
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले वर्तमान संसदीय व्यवस्था चौतर्फी रुपमा असफल भइसकेको चर्चा गर्दै यो संसदीय व्यवस्थामा टालटुल गरेर काम चलाउने स्थितिको समेत समाप्त भइसकेको बताउनु भएको छ । उहाँले यो असफल र बद्नाम भइसकेको व्यवस्थालाई फाल्न एउटा गतिलो धक्काको आवश्यकता पर्ने भन्दै त्यसका निम्ति छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिको प्रक्रियामा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
२५ औं साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनयुद्धको मुख्य लक्ष्य संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नुभएको बताउनुहुँदै नेतृत्वले दिएको धोका र गरेको गद्दारीका कारण जनयुद्धले धक्का खान पुगेको स्पष्ट पार्नुभयो ।
उहाँले दशवर्षे जनयुद्धमा साँस्कृतिककर्मी, कलाकर्मी, महिला, दलित, आदिवासी जनजाति, किसान, मजदुर, मधेसी, थारु, मुस्लिम लगायत समाजका समस्त तप्काले महत्वपूर्ण सहभागिता जनाएको र बलिदानका अद्वितीय कीर्तिमान खडा गरेको बताउनु भयो ।
उहाँले जनयुद्धमा अभिव्यक्त त्याग, वीरता र बलिदानको मूल्य त्यसै खेर नजाने बताउनुहुँदै जनयुद्धले खाएको धक्का र नेतृत्वले गरेको गद्दारीबाट पाठ सिक्दै क्रान्तिको अर्को नयाँ तयारीमा जुट्नुपर्ने बेला भएको बताउनु भयो ।
क्रान्तिको द्वन्द्ववाद बक्ररेखामा हिड्छ भन्नुहुँदै उहाँले मुलुक आर्थिक र राजनीतिक रुपमा असाध्यै ठूलो संकटबाट गुज्रिरहेकोले अब गुणात्मक परिवर्तनको खाँचो रहेको औल्याउनु भयो ।
कम्युनिस्ट आन्दोलनका गद्दार नेताहरु संसदीय व्यवस्थालाई काँध थाप्न गए पनि यो व्यवस्था नटिक्ने दावी गर्दै जनताले अब व्यवस्थाको आमूल परिवर्तन चाहेको बताउनु भयो ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवले क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्व बनिसकेको र आत्मगत अवस्था सुदृढ बनाउन छरिएर रहेका क्रान्तिकारी पार्टीहरुबीचको एकता अन्तिम चरणमा रहेको बताउनु भयो ।
अनेकोटमा जनकलाकारहरुले गरेको बलिदान नेपाली क्रान्तिको इतिहासमा स्वर्ण अक्षरले देखिएको चर्चा गर्दै उहाँले दशवर्षे जनयुद्ध बलिदानको उच्च कीर्तिमानमा खडा भएको बताउनु भयो ।
उहाँले प्रचण्ड र बाबुरामले वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गरेपछि क्रान्तिले धक्का खाएको स्पष्ट पार्दै क्रान्तिले धक्का खाए पनि नहारेको दावी गर्नुभयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु यतिखेर विकराल बनेको चर्चा गर्दै उहाँले लामो समयदेखि नेपाली जनताले क्रान्तिको प्रतीक्षा गरिरहेको बताउनु भयो ।
दिन दिनै सडकमा आन्दोलन भइरहेको र जनता स्वत:स्फूर्त रुपमा सडकमा निस्कन थालेको बताउनु हुँदै अब फेरि कवि, कालाकारहरुले क्रान्तिकारी कविता र गीत लेख्ने र गाउने बेला आएको बताउनु भयो । प्रचण्ड र बाबुरामले गरेको वर्गीय र राष्ट्रिय आत्मसमर्णका कारण नै वर्गदुश्मनले अहिले माओवादीलाई नराम्ररी हेप्न थालेको र जनयुद्धकालीन मुद्दालाई नियमित अदालतमा प्रवेश गराउनुले त्यसैको पुष्टी गरेको स्पष्ट पार्नुभयो ।
उहाँले संक्रमणकालीन न्यायको विषयलाई लिएर सबै विभाजित माओवादी घटकहरुबीचमा कार्यगत एकता गर्ने कोशिस गरेको भए पनि प्रचण्डले सबै माओवादीलाई संसदवादीकै डालोमा हाल्न खोजेपछि आफूहरुले अलग्गै अपिल जारी गरेको र अन्तरक्रिया कार्यक्रम गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “माओवादीलाई फौजदारी मुद्दा लगाउनु जनयुद्धमाथिको घोर अपमान हो । जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु हो । अदालतले जनयुद्धकालीन मुद्दालाई तत्काल खारेज गर्नुपर्छ र सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत् यसलाई अविलम्ब टुंग्याइनु पर्दछ ।”
अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीको अध्यक्षता र कवि मित्रलाल पंज्ञानीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामना साँस्कृतिक परिवारका जनकलाकारहरु असल पाख्रिन, निर्मला घिसिङ, रमण थामी, अनिश योञ्जन, पाल्मो लामा, अमिट योञ्जन लगायतले ‘हाम्रा स्वरहरुमा प्रतिबन्ध लगाउँदै..’ ‘भेटेर तिमिलाई’ ‘यो कस्को सत्ता हो भनी..’, ‘तामाङ सेलो’, ‘तिमी झन् आगो बन्नु’, ‘लाल झुपडीका मान्छेहरु’ र ‘प्यारो जलजला’ लगायतका क्रान्तिकारी गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गायक प्रदिप देवानले पनि एउटा गीत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा बलराम तिमल्सिना, गौरी देवकोटा र बसन्त बोगटीले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज अटल, सहिद परिवारहरुको तर्फबाट बलराम तिमल्सिना, ज्ञानु खतिवडा, ढोगप्रसाद अधिकारी, सहिद च्याङवा लामाकी जेठी छोरी असली दोङ, सहिदका बुबा किसान बा लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको सुरुमै प्रमुख अतिथि मोहन वैद्य किरणले सहिद परिवारहरुलाई खादा लगाइदिएर सम्मान गर्नुभएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको साविक गाविस अनैकोट (हाल पाँचखाल नगरपालिका)मा जनयुद्धरत तत्कालीनन नेकपा (माओवादी)का सात जना कलाकारहरुको क्रूरतापूर्वक निशंस हत्या गरिएको थियो । २०५५ साल चैत्र ५ गते स्थानीयको एक घरमा बसिरहेको अवस्थामा तात्कालिन शाही सेनाले घर घेरा हाली घरमा आगो लगाएर सातजना जनवादी कलाकारहरु(साँस्कृतिककर्मीहरु)को विभत्स हत्या गरेको थियो । उक्त हत्या अनेकोट हत्याकाण्डको रुपमा चिर्चित छ । त्यस हत्याकाण्डमा सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठले उच्च सहादत प्राप्त गर्नुभएको थियो ।
हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका जल्लादहरुले कलाकार बसेको घरमा आगो लगाए । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । शाही जल्लादहरुले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका भाडाका सिपाहीहरुले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि कलाकारहरूले आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धकै समयदेखि यस हत्याकाण्डलाई प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको थियो । अहिले विभिन्न धारामा विभाजित माओवादी घटकहरुमध्ये क्रान्तिकारी माओवादीहरुले हरेक वर्षको चैत्र ५ गते उक्त हत्याकाण्डको सम्झना र सहिदहरुको उच्च सम्मान र क्रान्तिप्रतिको प्रतिबद्धताका लागि साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आइरहेका छन् ।
यसवर्ष २५ औं साँस्कृतिक प्रतिरोध दिवसको दिन नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले इच्छुक साँस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरेको हो । नेकपा (क्रान्तिकारी माओवादी)ले देशको अन्य प्रदेश र जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ ।