू, माइतीघरमा धर्ना बस्ने तयारी

बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगे मिटरब्याजपीडितहरू, माइतीघरमा धर्ना बस्ने तयारी

काठमाडौँ । मधेसका सुदखोर र मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट पैदल हिडेर काठमाडौं आइपुगेका छन् । चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका हुन्। सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।

शनिबार राति मकवानपुरको फाखेलमा बास बसेका उनीहरू भोलिपल्ट बिहानै हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ हुँदै काठमाडौं छिरेका हुन् । माइतीघरमा आजबाट धर्ना बस्ने उनीहरूको तयारी छ । विभिन्न जिल्लाबाट भेला भएका मिटरब्याजपीडितहरू गत जेठ २८ देखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ मा सम्झौता गरेको थियो । त्यही सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि काठमाडौं आएका हुन् ।

गृह मन्त्रालयले ६ महिनाअघि गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख छ । साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि भए अन्तरनिकाय समन्वय गर्ने भनिएको छ तर उक्त सम्झौता अहिले बेबारिसे अवस्थामा छ ।