
(नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले यही फाल्गुन २६,२७ र २८ गते औद्योगिक शहर बिराटनगरमा राष्ट्रिय सम्मेलन गर्दैछ । नेपालको मजदुर आन्दोलनका समस्या, आगामी कार्यभारलगायतका विषयमा केन्द्रित रही महासंघका अध्यक्ष इश्वर तिमिल्सिनासँग लिखित रुपमा लिइएको अन्तर्वार्तालाई यहाँ प्रस्तुत गरिएको छ ।– स.)
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राष्ट्रिय सम्मेलनमा जुटेको छ।यो महासंघले अहिले आम नेपाली मजदुरहरूले अहिले भोगिरहेका समस्याहरुलाई कसरी सुत्रवद्ध गरेको छ ?
–मजदुर आन्दोलनमा क्रान्तिकारी धारको रुपमा स्थापित मजदुरहरुको आशाको केन्द्र बन्दै गरेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन यही फाल्गुन २६,२७ र २८ गते मजदुर आन्दोलनको ऐतिहासिक बिरासत बोकेको औद्योगिक शहर बिराटनगरमा गर्न गइराखेका छौं।केही प्राबिधिक कारणले घोषित मिति भन्दा एक हप्ता पर सारेर गरिने यो सम्मेलनमा उदारीकरणको बिश्व पुँजीवादी प्रभाव र दबाबमा नेपाली मजदुरहरुमाथि लादिएका मजदुर बिरोधी ऐन, कानुन र नियम एवं संरचनात्मक ब्यबस्थाका कारण रोजगारीको अनिश्चितता, चर्को श्रम शोषण, संगठित हुने अधिकारमा हस्तक्षेप, गिर्दो सामाजिक हैसियत, राजनितीक अधिकारमाथि बन्देजका साथै दलाल तन्त्रको चपेटामा मजदुरहरुलाई कुण्ठित बनाउने प्रयत्न भैरहेका छन।
मजदुरहरुको हक, हित र अधिकारका लागि भनेर खडा गरिएका अन्य महासंघहरु पनि छन् । ती महासंघहरू भन्दा यो क्रान्तिकारी ट्रेड युनियन महासंघमा के फरक छ ? विचार, राजनीति, संगठन र संघर्षका हिसावले नेपालको मजदुर आन्दोलनको वर्तमान अवस्था कस्तो छ ?
– नेपालमा झण्डै दुई दर्जन ट्रेड युनियन महासंघहरु विभिन्न नाममा अस्तित्वमा छन। कागजी रुपमा जे जस्तो भए पनि सक्रियता र क्रियाशीलता अझ भनौं प्रवृत्तिका दृष्टिबाट संसदीय यथास्थितिवादी, परिवर्तनकारी क्रान्तिकारी र ढुलमुले सुधारवादी ट्रेड युनियनहरु अस्तित्वमा छन्। पहिलो सत्तारूढ निकट संसदीय यथास्थितिवादी ट्रेड युनियनहरु, दोश्रो परिवर्तनकारी वा क्रान्तिकारी ट्रेड युनियन र तेस्रो ढुलमुले ट्रेड युनियन। हामी मजदुरहरुका तत्कालीन पेशागत मुद्दाहरूका साथसाथै दीर्घकालीन रूपमा राजनीतिक परिवर्तन मार्फत जनवाद–समाजवादतिर अगाडि बढ्ने क्रान्तिकारी उद्देश्य सहित आफ्ना नीतिहरु लिइरहेका छौं। हामी बिचार दृष्टिले आजको युगको मार्क्सवादको उच्च चरणको रूपमा माओवादलाई आजको युगको मजदुर मुक्तिको बैचारिक मार्गदर्शनको रूपमा मान्दछौ। राजनीतिका हिसाबले हामी मजदुर–किसान एकतामा आधारित जनवादी राज्य ब्यवस्थाका स्थापना गर्दै बैज्ञानिक सामाजवादतर्फ अगाडि बढ्ने उद्देश्यबाट प्रेरित छौ र मजदुरवर्गले किसानसँग एकाकार भएर ऐतिहासिक भुमिका निर्वाह गर्नुपर्छ भन्ने मत राख्दछौं। तर नेपालको दलाल पुँजीपतीबर्गले लगानी गरेर हुर्काउँदै आएको अभिजात समूहले मजदुर आन्दोलनमा निक्कै भ्रम सिर्जना गरिरहेको छ। सत्ताद्वारा संरक्षण प्राप्त त्यस्ता तत्वहरुलाई संगठन निर्माण र नेतृत्व विकासको नाममा बिश्व पुँजीवादले समेत लगानी गरिरहेको सन्दर्भमा हामीले तिनका नियन्त्रणमा रहेको मजदुर आन्दोलनको झण्डा र संगठनलाई खोस्न कठोर संघर्ष गर्नैपर्छ।
नेपालमा मजदुर आन्दोलन किन उठ्न सकिरहेको छैन ? के कस्ता समस्याहरू देखिरहनु भएको छ ? ती समस्याहरु समाधान गर्न तपाईं नेतृत्वको महासंघ कसरी अगाडि बढ्दैछ ?
– नेपालको राजनीतिमा ठुलै क्रान्ति र प्रतिक्रान्ति यो पुस्ताले देखेको छ।आन्दोलनमा भएका धोकाधडीले पनि मजदुर आन्दोलनमा अविस्वास ब्याप्त छ। मजदुर आन्दोलनमा वैदेशिक प्रतिक्रियावादीद्वारा संचालित परियोजनाअन्तर्गत नेतृत्वको ठूलो हिस्सामा लगानी गरेर ‘पित ट्रेड युनियन’ निर्माण गर्ने काम गरिएको छ। मजदुरहरूलाई एकताबद्ध हुन नदिन र मजदुरहरुको शक्तिलाइ दिशाबिहिन बनाउन कोशिस पनि भरहेका छन्।संगठित हुने, आन्दोलन गर्न पाउने नैसर्गिक अधिकारमा लगाम लगाइएको छ। रोजगारी गुम्ने डर समेत मजदुरहरुमा ब्याप्त छ। नेतृत्वदायी निकायप्रति मजदुरहरुको भरोसा कमजोर भएको यो घडिमा आन्दोलन उठ्न सक्दैन तर परिस्थितिमा परिवर्तन आउँदैछ। मजदुर आन्दोलको क्रान्तिकारी दिशा निर्माणको प्रक्रियाले गति लिदै छ। मजदुरहरुमा सच्चा क्रान्तिकारी शक्तिप्रति बिश्वास सिर्जना हुँदैछ। बहस, छलफल र संघर्षकै प्रक्रियामा एउटा बलियो भरोसायोग्य संगठनको निर्माण गर्दै आन्दोलनलाई संगठित गर्न सकिन्छ भन्ने बिश्वाससहित हामीले काम गरिरहेका छौं।
तपाईहरुले संयुक्त मजदुर आन्दोलन उठाउन पनि प्रयत्न गरेको देखिन्छ तर त्यस दिशामा खासै प्रगति भएको देखिन्न। संयुक्त मजदुर आन्दोलनमा चुनौती र सम्भावनाहरू के कस्ता रहेका छन् ?
–हामीले संयुक्त मजदुर आन्दोलनको सोच त्यसबेला देखि बनायौं कि जतिबेला मजदुर आन्दोलनमा उदारीकरणको प्रभाव बिस्तार भैरहेको हामीले देख्यौं।आर्थिक मागहरु चर्काएर वर्गीय आत्मसमर्पणलाई ढाकछोप गर्ने प्रयत्न यहाँ प्रयत्नमाथि स्वयं त्यसका अगुवाहरु यहाँका दलाल पुँजीपतिहरुसँग भित्र भित्रै साँठगाँठ गर्दै थिए। वैदेशिक एवं देशीय दलाल पुँजीपतिवर्गले मजदुर नेताहरुलाई सुविधाजनक जीवन बाँच्ने अबसर सिर्जना गरेर चाटुककारको रूपमा रुपान्तरित गर्दै थियो। त्यस्तो निक्कै जटिल परिस्थितिमा अलि इमान्दार शक्तिहरुलाई लिएर बैकल्पिक ध्रुब खडा गर्ने हाम्रो प्रयत्न चाहिँ उदारीकरणका नाममा अगाडि बढाइएका मजदुर बिरोधी परियोजनासँग लड्ने नीतिसँग सम्बन्धित छ। यसले तुरुन्तै मजदुरहरुलाई आकर्षण गरिहाल्छ भन्ने होइन अलि समय लिन्छ। हामीले भन्दै भन्दै आएका छौ कि उदारीकरणसँग जुध्नु भनेको अहिले चलेको बिश्व पुँजीवादसँग कहिँ न कहिँ जुध्नै पर्ने हुन्छ । यो स्थितिमा बैचारिक स्पष्टता, कार्यक्रममा एकरुपता र आन्दोलन अगाडि बढाउने संकल्पगत एकता अहिले आवश्क छ । हामी त्यस दिशातिर अगाडि बढ्दै छौ । हामी साम्राज्यवादी परियोजनाहरुका विरुद्ध उभिदै दलाल तन्त्रका विरुद्ध जुझारु आन्दोलन उठाउन सक्छौ भन्ने कुरामा बिश्वस्त छौ।
‘बैचारिक स्पष्टता, कार्यक्रममा एकरुपता र आन्दोलन अगाडि बढाउने संकल्पगत एकता अहिले आवश्क छ । हामी त्यस दिशातिर अगाडि बढ्दै छौ ।’
नेपाली मजदुरहरूको संख्या नेपालमा भन्दा विदेशमा बढी छ । भारत, खाडी मुलुक लगायत (विश्वमा फैलिएका) वैदेशिक रोजगारीमा गएका मजदुरहरुलाई संगठित गर्ने र उनीहरूले भोग्न परेका समस्याहरु उठान गर्ने सम्बन्धमा महासंघको आगामी योजना के हुन्छ ?
–मध्यपुर्व, कोरिया, जापान लगायत ११० देशहरुमा नेपाली मजदुरहरुको रोजगारीको खोजीमा जाने श्रम बजार हो। ५० लाख भन्दा धेरै युवा श्रमशक्ति वैदेशिक रोजगारमा जानू ठुलै राष्ट्रिय अपमान र हिनताको प्रश्न हो।आत्मनिर्भर अर्थतन्त्रको निर्माण नगरी यो अपमान र हिनताको स्थितिबाट हामी मुक्त हुन सक्दैनौं । देशमा रोजगारीको सुनिश्चितता आवाज प्रभावकारी ढंगले उठाउनु र बिदेशी श्रम बजार हुने अप्ठ्याराहरुमा प्रशासनिक तह मार्फत मद्दत पुर्याउने काम हामीबाट हुँदै आएको छ । जनशक्तिको ब्यापारीहरुबाट हुने ठगी, दलालहरुबाट हुने ठगी मात्रै होइन राज्य प्रशासन समेतको मिलोमतोमा सिर्जना हुने विविध प्रकारका अप्ठ्याराहरुमा हामीले मद्धत पुर्याउँदै आएका छौ । हामीले मध्यपुर्वका कयौं देशहरुमा संगठन निर्माणका आधारहरु बनाएका छौ । त्यसलाई एउटा घटकको रूपमा वैदेशिक रोजगार हेर्ने संघ गठन गरेका छौ र त्यसमार्फत पनि थुप्रै राजनीति र पेशागत सचेतना कार्यक्रम समेत गर्दै आएका छौ।
सूचना प्रविधिको अभूतपूर्व विकासले विश्वमा नै मजदुरहरुले काम प्रविधिले खोसिरहेको र वेरोजगारहरुको संख्या अत्यधिक मात्रामा बढ्दै गइरहेको आँकडाले आजको विश्वव्यापीकरण, नवउदारवादमा आधारित खुल्ला बजार अर्थतन्त्रले नेपाल र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा पार्न सक्ने प्रभावको लेखाजोखा कसरी गर्नुभएको छ ?
–११८५ तिर फ्रान्समा पानी मिल स्थापना भयो । परम्परागत उत्पादनमा त्यो मानवीय श्रम शक्तिको प्रारम्भिक र परिष्कृत रुप थियो। वाष्प इन्जिन १७६०–७० को दशकमा आबिस्कार पछि औद्योगिक उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्यायो। बाष्प इन्जिनको आबिस्कारले आधुनिक मेसिनहरुको विकासमा योगदान गर्यो।१८२०को दशकमा मेसिन र मजदुरको बिरोध जस्तो प्रतीत हुने मेसिन फोर आन्दोलन बेलायतमा चल्यो।तर त्यो मेसिन र श्रमशक्तिको द्वन्द्व होइन मानवीय र शारीरिक श्रमको उपजको रूपमा रूपमा मेसिनलाई बुझ्ने र त्यसको उपयोगद्वारा मनवीय श्रमशक्तिलाई सहज, सरल र परिष्कार गर्दै लैजाने साधनको रूपमा मेसिनलाई बुझ्ने र पुँजीपतिवर्गको नियन्त्रणमा रहेको उत्पादनका साधनहरुलाई सामाजिकरण गर्ने प्रश्नमा मजदुर आन्दोलनको दिशा सोझिनु पर्ने थियो तर त्यस्तो भएन । वर्गसंघर्ष र उत्पादनका निम्ति संघर्षका क्रममा प्रबिधिको बिकास हुँदै जान्छ। पुँजीवादी सामाजिक ब्यबस्था एवं संरचनात्मक ब्यवस्थाका कारण श्रमिकवर्गले विकास गरेको उन्नत प्रविधिको उपयोगद्वारा अत्याधिक उत्पादन र नाफा आर्जन गर्ने, बहुसंख्यक मानिसहरूलाई बेरोजगार बनाउने जुन परिस्थिति बनिरहेको छ, त्यसले मजदुरवर्ग र प्रविधिको स्वामित्व कब्जा गरेर बसेको पुँजीपतिबर्ग र ब्यवस्थाका बिरुद्धको संघर्षलाई चर्काइदिने तर्फ परिस्थिति निर्माण हुन्छ र समाजवादी अर्थ–राजनीति ब्यवस्था स्थापना मुद्दा प्रबल बनेर अगाडि आउँछ
अन्तमा, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा मजदुर आन्दोलनको भुमिका र आवश्कता बिच आम औपचारिक र अनौपचारिक क्षेत्रक मजदुरहरुलाई र वैदेशिक रोजगारीमा गएका मजदुरहरुलाइ के भन्न र आह्वान गर्न चाहनुहुन्छ?
–अहिले नेपाल लगायत संसारभर मजदुर आन्दोलन कमजोर स्थितिमा छ।उदारवादी हावा बिश्वव्यापी फैलिरहेको छ । धनीहरुको बिश्व ब्यवस्थामा मजदुरहरु संसारभर श्रम बजारको खोजिमा भैतारिनु पर्ने परिस्थितिमा छन् । पुँजीपतिहरुको नाफाको धनमा दिन दुई गुणा रात चार गुणा वृद्धि भैरहेको छ । श्रमिकहरुको आम्दानी र सम्पत्ति ओरालोतिर झरिरहेको छ । बिश्वव्यापी उत्पादनमा वृद्धि भए पनि श्रमिकवर्गले त्यसको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन। नेपाल जस्ता तेस्रो बिश्वका मुलुकहरू श्रम शक्ति निर्यात गरेर कमारो अर्थतन्त्रमा टिकिरहेका छन्। हामीले स्वाधीन अर्थतन्त्र निर्माण र समानता प्राप्तिको संघर्षमा अगाडि बढ्नु पर्ने छ । यस्तो स्थितिमा हामी मजदुर आन्दोलनको बैज्ञानिक तथा क्रान्तिकारी बाटो पहिल्याउन जरुरी छ । हाम्रो संगठन त्यसदिशातर्फ ईमानदार भएर लागिरहेको छ।नेपालका औपचारिक र अनौपचारिक क्षेत्र तथा देश बिदेशमा कार्यरत मजदुरहरुलाई क्रान्तिकारी आन्दोलनको झण्डा वरिपरी गोलबन्द हुँदै अगाडि बढ्न बिशेष अनुरोध गर्न चाहन्छौं।