
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), मा ओवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी)काे संयुक्त रुपमा आयाेजित “शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले ०६३ मंसिर ५ गते भएकाे विस्तृत शान्ति सम्झाैताकाे मर्म र भावना विपरीत जनयुद्धकालीन मुद्दालाई अदालतले हेर्न थाले देश द्वन्द्वमा जाने चेतावनी दिनुभयो ।
६ महिनाभित्र टुंग्याउनु पर्ने शान्ति प्रक्रियालाई १६ बर्षसम्म गिजाेलेर राख्नुमा मुख्य दाेषी संसदवादी पार्टीका प्रधानमन्त्रीहरु रहेकाे चर्चा गर्दै अब याे विषयलाई सत्य निरुपण आयाेगबाट तत्काल टुंग्याउन जाेडदार माग गर्नुभयाे । उहाँले संक्रमणकालीन न्यायकाे विषयलाई तत्काल खारेज गर्न पनि सर्वाेच्च अदालतलाई आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ” संक्रमणकालीन मुद्दालाई क्रिमिनल केसकाे रुपमा हेरे देश द्वन्द्वमा जान्छ । तसर्थ अदालतले याे मुद्दा तत्काल खारेज गर्नुपर्छ । ६ महिनाभित्र टुंग्याउनु पर्ने याे विषयका लागि प्रचण्ड मात्रै हाेइन, यसबीचमा बनेका सबै प्रधानमन्त्रीहरु दाेषी छन् । अब आवश्यक कानुन बनाएर तत्काल आयाेगबाट टंग्याउनु पर्छ ।” संक्रमणकालीन न्यायकाे विषय माओवादी एक्लैकाे मात्र विषय नभएर याे तत्कालीन राज्य, सात राजनीतिक दलकाे साझा सराेकारकाे विषय भएकाेले सबै पक्षलाई जिम्मेवार बन्न पनि उहाँले आग्रह गर्नुभयाे ।
अाफुहरु संसदीय व्यवस्थाकाे विराेधी शक्ति भएकाे, प्रचण्डले सबै माओवादी घटकहरु संसदवादी पार्टीको रुपमा प्रस्तुत गर्न खाेजेपछि चारवटा माओवादी घटकहरुले अलग्गै अपिल जारी गरेकाे र अन्तरक्रिया कार्यक्रम पनि अलग्गै गरेकाे स्पष्ट पार्नुभयाे ।
जनयुद्धका मुद्दा छाडेर बुर्जुवा र साम्राज्यवादीहरुकाे एजेन्डा बाेक्न पुगेकाेले आफुहरु प्रचण्ड र बाबुरामहरुसँग अलग भएकाे चर्चा गर्दै क्रान्तिकारी माओवादी, बहुमत र मशालबीचकाे एकता अन्तिम चरणमा पुगेकाे पनि जानकारी दिनुभयाे ।
उहाँले जनयुद्ध नभएकाे भए अहिलेकै गणतन्त्र पनि नआउने भन्दै आफुहरु याे भन्दा उन्नत, अग्रगामी र क्रान्तिकारी गणतन्त्र स्थापनाकाे दिशामा अगाडि बढिरहेकाे पनि बताउनु भयाे ।
त्यसैगरी कार्यक्रममा नेकपा (बहुमत)का संयाेजक धर्मेन्द्र बास्तोला कञ्चनले अदालतले महान जनयुद्धलाई अपराधीकरण गर्न खाेजे देश युद्धमा जाने चेतावनी दिनुभयाे । परिवर्तनकारीमाथि अहिले मानव अधिकारकाे नाममा हमला भइरहेकाे चर्चा गर्दै मानवअधिकारकाे सबैभन्दा ठुलाे दस्तावेज कम्युनिस्ट मेनिफेस्टाे भएकाे पनि दावी गर्नुभयो ।
नयाँ जनवादी संविधान बनाउन जनयुद्ध गरिएकाे चर्चा गर्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाकाे अन्त्य गरेर आफुहरु नयाँ जनवादसहित वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्षरत रहेकाे बताउनु भयाे ।
अहिले पुर्वप्रम माधव नेपालकाे भाइ समेतले व्यवसाय धरापमा परेपछि आत्महत्या गर्न पुगेकाे प्रसंग काेट्याउँदै मिटरब्याजी, लघुवित्त र बैककाे आतंकका विरुद्ध आन्दाेलन उठाउने पनि बताउनु भयाे ।
नेकपा (बहुमत)का नेता हेमन्त प्रकाश ओली सुदर्शनकाे अध्यक्षता, नेकपा (क्रान्तिकारी माओवादी)का नेता चन्द्रहरि सुवेदी अटलकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष रामनारायण पाल, नेकपा (माओवादी)का अध्यक्ष गाेपाल पाेखरेलले जनयुद्धकालीन मुद्दालाई सत्यनिरूपण तथा मेलमिलाप आयाेगबाट टुंग्याउनुपर्नेमा जाेड दिनुभएकाे थियाे ।