
फाल्गुन २३, २०७९
काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार हुने १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा भएको जनाएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमबीच हुने अवार्डको सम्पूर्ण तयारी पूरा भएको मञ्चका कार्यवाहक अध्यक्ष निरञ्जन अधिकारीले जानकारी गराए ।
‘हामीले नेपाली खेलकुदकै यस प्रतिष्ठित स्पोर्ट्स अवार्डका लागि एक महिनादेखि तयारी गरिरहेका छौं । मुख्यत: समारोहका काम मात्र बाँकी थिए । आयोजनास्थललगायत काम पनि सोमबार सकिएपछि हाम्रो तयारी पूरा भएको छ,’ अधिकारीले भने । मञ्चले २०६० सालदेखि हरेक वर्ष स्पोर्ट्स अवार्ड निरन्तर गर्दै आइरहेको छ ।
यसपालि विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिनेछ । यस पटक अवार्डमा नयाा प्रस्तुति थपिएकाले विशेष बन्ने विश्वास रहेको अध्यक्ष अधिकारीको विश्वास छ । ‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड शो कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पनि ‘रेड कार्पेट’ थालनी गर्दै छौं । अवार्डको मुख्य समोराहको एक घण्टा अगाडिदेखि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रसारण हुनेछ,’ उनले भने, ‘त्यसबाहेक अन्य विशेष प्रस्तुति पनि रहने छ ।’
२०७८ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी ९पुरुष, महिला र युवा० र उनीहरूको सफलतामा सारथि बनेका प्रशिक्षकसहित पुराना खेलकर्मीलाई लाइफटाइम एचिभमेन्ट र फरक क्षमताका खेलाडीले पाएको सफलतामा पारा एथलिट सम्मान प्रदान गरिनेछ । साथै नेपाली खेलकुदमा विशेष योगदान गर्नेका लागि स्पेसल अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई प्रदान गरिनेछ । वर्षभर चर्चामा रहेका खेलाडालाई पिपल्स च्वाइसबाट पुरस्कृत गरिने छ । त्यसमा लागि यसपालि क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी प्रतिस्पर्धा छन् ।
समर्थकले प्रदान गर्ने ईसेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षक र मञ्चका सदस्यको मतमार्फत पिपल्स च्वाइसका विजेता तय हुनेछ । अन्य चार विधा (पुरुष, महिला, युवा र प्रशिक्षक) को ५–५ जनाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । विजेता भने कार्यक्रममै घोषणा गरिने जनाइएको छ ।