फाल्गुन ३०, २०७९
काठमाडौँ — नेपाल पुलिसका संयोग कपाली र नविता श्रेष्ठ १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।
खुला पुरुषमा संयोग र महिलामा नवीता विजेता भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगले फाइनलमा आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११, १४–१२ को सेटमा पराजित गरे । एभीएम टेबलटेनिस क्लबका रुबिन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेस्रो भए ।
महिलाको फाइनलमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १–११, ११–३, ११–८, ११–४, ७–११, ११–४ को सेटमा हराइन् । प्रहरीका मञ्जु सुवाल र यशस्वी अवाल तेस्रो भए । पुरुषरमहिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १०–१० हजार रुपैयाँ पुरस्कार जिते ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा पुलिस क्लब पहिलो भयो । पुलिससले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३–१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेस्रो भए ।
मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरि थापाले मदन आचार्यलाई ११–३, ११–८, ११–८ को सोझो सेटमा हराएर पहिलो स्थान हात पारे । सुमन प्रधान तेस्रो बने । कलेजतर्फ २ स्वर्ण र १ कांस्यसाथ प्राइम टिम च्याम्पियन बन्यो । स्कुलतर्फ सिर्जना ज्ञानसागर १ स्वर्ण, २ रजत र ४ कांस्य जित्दै समूह विजेता भयो ।
‘टेबलटेनिस फर अल’ नारासाथ भएको प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा ३ सय खेलाडीले भाग लिएको आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।